काठमाडौँ, कात्तिक ३० : अघिल्लो वर्ष सम्पन्न नेपाल प्रिमियर लिग पहिलो संस्करणले अधिक चर्चा पाएको थियो, अपेक्षित सफलता पनि पाएको थियो । यसको निरन्तरताको संशयका बीच दोस्रो सिजनको प्रतियोगिता सोमबारबाट सुरु हुँदै छ । भौतिक पूर्वाधारको विकास, नेपाल क्रिकेट संघ (क्यान) देखि फ्रेन्चाइजहरूको आर्थिक सबलता, आन्तरिक र बाह्य लगानी जस्ता पक्षले एनपीएलको दीर्घकालीन विकासलाई सुनिश्चित गर्दै लैजानेछन् ।
अहिलेका लागि भने एनपीएल देशभित्रको सबैभन्दा सशक्त र प्रतीक्षित प्रतियोगिता बनेको छ । एनपीएलको पहिलो संस्करणको अनुभव, दोस्रो सिजनको प्रयत्न र आगामी दिनका योजनाका सन्दर्भमा क्यान सचिव पारस खड्कासँग विनोद पाण्डेले गरेको कुराकानी :
एनपीएलको तयारी र उत्साह कस्तो छ ?
अपेक्षा एकदमै धेरै छ । क्रिकेट संघका तर्फबाट जे जति सक्छौं, पहल गरिरहेका छौं । काम पनि भइरहेको छ । अब मैदानलाई अलिकति व्यवस्थित गर्ने काम भइरहेको छ । पानीले गर्दा पनि काममा केही ढिलाइ हुन पुग्यो । फ्लड लाइटको काम चाँडो हुन सकेन । बर्खा नसकिई पोल राख्न पनि सम्भव थिएन । तर सबै कुरा मिलिरहेको छ । मैदान सुन्दर छ ।
फ्रेन्चाइजहरूले टेस्ट राष्ट्रका खेलाडीहरूमा पूर्ण खुल्ला नभए पनि गजबका खेलाडी ल्याउनुभएको छ । महत्त्वपूर्ण कुरा, एउटा ‘ब्रान्ड’ जुन गत वर्ष नेपाल क्रिकेट संघले लगानी गरेर बनाएको छ । यो ‘ब्रान्ड’लाई अब अझ व्यवस्थित गर्न पूर्णता दिने क्रममा र गत वर्षकै सफलताको ‘स्टोरी’लाई निरन्तरता दिने गरी अगाडि बढेका छौं । चुनौती छ, अपेक्षा व्यवस्थापन गर्न एकदमै गाह्रो भएको छ ।
के–कस्ता अप्ठ्याराहरू सामना गर्नुपरेको छ ?
सबै जनालाई मैदानमा आउनुपर्नेछ । मैदानमा भर्खर १० हजारको संरचना बनेको छ । त्यसपछि हामीसँग जिल्ला र प्रदेशको आफ्नै मागहरू पनि छन् । सबैलाई हामीले जति सक्दो व्यवस्थित गर्ने प्रयास गरेका छौं । राखेप, पूरा राज्य, प्रायोजक सबै जनालाई राखेर उहाँहरूको सबै अपेक्षालाई व्यवस्थित गर्न पनि सजिलो छैन । तर पनि जे जति सक्छौं, त्यसलाई व्यवस्थापन गरिरहेका छौं । प्रतियोगिता ठूलो हुँदाखेरि यसमा ‘आइबल्स’ धेरै छन् । आलोचना धेरै भएका छन् ।
के सही, के गलत, अहिले भर्खर जन्मिएको एउटा संरचनालाई सुधार्नुपर्ने पक्ष के छन् भन्ने कुरामा हामी छलफल गर्न सक्छौं । क्रिकेट संघका लागि पनि नयाँ प्रयास हो । यो प्रयासका क्रममा गत वर्षदेखि जुन लगानी र अपेक्षा हामीले सबैबाट पाएका छौं, त्यसलाई कसरी निरन्तरता दिने र नेपाललाई बलियो ‘क्रिकेटिङ हब’ बनाउने भनेर प्रतियोगिताको माध्यमबाट भन्ने कुरा छन् । मैदान व्यवस्थापन गरिरहेका छौं तर पूरा राज्यका अपेक्षा पूरा गर्न सजिलो छैन ।

एनपीएलको पहिलो सिजन सकिएपछि दोस्रो सिजन सुरु भइरहँदा यसको ‘ब्रान्ड’ कस्तो बन्यो जस्तो लाग्छ ? यसलाई जोगाइराख्ने चुनौती कस्तो छ ?
