11/27/2025, 02:00:41
बुधबार, मङि्सर १०, २०८२

कुलमानको चेतावनी : नीतिगत अवरोध हटेन भने विकास असम्भव


काठमाडौं, मङ्सिर १० गते ।उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले देशको आर्थिक विकास नीतिगत अवरोधका कारण अवरुद्ध भइरहेकाले तत्काल सुधार आवश्यक रहेको बताएका छन्।

राष्ट्रिय युवा परिषद्ले बुधवार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले वर्तमान कानुन र नीतिहरुले प्राकृतिक स्रोत–साधनको उपयोगमा ठूला बाधा उत्पन्न गरेको आरोप लगाए।

देशमा उपलब्ध प्राकृतिक स्रोत–साधनको उचित उपयोग नहुँदा आर्थिक विकास अवरुद्ध भइरहेको उनको भनाइ छ। उनका अनुसार वन क्षेत्रलाई ‘इकोलोजी संरक्षण’ को नाममा प्रयोग गर्न नदिँदा राज्यले ठूलो मात्रामा आयातमा निर्भरता बढाउनुपरेको छ। चीन र मलेसिया जस्ता देशबाट ४ खर्ब बराबरको काठका उत्पादनहरू नेपाल आयात गर्नुपरेको भन्दै उनले आफ्नै वनमा रहेको कच्चा पदार्थ भने कुहाएर फाल्नुपरेको बताए।

‘आज एउटा रुख काट्नु र मान्छे काट्नुमा रुख काट्नलाई धेरै गाह्रो भएको छ। पाँच वर्षमा एउटा रुख काट्न गाह्रो छ। यस्ता ऐन कानून राखेर देश विकास हुँदैन। सबै कुरा चेन्ज गर्नुपर्छ। आगामी दिनमा नयाँ लिडरसिपले यो सबै कुरा चेन्ज गर्छ, गर्नुपर्छ।’ उनले भने, ‘बंगलादेशले भुटानबाट ढुंगा र माटो ५०० ट्रक दिनको आयात गर्छ। हामी यहाँ ढुंगा माटो निकाल्न नै हुँदैन भनेर बसिरहेका छोँ। ’

उनले आगामी दिनमा नयाँ नेतृत्वले यस्ता नीतिगत अवरोध हटाई स्रोत–साधनको दिगो उपयोगतर्फ ध्यान दिनुपर्ने बताए।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..