12/11/2025, 18:34:07
बिहिबार, मङि्सर २५, २०८२

शिक्षकलाई हेलिकोप्टर चढाएर बिदाइ


सुलीकोट, मङ्सिर २५ : उत्तरी गोरखाको धार्चे गाउँपालिका–२, रुन्चेत गाउँका बाटा जाडो मौसमको चिसो हावामा पनि अलि ठुलैै चाडपर्व आए जस्तै चहलपहलपूर्ण थिए । मङ्गलबार कुनै पर्व थिएन, न त मेलापात वा महोत्सव नै तर रुन्चेतको मुटु गण्डकी माध्यमिक विद्यालय असाध्यै भावुक र गौरवपूर्ण समारोहको साक्षी बन्ने दिन थियो । निष्ठापूर्वक आफ्नो कर्मप्रति इमानदार प्रयास गर्ने हो भने गाउँ समाजमा शिक्षकप्रति गहिरो कदर हुन्छ प्रमाणित गर्ने दिन थियो ।

जीवनभर ज्ञानको दियो बालेर उज्यालो प्रदान गर्नुभएका प्रधानाध्यापक इन्द्रबहादुर उपरकोटीलाई विद्यार्थी, पूर्वविद्यार्थी र स्थानीय अभिभावकहरूले आकाश मार्गमार्फत बिदाइ गर्ने तय भइसकेको थियो । प्रधानाध्यापक उपरकोटी जसले झन्डै चालिस वर्षदेखि उक्त विद्यालयमा विद्यार्थीहरूलाई अक्षरदेखि अनुशासनसम्मका सबै मन्त्र सिकाउनुभयो । उहाँ मङ्गलबार पहिलो पटक आफूलाई आकाशमा उडाएर लैजाने क्षणमा उभिनुभएको थियो ।

रुन्चेतका स्थानीय अभिभावक सजन गुरुङले ‘गुरु त भुइँका मान्छेलाई उड्न सिकाउने मानिस’ भएको बताउँदै हुनुहुन्थ्यो । उहाँले भन्नुभयो, “अब भने हामीले नै गुरुलाई उडाएर सम्मान दिन्छाँै ।” त्यो कथनसँगै एक अदृश्य कम्पन विद्यालयभर फैलिइरहेको थियो ।

गोरखाको फिनाममा जन्मेर शिक्षणमा समर्पित गर्नुभएका प्रधानाध्यापक उपरकोटीको घरपरिवार भरतपुरमा बस्दै आएको छ । त्यस कारण रुन्चेतबाट काठमाडौँसम्म हेलिकोप्टर र काठमाडौँबाट भरतपुरसम्म हवाइजहाज चढाएर घरमै पु-याउने व्यवस्था पूर्वविद्यार्थीहरूले नै रकम जुटाएर मिलाएका थिए । विद्यार्थी, शिक्षक, पूर्वविद्यार्थी र स्थानीयका आँखामा ऋण तिर्न नपुग्ने भावनाले भरिएको कृतज्ञता चम्किइरहेको थियो ।

बिदाइ समरोहमा विद्यार्थीहरूको कृतज्ञ नजर, सहकर्मीहरूका भरिभराउ स्मृतिहरू, अभिभावकको आत्मीयतालाई एकाकार गरी प्रधानाध्यापक उपरकोटीको जीवनलाई एउटा जीवित काव्य झैँ बनाइएको थियो । हेलिकोप्टरको पङ्खा घुम्न थालेपछि गाउँभर एकाएक हावाले पनि गति बढाएको जस्तो आभास भइरहेको थियो ।

– गुणबहादुर रोका