पूर्वाधार हुने हो भने हामी दिगो गर्ने मुडमा गइहाल्छौं । हाम्रो मैदान अहिले १० हजार क्षमताको छ । प्राथमिकताका साथ यसलाई दोस्रो र तेस्रो चरणको ‘टेन्डर’ प्रक्रियाको सहमति र सरकारबाट पनि स्वीकृत भइसकेपछि पूरा गर्नुपर्यो । एउटा क्रिकेट मैदान पूरा निर्माण भएको अवस्थामा त्यसबाट हामीले आर्थिक संरचना बनाउन सक्छौं । त्यसलाई हामीले तह निर्माण गरेर जिल्ला प्रतियोगिता विकास गर्ने हो भने नेपाली क्रिकेटमा ठूलो प्रभाव पार्न सक्छौं । अहिलेलाई यो प्रतियोगिताप्रतिको आकर्षण राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा गजबको छ ।
पहिलो सिजनमा ‘स्टार स्पोर्ट्स’लाई ‘कन्भिन्स’ गरेर ल्याउन गाह्रो थियो तर त्यही एउटा कुरालाई मान्छेले चाहिने/नचाहिने विषय बनाइरहेका छन् । नेपाली टीभी च्यानल सबैलाई सँगै गर्ने माध्यम हो । कुनै पनि कुरा राम्रो भइराख्दाखेरि त्यसका सकारात्मक र नकारात्मक पक्ष दुवै जोडिने हुन्छ । अहिलेका लागि यो एउटा प्रतियोगिता हो ।
यसलाई राम्रो बनाउन के के गर्न सकिन्छ भन्ने कुराहरू अहिलेदेखि नै सोचिरहेका छौं । अहिले नै यो ‘ब्रान्ड’ भएर सबै कुरा यही हो भन्ने पनि छैन । यो दोस्रो वर्षमा भर्खर प्रवेश गरेको छ र यसको सम्भावना ठूलो छ । यो सम्भावनालाई कायम गरेर अगाडि बढ्ने हो भने आगामी दिनमा ठूलो लगानीकर्ता लगायत ठूल्ठूला खेलाडी हाम्रै आँगनमा आएर खेल्ने वातावरण हामीले सिर्जना गरिसकेका छौं ।
पहिलो सिजनमा अनुमानित एक अर्बको ‘टर्नओभर’ भनिएको थियो, यो पटक के छ ?
त्योभन्दा राम्रो होला भन्ने मलाई लाग्छ । ६–७ करोड लगानी एउटै टिमको देखिन्छ । क्रिकेट संघको लगानी, आठ वटा टिमको लगानी, सामाजिक सञ्जाल लगायतमा टिमहरूको जति पनि लगानी छ, होटल, ट्राभल सबै गर्दाखेरि यसकै हाराहारी एनपीएलको कुल खर्च भइरहेको छ । सामाजिक सञ्जाललगायत पत्रपत्रिका र साधारण मान्छेले यसलाई हेर्ने दृष्टिकोणमा एनपीएल भन्ने शब्द थाहा छ ।
क्रिकेट नबुझेकाले पनि एनपीएल छ है भन्ने बुझ्ने अवस्थामा पुगेको छ । नेपालको क्रिकेटको इतिहास हेर्ने हो भने पनि सायद क्रिकेट बुझ्नेको संख्या बिस्तारै बढ्दै छ । पहिला हेर्ने मात्रै संख्या थियो, अब हेरेर बुझ्नेको संख्या पनि बिस्तारै बढ्दै छ । यो निरन्तरताको प्रक्रिया हो । अहिलेलाई धेरै उत्साहित हुन जरुरी छैन, किनभने अझै धेरै बाधा तोड्नु छ ।
केही मैदानहरू मोफसलमा पनि निर्माण भइरहेका छन् । एनपीएललाई ‘होम एन्ड अवे’ सिस्टममा लैजाने तयारी के छ ?
