सोमबार, पुष ०८, २०८१

राष्ट्रिय सभामा निर्वाचित १९ उम्मेदवार निर्वाचित, कोशीमा फ्लोर क्रस हुँदा एमालेलाई १ सिट


काठमाडौं । राष्ट्रिय सभाको १९ सदस्यका लागि भएको निर्वाचनमा सत्ता गठबन्धन दलका १८ जना निर्वाचित भएका छन् । कोशी प्रदेशमा भने फ्लोर क्रस गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले १ सिटमा जित हासिल गरेको छ ।

कोशीमा एमालेकी रुक्मिणी कोइराला विजयी हुँदै सत्ता गठबन्धनलाई पराजित गरिन् । कोइरालाले नेकपा माओवादी केन्द्रकी चम्पादेवी कार्कीलाई पराजित गरेकी हुन् । कोइरालाले पाँच हजार ८६ मतभार प्राप्त गरेकी छन् । उनकी प्रतिस्पर्धी चम्पादेवीले चार हजार ९९२ मतभारमै चित्त बुझाइन् ।

नेपाली कांग्रेसबाट कोशीमा उम्मेदवार बनेका कृष्णप्रसाद सिटौला भने विजयी भएका छन् । सत्ता गठबनन्धबाटै उम्मेदवार बनेकी माओवादीकी चम्पा कार्की पराजित हुँदा कांग्रेसबाट उम्मेदवार बनेका सिटौला विजयी हुँदै गठबन्धनको साख जोगाए । उनले एमालेको समर्थन रहेका राप्रपा उम्मेदवार उद्धव पौडेललाई पराजित गरे ।

यसैगरी मधेश प्रदेशको दुई सिटमा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका आनन्दप्रसाद ढुंगाना र जनता समाजवादी पार्टीकी पूजा चौधरी निर्वाचित भए । ढुंगाना अन्य र महिलामा जसपाकी चौधरी विजयी भएका हुन् । ढुंगानाले सात हजार ३७० मतभार प्राप्त गरे । चौधरीले सात हजार ९२९ मतभारसँगै विजयी भइन् ।

राष्ट्रिय सभा निर्वाचनमा मधेशबाट १३६ पालिकाको शतप्रतिशत र प्रदेशसभाका १०७ सांसदमध्ये १०६ जनाले मतदान गरेका थिए । लोसपाका सांसद अभिराम शर्मा मतदानमा सहभागी भएनन् । मधेशमा कुल मतभार १० हजार ८३९ छ ।

मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्यामा जिल्ला अदालत महोत्तरीबाट कसुरदार ठहर भएका प्रदेश सांसद शर्मा राष्ट्रिय सभा चुनावमा सहभागी भएनन् ।

बागमती प्रदेशमा पनि सत्तारुढ गठबन्धनका चारै उम्मेदवार विजयी भएका छन् । कांग्रेसका महिलातर्फ विष्णुदेवी पुडासैनी र अन्यमा जितजंग बस्नेत, नेकपा माओवादी केन्द्रका अपांगतातर्फ श्रीकृष्णप्रसाद अधिकारी र समाजवादीबाट दलिततर्फ घनश्याम रिजाल विजयी भएका हुन् ।

महिलातर्फ विजयी भएकी पुडासैनीले ६ हजार ६२२ मतभार, अन्यमा बस्नेतले ६ हजार ५३१ मतभार, अपांगतातर्फ अधिकारीले ६ हजार ३८३ मतभार र दलिततर्फ रिजालले ६ हजार ५१२ मतभार प्राप्त गरे ।

एमालेबाट महिलातर्फ उम्मेदवार रोचकुमारी चौलागाईंले २ हजार ५५२ मतभार, दलिततर्फ ध्रुवराज विकले ३ हजार ५२ मतभार, अपांगतातर्फ त्रिलोचन निर्मल पौडेलले दुई हजार ७३४ मतभार अन्यतर्फ विवेक देवकोटाले २ हजार ३५९ मतभार प्राप्त गरे । निर्वाचनमा ६ दलका १५ उम्मेदवार प्रतिस्पर्धामा थिए ।

गण्डकी प्रदेशबाट पनि गठबन्धनका तीनै उम्मेदवार विजयी भए । अन्य क्लस्टरमा कांग्रेसका किरणबाबु श्रेष्ठ, अपांगता/अल्पसंख्यकतर्फ पदमबहादुर परियार र महिलातर्फ माओवादी केन्द्रकी मनरुपा शर्मा विजयी भएका हुन् ।

श्रेष्ठले ३ हजार ८०८ मतभार ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका चक्रबहादुर पराजुलीले दुई हजार ४७७ मतभार प्राप्त गरे । अपांगता/अल्पसंख्यकतर्फ कांग्रेसका परियारले तीन हजार ७७९ मतभार प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी एमालेका हेमन्द्र शेरचनले दुई हजार ४५८ मतभार पाए ।

महिलातर्फ माओवादी केन्द्रकी शर्माले तीन हजार ६६० मतभार पाउँदा निकटतम प्रतिस्पर्धी एमालेकी सम्झना देवकोटाले दुई हजार ५५३ मतभार प्राप्त गरिन् ।

गण्डकीमा कुल मतभार ६ हजार १४० थियो । ६० जना प्रदेशसभा सदस्य तथा ८५ स्थानीय तहका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष १७० गरी कुल २३० मतदाता थिए । गठबन्धनमा आबद्ध दलहरूको मतभार तीन हजार ८२७ थियो । यद्यपि, तीनवटै उम्मेदवारले यस बराबरको मतभार प्राप्त गरेनन् ।

