सोमबार, पुष ०८, २०८१

आन्तरिक राजस्व कार्यालय भरतपुरमा एक सय ४६ करदाताको बैंक खाता रोक्का


२८ कात्तिक, चितवन । आन्तरिक राजस्व कार्यालय भरतपुरले एक सय ४६ करदाताको बैंक खाता रोक्का गरेको छ । कार्यालयले रु एक लाखभन्दा बढी बक्यौता हुने ती करदातालाई कालोसूचीमा राखेर उनीहरुको बैंक खाता रोक्का गरेको हो ।

कार्यालयका सूचना अधिकारी एवं कर अधिकृत विमल पौडेलका अनुसार कालोसूचीमा राखिएका करदातालाई पत्राचार गर्ने, सम्पर्क गर्ने, सूचना जारी गर्दासमेत सम्पर्कमा नआएपछि उनीहरुको बैंक खाता रोक्का गरिएको हो ।

कार्यालयमा रहेका करदतामध्ये चार सय ९५ करदाताले मूल्य अभिवृद्धि करको रु ६५ करोड ९७ लाख बक्यौता तिर्न बाँकी छ । त्यस्तै आयकरतर्फ तीन सय २३ करदाताले रु ९४ करोड बक्यौता तिर्न बाँकी रहेको उहाँले बताउनुभयो । कार्यालयमा हाल मूल्य अभिवृद्धि करतर्फ १० हजार चार सय करदाता छन् भने जम्मा करदाता ५८ हजार चार सय ५५ रहेको पौडेलले जानकारी दिनुभयो ।

पौडेलका अनुसार कार्यालयले चालु आर्थिक वर्षमा रु छ अर्ब ६२ करोड राजस्व सङ्कलन गरेको छ । जुन लक्ष्यको ८८ दशमलब ३६ प्रतिशत हो । सूचना अधिकारी पौडेलका अनुसार राजस्व विभागले चालु आवको कात्तिक मसान्तसम्ममा रु सात अर्ब ६६ करोड ५९ हजार राजस्व सङ्कलनको लक्ष्य दिएको थियो । चाडपर्व, व्यावसायिक गतिविधिमा कमी, कर सहभागितामा कमीलगायतका कारण लक्ष्यअनुसार राजस्व सङ्कलनमा कमी आएको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading