५ मङ्सिर, हेटौँडा । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले द्वन्द्वको प्रकृति परिवर्तन भए पनि द्वन्द्वपीडितका समस्या उस्तै रहेको बताउनुभएको छ । राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेशले आज हेटौँडामा आयोजना गरेको ‘महिला, शान्ति र सुरक्षासम्बन्धी संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद् प्रस्ताव नं १३२५ र १८२० सम्बन्धी दोस्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयनका सन्दर्भमा प्रदेशस्तरीय अन्तरक्रिया’ मा उहाँले द्वन्द्वपीडित महिला, बालबालिका लामो समयदेखि पीडामाथि पीडा खेप्दै आएकाले यो समस्या समाधानमा प्रदेश सरकारले चासो राखेको बताउनुभयो ।
मन्त्री लामिछानेले द्वन्द्वपीडितको समस्या समाधानमा अन्तरतहको सरकारबीच समन्वयको कमी भएको बताउनुभयो । उहाँले भन्नुभयो,“दुई दशकदेखिको यो समस्या ज्युँका त्युँ छ, यसलाई समाधान गर्न प्रदेश सरकार द्वन्द्वपीडितको लागि सशक्तीकरण र सबलीकरणमा काम गर्न तयार छ । सम्बन्धित मन्त्रालयसँग समन्वय गरी अब बन्ने कार्यक्रममा महिला, शान्ति र सुरक्षासम्बन्धी विषयलाई प्राथमिकता दिन हाम्रो मन्त्रालय प्रतिबद्ध छ ।”
कार्यक्रममा बागमती प्रदेश सरकारका प्रमुख सचिव डा हरिप्रसाद लम्सालले दोस्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयनका सन्दर्भमा प्रदेश सरकारले नीतिगत निर्णय गरेर पीडितको पक्षमा काम गर्ने बताउनुभयो । कार्यक्रममा द्वन्द्वपीडित महिलाले आफूहरूलाई द्वन्द्वपीडितको परिचयपत्रको व्यवस्था गरिदिन आग्रह गरेका छन् । द्वन्द्व पीडितहरूको समस्यामा सरकार संवेदनशील नहुँदा जीविकोपार्जनदेखि शिक्षा, स्वास्थ्यजस्ता पक्ष जटिल बनेको उहाँहरूको गुनासो थियो ।
द्वन्द्वपीडित महिलाले पीडितहरूको समस्या तत्काल सम्बोधन गरी मासिक भत्ता, परिचयपत्र, आरक्षण कोटा, बिमा, सीपमूलक तालिमको माग गरेका छन् । आदर्श नारी विकास केन्द्र, द स्टोरी किचेनको सहकार्यमा आयोजित कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग प्रमुख पवन भट्टले दोस्रो राष्ट्रियकार्य योजनाको उद्देश्य, औचित्यबारे जिम्मेवार निकाय र सरोकारवालालाई ध्यानाकर्षण गराउनु भएको थियो ।