11/27/2025, 02:00:04
बुधबार, मङि्सर १०, २०८२

महेश बस्नेतविरुद्ध धनगढीमा जेनजी युवाहरूको विरोध प्रदर्शन


काठमाडौँ, मङ्सिर १० गते । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतविरुद्ध कैलालीको धनगढीमा विरोध प्रदर्शन भएको छ ।

जेन जेड युवाहरूले बुधबार बिहान धनगढी बजारमा प्लाकार्ड लिएर विरोध प्रदर्शन गरेका हुन् ।

२३ र २४ को जेन जेड आन्दोलनले एमाले नेतृत्वको सरकार विस्थापित गरेयता बस्नेत जेन जेड युवा प्रति आक्रामक सुनिएका छन् । साथै, जेन जेड युवाले पनि बस्नेतको विरोधमा निरन्तर प्रदर्शनहरू गरिरहेका छन् ।

गत ४ मंसिरमा बाराको परवानीपुरमा आयोजित एक कार्यक्रममा सहभागी हुन बस्नेत आउने थाहा पाएपछि जेन जेड युवाले प्रदर्शन गरेका थिए । जसका कारण दुई दिनसम्म बाराको सिमरा अशान्त बनेको थियो ।

७ मंसिरमा इटहरीमा आयोजित कार्यक्रममा सहभागी हुन जाँदै गर्दा बस्नेत चढेको गाडीमा दुई जेन जेड युवाले रातो रङ भरिएको बेलुन प्रहार गरेका थिए ।

मंगलबार सुर्खेतमा पनि केही युवाले बस्नेत सहभागी कार्यक्रमलाई लक्षित गर्दै विरोध प्रदर्शन गरेका थिए ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..