अर्को वर्ष सरकारको कार्यक्रम पूर्ण हुने हो भने तेस्रो सिजनमा राजधानीबाहिर पनि एनपीएल लैजान सक्छौं । ७–८ महिनाको बीचमा त्यो अवस्था बन्ला भन्ने पनि छैन । ‘होम एन्ड अवे’ को योजना तेस्रो सिजनमा नभए पनि चौथोमा त जान सक्छौं । जसले गर्दा अझै विकेन्द्रीकरण पनि हुनेछ । महत्त्वपूर्ण कुरा पूर्वाधार हो । पूर्वाधारसँगसँगै त्यसलाई व्यवस्था गर्ने बन्दोबस्तीले हो ।
क्रिकेट ‘म्याच’ गर्दा यसको व्यवस्थापन महत्त्वपूर्ण हो । एउटा मैदानमा प्रतियोगिता आयोजना गर्नुपर्ने बाध्यता छ । क्रिकेटको विकासक्रम भइरहेको अवस्थामा समग्र क्रिकेटको विकास कसरी भइरहेको छ भन्ने बुझ्नुपर्छ । ‘ग्रासरुट’ क्रिकेट अझ बलियो बनाउने अवस्था भइसकेको छैन । यस्तै प्रतियोगिताहरू गर्नका लागि आगामी दिनमा हामीकहाँ अझै बलियो क्रिकेट ‘क्यालेन्डर’, घरेलु क्रिकेट सिजन पनि हुनुपर्ने छ । अहिलेजस्तो काठमाडौंमा मात्रै सीमित नरहेर भविष्यमा विस्तार गर्ने सोच हामीले गरेका छौं ।

एनपीएल आयोजना गर्नका लागि सहज समय यही हो कि अरू पनि हुन सक्छ ? यो समयमा विश्वका अन्य प्रतियोगिता जुध्ने गर्दा समस्या भएको छैन ?
मलाई लाग्छ, अक्टोबर सकिनासाथ वा अक्टोबरको मध्यबाट गर्न पाए अझै सजिलो हुन्थ्यो । तर हाम्रो विश्वकप छनोट थियो, विश्वकप लिग–२ का खेल थिए । त्यसले गर्दा हामीलाई त्यो समयमा प्रतियोगिता गर्न गाह्रो थियो । हाम्रो लिगलाई सकेसम्म नजुधाउने भनेर सुरु गरेका हौं । तर २०–२५ दिनको प्रतियोगिता राख्दाखेरि कुनै कुनैसँग जुध्ने नै भयो । हामीले के प्रयास गरिरहेका छौं भने अरू लिगहरूसँग एनपीएल नजुधोस् । १२ महिना छ, तर संसारमा यति धेरै लिगहरू छन्, त्यसले गर्दा सबैलाई व्यवस्था गर्न पनि गाह्रो भइरहेको छ । अहिलेलाई अक्टोबर–नोभेम्बर नै उत्तम समय हो ।
आईसीसीले पूर्ण मान्यता नदिँदा टेस्ट राष्ट्रका खेलाडी लिन पाइएको छैन, मान्छेमा पनि भ्रम भइरहेको छ । पूर्ण मान्यता पाउनका लागि ‘क्यान’बाट के–के प्रक्रिया अगाडि बढेको छ ?
२०२४ को सिजन २१ तारिखमा सकिएको थियो । २२ डिसेम्बरमा नै हामीले आईसीसीलाई पत्राचार गरेका थियौं । त्योभन्दा अगाडि पनि हामीले पहल गरेका थियौं । तर विगतका केही प्रतियोगिताहरूका कारणले गर्दा अलिकता हाम्रो ‘नेगेटिभ चेकमार्क्स’ थिए । त्यसलाई लगभग ‘क्लियर’ गरिसकेका छौं । अहिले दोस्रो संस्करण पहिलो सिजन जस्तै सम्पन्न गर्ने हो भने उहाँहरूबाट पाएको ‘फिडब्याक’ सुन्ने हो भने दुई वर्षको समयावधिलाई मूल्यांकन गरेर हामीलाई समय दिनुभएको छ ।
यो सकिने हो भने खेलाडीको ‘रेस्ट्रिक्सन्स’ अवश्य पनि हट्नेछ । यही कारण विदेशी खेलाडी व्यवस्थापन अलिकति चुनौती बनेको थियो । फ्रेन्चाइजहरूलाई समान हिसाबले मैदान व्यवस्थापन गर्न पनि कठिनाइ भइरहेको छ । तर फ्रेन्चाइजहरूलाई धन्यवाद पनि भन्न चाहन्छु कि उहाँहरूले समस्या बुझिदिनुभएको छ । सुरुदेखि नै हामीले १–२ वर्षको मात्रै होइन, १० वर्षसम्मको सम्झौता छ, त्यसैअनुसार काम गर्न सकिन्छ भनेर फ्रेन्चाइज टोलीलाई खाका बनाएर दिएका थियौं । लगानीका हिसाबले, लामो समय टिकाउ हुनुपर्छ भन्ने हिसाबले र साथ–सहयोगले आजको दिनसम्म हाम्रो व्यवहार राम्रो छ । आशा गरौं, यसरी नै राम्रो हुँदै जानेछ ।
फ्रेन्चाइजहरूलाई दिगो रूपमा टिकाउन के–कस्ता योजना छन् ?
