11/24/2025, 11:19:35
सोमबार, मङि्सर ०८, २०८२

बाबुरामको संरक्षकत्वमा “प्रगतिशील लोकतान्त्रिक पार्टी ” घोषणा


काठमाडौँ, ८ मंसिर : माओवादीका पूर्वउपमहासचिव जनार्दन शर्मा, रास्वपाका पूर्वप्रमुख सचेतक सन्तोष परियार र नेसपा (नयाँ शक्ति) का संयोजक दुर्गा सोब पक्ष मिलेर प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा भएको छ । पार्टीमा पूर्वप्रधानमन्त्रीसमेत रहेका बाबुराम भट्टराई पनि सहभागी छन् ।

पार्टीको संरक्षकमा पूर्वप्रधानमन्त्री भट्टराई रहनेछन् । पार्टीको सामूहिक नेतृत्व युवा, महिलासहित समावेशी बनाउने विधान मस्यौदामा छ । पार्टीको चुनाव चिह्न भने आँखा रहनेछ । यो दल दुर्गा सोबको नाममा निर्वाचन आयोगमा दर्ता भइसकेको छ ।

घोषणासभामा शर्माले माओवादीले आफ्नो क्रान्तिकारी छवि बनाउन नसक्दा भ्रष्टाचारमा फसेको बताए । ‘विगतमा माओवादी सत्ताको वरिपरि रह्यो । नेताहरू सामाजिक उत्पीडन अन्त्य गर्न असफल भए । व्यक्तिगत स्वार्थपूर्तिका लागि पार्टीहरूले अवसर गुमाए,’  उनले भने, ‘देशमा चरम भ्रष्टाचार, परिवारवाद, सत्ताका लागि म्युजिकल चेयरका कारण निराशा पैदा भयो र जेन–जी आन्दोलन भयो ।’  शर्माले मौलिकतासहितको समाजवादी पार्टी बनाउने बताए । ‘नेपाली विशेषताको समाजवाद निर्माण गर्ने पार्टीको मार्गदर्शक सिद्धान्त हुनेछ,’ उनले भने ।

नेता परियारले विचार विधिको विकास गर्न नयाँ पार्टी घोषणा गरेको बताए । ‘हामीले विचारमा काम गर्नुपर्नेछ । प्रगतिशीलहरू राष्ट्र बचाउन एक ठाउँमा आउनुपर्छ । विचार निरन्तर छलफलपछि विकास गर्न सकिन्छ,’ उनले भने, ‘विचारबिनाको राजनीतिक संगठन भीड मात्र हुनेछ । ज्ञान उत्पादनमा काम गरेनौं भने फगत भीड मात्र हुनेछौं ।

संयोजक सोबले विगतका गल्ती सच्याएर अघि जाने बताइन् । ‘विगतको गल्ती गर्ने छुट छैन । कमजोर लोकतान्त्रिक व्यवस्थासँग लडेर तीव्र आर्थिक विकास ल्याउनुपर्छ । आदिवासी जनजाति, दलित, महिला पिछडिएका क्षेत्रको समानुपातिक समावेशिता अहिले पनि पूरा भएको छैन,’  उनले भनिन्, ‘नयाँ आवश्यकताका आधारमा नयाँ समाजवादी व्यवस्था स्थापना गर्न लागेका छौं ।

प्रगतिशील अभियानका संयोजक सुदन किराँतीले बोलीलाई व्यवहारमा उतार्ने पार्टी बनाउने प्रतिबद्धता जनाए । ‘समस्या समाधान गर्ने विचार विधिसहितको पार्टी निर्माण गर्न खोजेका हौं । यो नयाँ ऐतिहासिक कोसेढुंगा हो,’ उनले भने, ‘देश र जनताको समस्या समाधान गर्न बोलीलाई व्यवहारमा लागू गर्न चाहन्छौं ।