04/29/2025, 07:36:13

अमेरिकाद्वारा एआई चिपको निर्यातमा नयाँ प्रतिबन्धको घोषणा


काठमाडौँ, २९ पुसः संयुक्त राज्य अमेरिकाले सोमबार कृत्रिम बौद्धिकता (एआई) का लागि प्रयोग हुने उन्नत कम्प्युटिङ चिपहरूमा नयाँ निर्यात नियमहरू सार्वजनिक गरेको छ । यसले मित्र राष्ट्रहरूलाई बिक्री सहज बनाउने र चीन जस्ता देशहरूको पहुँचलाई थप सीमित गर्ने लक्ष्य राखेको छ ।

बन्द एआई मोडेलहरूका लागि तौलका नियमहरू पनि समावेश भएका प्रतिबन्धहरू सन् २०२३ मा चीनमा केही एआई चिपहरू निर्यात गर्ने सम्बन्धमा घोषणा गरिएका प्रतिबन्धहरूमा आधारित छन् । अमेरिकाले चीनलाई उन्नत अर्धचालक (सेमीकन्डक्टर) हरूकोे क्षेत्रमा रणनीतिक प्रतिस्पर्धीको रूपमा हेर्दछ ।

अमेरिकाले अहिले एआई विकास र एआई चिप डिजाइन दुवैमा विश्वको नेतृत्व गरिरहेको छ र हामीले यसलाई यसरी नै राख्नु महत्त्वपूर्ण छ”, वाणिज्यमन्त्री जिना राइमोन्डोले पत्रकारहरूलाई भन्नुभयो ।

नयाँ नियमहरूले चिपहरूमाथिको नियन्त्रणलाई अद्यावधिक गर्दै निर्यात, पुनःनिर्यात र देशभित्रको स्थानान्तरणका लागि अधिकृत स्वीकृति आवश्यक पर्ने व्यवस्था गरेको छ । साथै अमेरिकाको मित्र मानिएका देशहरूका लागि विभिन्न छुटहरू पनि समावेश गरेको छ ।

यसैबीच एआई डाटा सेन्टरहरूले चिपहरू आयात गर्न सक्षम हुन बढाइएका सुरक्षा मापदण्डहरूको पालना गर्न आवश्यक छ ।

यी नियमले हाम्रा रणनीतिक प्रतिस्पर्धीहरूलाई तस्करी र दूर पहुँचको माध्यमबाट हाम्रो निर्यात नियन्त्रण छल्न कठिन बनाउँछ”, ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले भन्नुभयो,  “साथै विश्वभरका हाम्रा साथी र साझेदारहरूलाई उन्नत एआईका लागि विश्वसनीय विक्रेताहरू प्रयोग गर्न प्रोत्साहन सिर्जना गर्छ ।

राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पको आगामी प्रशासनलाई सम्भावित परिवर्तनहरू गर्न समय दिँदै राइमोन्डोले नयाँ नियमहरू १२० दिनमा लागु हुने जानकारी दिनुभयो । ट्रम्पले आफ्नो पहिलो कार्यकालमा चीनमाथि भारी भन्सार महसुल लगाउनुभएको थियो । यद्यपि सिलिकन भ्यालीमा उहाँका समर्थकहरूले यी नियमलाई आफ्ना उत्पादनहरू निर्यात गर्ने क्षमतामा अनावश्यक बोझको रूपमा पनि हेर्न सक्छन् ।