२० कात्तिक, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका कारण उडान समय छोटिएपछि निजी क्षेत्रको हवाई सेवा कम्पनी बुद्ध एयरले उडान निर्देशिका जारी गरेको छ । यही कात्तिक २३ गते शुक्रबारदेखि करिब पाँच महिना अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिको काम हँुदैछ । सोही कारण राति १० बजेदेखि बिहान ८ बजेसम्म ‘नोटिक टु एयर म्यान’ (नोटाम) जारी भएको छ । स्तरोन्नतिपछि विमानको आवतजावत तथा ट्राफिकमा धेरै सुविधा हुने बुध्द एयरको विश्वास छ । केही महिनापछि सक्रिय हुने मनसुनले स्तरोन्नतिमा बाधा पुग्ने हुँदा अहिलेकै समय तालिका उचित रहेको पनि कम्पनीले जनाएको छ ।
बुद्ध एयरका प्रवक्ता दीपेन्द्रकुमार कर्णले छोट्याइएको उडान समय जाडो महिनाको रहेकाले उडान व्यवस्थापनमा सहज हुने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार जाडो मौसममा अधिकांश विमानस्थलमा हुस्सु तथा कम ‘भिजिविलिटी’का कारण नियमित सञ्चालन प्रभावित हुने गरेका छन् । विमानस्थल विस्तारपछि एयरलाइन्सको उडान व्यवस्थापनमा पनि सहजता हुने भएकाले अहिलेको निर्धारित मर्मतको समय सान्दर्भिक रहेको प्रवक्ता कर्णले बताउनुभयो ।
इन्ट्रुमेन्ट फ्लाईट राडर ‘आईएफआर’ गन्तव्यमा रात्रि उडान भए पनि बेलुका १० बजेभित्र सम्पन्न गर्नुपर्ने हुन्छ । त्यसैगरी भिजुअल फ्लाइट रुल्स ‘भीएफआर’ गन्तव्यहरूमा भिजिविलिटीका आधारमा दिउँसै सम्पन्न गर्नुपर्ने हुन्छ । अन्यथा उडान रद्द हुने सम्भावना उत्तिकै रहन जान्छ ।
कम्पनीले जारी गरेको ६ बुँदे निर्देशिकामा समयमै उडान भर्न पर्याप्त विमानहरू रहे पनि कतिपय अवस्थामा प्रतिकूल मौसम तथा एयर ट्राफिकका कारण उडान प्रभावित हुने गरेको उल्लेख छ । उपयुक्त कारणहरुले टिकटमा तोकिएको समयभित्रै विमानस्थल ‘चेक–इन’ काउण्टरमा रिर्पोटिङका लागि पुग्न पनि कम्पनीले यात्रुलाई अनुरोध गरेको छ ।
उडान समयभन्दा १५ मिनेट अगावै त्यस गन्तव्यको चेकिङ काउण्टर बन्द हुनेछ । खराब मौसम तथा एयर ट्राफिकका कारण विमानस्थल ढिलो खुलेमा उडान रद्द हुने सम्भावना उत्तिकै रहेको छ । यस्तो भएमा सिट उपलब्धताको आधारमा अर्को दिनलाई ‘टिकट रिसेड्युल’ गरिने कम्पनीले उल्लेख गरेको छ ।
उडान रद्द भएका टिकटलाई ‘रिफण्ड प्रोसेसिङ’ गरिने र त्यसका लागि तीनदेखि चार दिनको समय लाग्नेछ । एयर ट्राफिक तथा समय अभावका कारण उडान रद्द भएमा अर्को दिनलाई ‘डिले शेड्युल’ उपलब्ध नगराइने कम्पनीले स्पष्ट पारेको छ । अन्तर्राष्ट्रियतर्फ कनेक्टिङ उडान हुने यात्रुहरूले फराकिलो समयको अन्तर वा एक दिन अगावैको टिकट लिएमा थप सहज हुने एयरले जनाएको छ ।