पहिलो सर्त त पूर्वाधार हुनुपर्यो । सायद यो वर्ष पनि जुन पूर्वाधारहरू छन्, ‘टिकेटिङ, प्लान, रेभिन्यु’का कारणले गर्दाखेरि सबै योजनाबद्ध रूपमा गयो भने फ्रेन्चाइजले राम्रो ‘रेभिन्यु’ पाउनेछन् । पहिलो सिजनमा टिमलाई ४–५ करोड फ्रेन्चाइज मोडलअनुसार बाँडेका पनि छौं । सकेसम्म ‘सेल्फ सस्टेन्ड मुड’मा ‘होम एन्ड अवे कन्सेप्ट’मा जाने हो भने चाहिँ जान्छ । तर भरिभराउ दर्शक, ‘ब्रोडकास्ट’ र ‘डिजिटल राइट्स’ सबै राखी ३ सय रुपैयाँको ‘सब्सक्रिप्सन’ संसारभरिका ५ देखि ३० लाख मान्छेले हेर्ने भए भने त्यो ४०–५० करोडसम्म पुग्ने अवस्था बनेको छ ।
त्यो संरचना बन्ने हो, त्यो पैसा क्रिकेट विकासमा जाने हो र त्यसको ‘रेभिन्यु मोडल’मा पनि आधा त फ्रेन्चाइजहरूले नै पाउने हो । ‘सस्टेनेबल मोडल’मा पनि हामीले यसपालि चुनौतीहरू लिएका छौं । ‘सब्सक्रिप्सन मोडल’ यसपालि गर्न सक्यौं भने आर्थिक हिसाबमा फ्रेन्चाइज टिम स्वतन्त्र भएर खर्च गर्न सक्ने अवस्थामा पुग्नेछन् ।

तपाईं एक–दुई ‘ट्यालेन्ट हन्ट’ मा पनि जानुभयो । अहिलेको युवा पुस्तामा देखिएको क्रिकेटप्रतिको मोह कस्तो पाउनुभयो ?
यसमा धेरै आशा छ । अभिभावकमा पनि आफ्नो छोराछोरीलाई क्रिकेटर बनाउँछु भन्ने भावना छ । त्यो माहोल बनेको छ । अपेक्षा त हरेक बच्चाले राम्रो गरोस् भन्ने हुन्छ, अभिभावक र युवाहरूमा । क्रिकेटप्रति चासो बढेको छ । तर त्यसलाई संरचनागत भएको छैन । स्कुल तहको क्रिकेटलाई प्राथमिकता दिनुपर्छ । प्रतिभा त्यहीं छन् । अर्को चरणमा हामीले त्यसका लागि ‘होमवर्क’ गर्ने प्रयासमा छौं । अहिले जुन माया, जुन ‘ब्रान्ड’ नेपाल क्रिकेट भएको छ, मलाई आशा छ– हामी यसलाई निरन्तरता दिनेछौं ।
एनपीएल सुरु हुन थालिसक्यो । तर निर्माणको काम १५–२० प्रतिशत बाँकी नै छ भनिएको छ, निर्माणमा संलग्नद्वारा खासगरी फ्लड लाइटको निर्माणमा । फ्लड लाइटमै खेल्न सम्भव छ ?
फ्लड लाइटमा क्रिकेट खेल्न तयार पार्छौं भनेर सुनिश्चितता उहाँहरूले नै दिनुभएको छ । मंसिर १ गते एनपीएल फ्लड लाइटमा सुरु गर्नेछौं । त्योभन्दा पहिले नै परीक्षण गरेर ‘फुल फ्लेज्ड’मा लैजाने तयारीमा छौं ।
एनपीएल सकिएलगत्तै त्रिवि क्रिकेट ‘ग्राउन्ड’ निर्माणको दोस्रो चरणको काम सुरु हुन्छ ?
त्यो सरकारको निर्णय हो । त्यसमा हामीलाई आधिकारिक जानकारी आएको छैन ।
फ्लड लाइट र नोभेम्बर–डिसेम्बर अलि नमिलेको जस्तो भयो भन्छन् नि । मार्च–अप्रिल उपयुक्त हुन्थ्यो, फ्लड लाइटमा खेल्नका लागि भन्नेछ । जाडोमा फ्लड लाइटमा हेर्न गाह्रो हुन्छ भनिएको छ । यसका बारेमा के भएको छ ?
