धनगढी, मङ्सिर १२ गते । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धनगढीमा आयोजित सन्देश सभामा वामपन्थी तथा देशभक्त शक्तिहरूबीच बृहद् एकता अपरिहार्य भएको बताउनु भएको छ।
आगामी चुनाव देशको निकासको मुख्य मार्ग भएको बताउँदै उहाँले सबैलाई निर्वाचन प्रक्रियामा गम्भीरतापूर्वक जुट्न अपिल गर्नुभयो ।
सभालाई सम्बोधन गर्दै प्रचण्डले हालै गठन भएको नेपाली कम्युनिष्ट पार्टी १५ वटा कम्युनिस्ट घटकहरूको एकताको परिणाम भएको उल्लेख गर्दै यसले देशभर नयाँ ऊर्जा पैदा गरेको उल्लेख गर्नुभयो।

उहाँले राजनीतिक नेतृत्व तथा अभिभावकहरूलाई आत्मालोचना गर्नुपर्ने बताउँदै भन्नुभयो, “हामीले आफ्नै छोराछोरी, नाति–नातिनातर्फ पर्याप्त ध्यान दिन सकेनौँ। उनीहरू इन्टरनेट र एआईको नयाँ संसारमा पुगे। हामी सबैले घर–परिवारबाटै युवालाई इतिहास, राष्ट्र र समाजबारे शिक्षित बनाउनै पर्छ।”

प्रचण्डले देश केही महिनाअघिको राजनीतिक सङ्कट अत्यन्त गम्भीर मोडमा पुगेको बताउँदै २६ गते राति ‘गणतन्त्र खारेज हुनसक्ने’ सम्मको चर्चा चलेको स्मरण गर्नुभयो। सो रात राष्ट्रपति कार्यालयबाट आकस्मिक बोलाहट आएपछि उहाँले र माधवकुमार नेपालले शीतल निवास पुगेर संविधान र प्रणालीलाई जोगाउन सक्रिय भूमिका खेलेको बताउनुभयो।
आगामी निर्वाचन नै देशलाई स्थिरता दिने मार्ग भएको स्पष्ट गर्दै प्रचण्डले विगतमा संसद विघटनमा संलग्नहरूले अहिले पुनःस्थापनाका कुरा उठाउनु बेमौसमको बतास जस्तै भएको टिप्पणी गर्नुभयो।
साथै, उहाँले सबै शक्ति मिलेर कृषि, उद्योग, पर्यटन, जडीबुटी, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमार्फत देशको कायापलट गर्न आवश्यक रहेको बताउनुभयो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