यसैगरी लुम्बिनी प्रदेशको राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । सत्ता गठबन्धनबाट लुम्बिनी प्रदेशमा उम्मेदवार बनेका माओवादीका झक्कुप्रसाद सुवेदी र कांग्रेसबाट उम्मेदवार बनेकी विष्णुदेवी सापकोटा विजयी भए । सुवेदी अन्यतर्फ र सापकोटा महिला कोटामा विजयी भए ।

आज (बिहीबार) भएको निर्वाचनमा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार झपेन्द्रबहादुर घर्ती क्षेत्री र तुलसा केसीलाई हराउँदै गठबन्धनतर्फबाट उम्मेदवार बनेका सुवेदी र सापकोटा विजयी भएका हुन् ।

निर्वाचनमा सुवेदीले पाँच हजार ४३५ र सापकोटाले पाँच हजार ४३५ मतभार प्राप्त गर्दै विजयी भएको निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिए । निर्वाचन अधिकृत पाण्डेका अनुसार नेकपा एमालेका उम्मेदवारी तुलसा केसीले दुई ८६७ मतभार र झपेन्द्र घर्ती क्षेत्रीले ३०३९ मतभार प्राप्त गरे ।

त्यसैगरी महिला कोटामा राप्रपाबाट उम्मेदवार बनेकी विजयालक्ष्मी सिंह २५० र अन्य कोटामा जनमत पार्टीका बालगोविन्द चौधरीले २५० मतभार प्राप्त गरेका थिए । बिहीबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म भएको निर्वाचनमा प्रदेशसभातर्फ ८७ र स्थानीय तहतर्फ भएको ३०५ मतमध्ये ३०३ मत खसेको थियो ।

कर्णाली प्रदेशबाट तीनैजना गठबन्धनका उम्मेदवार विजयी भएका छन् । जसमा अन्यतर्फ कांग्रेसबाट उम्मेदवार बनेका रुकुम पश्चिमका कृष्णबहादुर रोकाया, महिलातर्फ एकीकृत समाजवादीका उम्मेदवार दैलेखकी सावित्री मल्ल र दलिततर्फ माओवादी केन्द्रका उम्मेदवार कालीकोटका विष्णुबहादुर विक विजयी भए ।

र, सुदूरपश्चिम प्रदेशमा पनि सत्ता गठबन्धनका तीनै उम्मेदवार विजयी भए । महिला क्लस्टरमा माओवादी केन्द्रकी रेणु चन्दले चार हजार ४५३ मतभारसँगै विजयी भइन् । अपांगतर्फ कांग्रेसका नारायणदत्त भट्टले चार हजार ४१९ मत पाएर विजयी भए । त्यस्तै अन्यतर्फ कांग्रेसकै बलदेव बोहराले चार हजार ३४७ मत पाएर विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ ।

सुदूरपश्चिमका १७६ स्थानीय तहमध्ये १७३ जना र प्रदेश सभाका ५२ जनाले मतदान गरेका थिए । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल र भजनी नगरपालिकाकी उपमेयर राजु तिरुवाले मतदान गरेनन् । बाजुराको स्वामीकार्तिक गाउँपालिका उपाध्यक्ष मैना जोशीको हालै निधन भएको छ ।

प्रदेश सभाका ५३ मध्ये एक जनाको मृत्यु भइसकेकाले ५२ जना मात्र मतदानमा सहभागी भए । तीन पदका लागि यहाँ ६ उम्मेदवारबीच प्रतिस्पर्धा थियो ।

राष्ट्रिय सभा निर्वाचनमा १४ मतदाता अनुपस्थित, हर्क र बालेन्द्र र गोपालले मतदान गरेनन्

राष्ट्रिय सभाको आज भएको निर्वाचनमा १४ मतदाता अनुपस्थित भए । मतदान नगर्ने तीन प्रदेशसभा सदस्य र ११ जना स्थानीय तहका जनप्रतिनिधि हुन् ।

गत वर्षको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, धरान उपमहानगरपालिका प्रमुख हर्क राई र धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमालले मतदान गरेनन् ।

यसैगरी कोशीमा हर्कबाहेक मोरङको ग्रामथाङ गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार, झापाको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाह पनि मतदानमा सहभागी भएनन् ।

मधेस प्रदेशमा महोत्तरीका प्रदेशसभा सदस्य अभिराम शर्माले मतदान गरेनन् । उनी थमन विक हत्यामा दोषी ठहर भएपछि फरार छन् ।

बागमतीमा पाँच जनाले मतदान गरेनन् । प्रदेशसभा सदस्य शैलेन्द्र बज्राचार्य र सरिता खड्गी तथा काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह, नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल लामा र काभ्रेको चौंरीदेउराली गाउँपालिकाका उपाध्यक्ष शेरबहादुर लामा मतदानमा सहभागी भएनन् ।

गण्डकी प्रदेशमा बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीको मत खसेन । उनी सहकारी ठगी प्रकरणमा उजुरी परेपछि गत जेठ ५ गतेदेखि नै फरार छन् ।

लुम्बिनीमा बाँकेको नरैनापुर गाउँपालिकाकी उपाध्यक्ष जयन्तीदेवी श्रीवास्तव र रुपन्देहीको मायादेवी गाउँपालिकाकी उपाध्यक्ष नर्वदा उपाध्यायले मतदान गरेनन् । सुदूरपश्चिम प्रदेशमा धनगढी उपमहानगरका प्रमुख गोपाल हमाल र भजनी नगरपालिकाकी उपप्रमुख राजु तिरुवाले मतदान गरेनन् । कर्णाली प्रदेशमा भने शतप्रतिशत मतदान भयो ।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading