आइतबार, फागुन ११, २०८१

नेपाल वायुसेवा निगमको न्यारोबडी दमाममा बिग्रियो, १ सय २५ यात्रु होटलमा


काठमाडौँ, ११ फागुन :  नेपाल वायुसेवा निगमको न्यारोबडी विमान शनिबारदेखि साउदी अरबको दमामस्थित किङ फाहद इन्टरनेसनल एयरपोर्टमा थन्किएको छ ।

१ सय २५ यात्रु राखेर काठमाडौं फर्किने तरखरमा रहेको विमानको अगाडिको पाङ्ग्रा रहेको नोज ल्यान्डिङ गियर बिग्रिएको हो । यो विमान आइतबार बिहान काठमाडौं फर्किसक्नुपर्ने तालिका थियो । तर मर्मत हुन नसकेकाले सबै यात्रुलाई होटलमा राखिएको छ । विमान उतै रोकिएपछि निगमले आइतबार रातिका लागि तोकेका मलेसिया, दुबई र जापानको उडान प्रभावित हुने पाइलटहरुले जनाएका छन् ।

साउदीबाट नेपाल फर्किनैपर्ने यात्रुलाई अन्य उडानबाट दमामबाट काठमाडौं ल्याउने तयारी भइरहेको छ । अरुलाई निगमकै खर्चमा होटलमा राखिएको छ,’ निगमको मार्केटिङ विभागका एक अधिकृतले भने ।

लुम्बिनी नामको यो न्यारोबडी बिहीबार बिग्रिएपछि मलेसियामा थन्किएको थियो । मर्मतपछि शनिबार बेलुकी मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो । शनिबार राति १ सय ९ यात्रु लिएर दमाम पुगेपछि विमानमा पुन: समस्या देखिएको हो ।

बिहीबार बेलुका मलेसिया उडेको न्यारोबडी मर्मत गरेर शनिबार मात्रै काठमाडौं ल्याइएको थियो,’ निगमका एक प्राविधिकले भने, ‘शनिबार राति साउदीको दमाम पुगेको थियो । फर्किने बेला अगाडिको पाङग्राको रिङ फुटेछ । उडान अयोग्य भएपछि जहाज उतै ग्राउन्डेड भएको छ ।

निगमका अर्का अधिकारीका अनुसार विमान मर्मतका लागि साउदीमा रहेको मर्मतसम्भार सम्बन्धी एजेन्ट कम्पनी साउदी एयरलायन्सलाई भनिएको छ । तर साउदी एयरलायन्सका प्राविधिकले स्पेयर पार्ट्स उपलब्ध नभएकाले आइतबार साँझसम्म मर्मत गरेर निगमको दमाममा रहेको कार्यालयलाई बुझाउन सकेको छैन ।

निगमका प्रवक्ता रमेश पौडेलले छिटो मर्मत गरेर नेपाल ल्याउने तयारी भइरहेको बताए । ‘जहाज निर्माता कम्पनी तथा नियामक निकायले तोकेका मापदण्डअनुसार विमान मर्मतसम्भार हुन्छन् । यसका बाबजुत कहिलेकाहीँ आकस्मिक समस्या आउँछन्,’ प्रवक्ता पौडेलले भने, ‘दमाम पुगेको विमान उडाउनुअघि जाँचका क्रममा नोज ल्यान्डिङ गियरमा प्राविधिक समस्या देखिएकाले मर्मत गर्ने एजेन्ट कम्पनीसँग सहकार्य भइरहेको छ ।

अर्को विमान चीनमा राेकियो

विस्तृत मर्मत तथा जाँच (सी-चेक) का लागि माघ २० मा चीनको हेबेई पुर्‍याइएको निगमको अर्को न्यारोबडी सगरमाथाको भुक्तानीमा समस्या उत्पन्न भएपछि उतै रोकिएको छ । यो विमान लिन बुधबार निगमका पाइलट चीन पुगेका थिए । विमान मंगलबार मात्रै काठमाडौं ल्याइने निगम स्रोतले बतायो ।

एमआरओ कम्पनीका बिल जाँच भइरहेका छन्,’ यो विमान मर्मतमा संलग्न एक प्राविधिकले भने, ‘बिल जाँचको काम सकिएपछि पेमेन्ट भुक्तानी प्रक्रिया थालेर विमान नेपाल ल्याइनेछ ।

यता, काठमाडौंमा २ सय ७४ सिट क्षमताका दुईटा वाइडबडी उडानमा छन् । यीमध्ये एउटाले आइतबार राति जापानको नारिता उडान गर्नेछ । अर्कोले दुबई वा मलेसियामध्ये कुनै एक गन्तव्यमा उडान गर्नेछ । साँझसम्म निगमले तीनवटै गन्तव्यका यात्रुलाई उडान हुने जनाएको छ । तर दुइटा मात्रै विमान भएकाले एउटा गन्तव्यका यात्रुलाई होटलमा राख्नुपर्ने अवस्था देखिएको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