मार्च–अप्रिलमा आईपीएल हुन्छ । आईपीएल हुँदा कुनै पनि प्रतियोगिताको ‘विन्डो’ पनि छैन, ‘चार्म’ पनि छैन । एक महिना अगाडि गर्न पाएको भए हामीलाई सजिलो हुन्थ्यो । ४ बजे ‘म्याच’ सुरु हुँदा चिसो हुन्छ तर मैदानको माहोल हुँदा त्यसले एउटा ‘एटम्स्फेयर’ बनाउँछ । जस्तो ‘इंग्लिस प्रिमियर लिग’ जाडो महिनामा हुन्छ ।
इंग्ल्यान्डमा फुटबल ‘विन्टर’मा र क्रिकेट ‘समर’मा हुन्छ । हाम्रा लागि पनि अलिकति यो ‘विन्डो’लाई अक्टोबरसम्म सुरु गर्न पाइयो भने मौसमका हिसाबले पनि राम्रो हुन सक्थ्यो । अहिलेलाई यही समय थियो । यो परीक्षण हो, हाम्रा लागि पनि । ‘ड्यु फ्याक्टर’ चिसो कत्तिको हुन्छ । ‘ग्राउन्ड’मा आउन सक्नेले ‘ग्राउन्ड’मा आएर, मोबाइलमा हेर्न सक्नेहरूले ‘सब्सक्राइब’ गरेर र बाँकी सबैले टीभीमा हेरेर नेपाली क्रिकेटलाई समर्थन गरिदिनुहुन हामी समग्रमा आग्रह पनि गर्न चाहन्छु ।
यसपालि धेरैजसो टिमले भारतमा गएर प्रशिक्षण गरे । हाम्रो नेपालमा प्रशिक्षण मैदान कम छन् । एकेडेमीहरू अहिले राम्रो खुलिरहेका छन् । ‘आउटडोर’का लागि मुख्य भनेको पिच हो । त्यो बनाउन पनि सकिन्न । यस्तो कुराहरू क्यानले ‘फेसिलिटेड’ गर्ने हो कि फ्रेन्चाइज आफैंले बनाउनुपर्छ ?
कतिपय फ्रेन्चाइजले आफैंले पहल लिनुभएको छ । अहिलेको क्यान टोली क्रिकेट संघमा आएको दुई वर्ष भयो । सबै कुरा एकै पटक फेरबदल पनि हुँदैन । हामी सही दिशामा छौं भन्ने लागेको छ । तर अहिलेलाई धेरै उत्साहित पनि नहुने, धेरै ‘लो’ पनि ‘फिल’ नगरीकन योजनाबद्ध रूपमा अगाडि बढ्नुपर्नेछ । संघ एउटा संस्कार र संरचनामा अगाडि बढेको छ । त्यसलाई बिस्तारै फेरबदल गर्दै अगाडि बढेका छौं ।
सबैभन्दा महत्त्वपूर्ण भनेको क्यान आर्थिक रूपमा स्वायत्त भएमा सबै कुरा स्वचालित हुन्छ । जिल्ला र प्रदेशमा काम गर्ने मान्छेहरू छन्, हामीसँग तर उहाँहरूलाई स्रोतको कमी भएको छ । हामीले यदि स्रोत पत्ता लगाउने हो भने फ्रेन्चाइजसँगै प्रदेश र जिल्लाको क्रिकेटको समग्र अवस्था परिवर्तन हुन्छ ।
एनपीएल जनमानसमा जति लोकप्रिय हुँदै छ यसको व्यवस्थापन उति पारदर्शी हुनुपर्ने हो तर विवाद र प्रश्न किन बढ्दै छ ?
हामी स्पष्ट छौं । हामी नेपाल क्रिकेटको विकास गर्नका लागि भनेर लागिरहेका छौं । विभिन्न व्यक्तिमाझ छलफल हुनु स्वाभाविक पनि हो । अहिलेलाई हामी आफ्नो पक्षबाट उत्तम प्रयास गरिरहेका छौं । हामी पनि ‘न्यु डाइमेन्सन’ मा अगाडि बढ्दै छौं । त्यसैले सबै कुरालाई एकैचोटि समेट्न पनि सजिलो छैन । हामीले आँट गरेका छौं । त्यो आँटलाई समर्थकको साथ छ । त्यसको निरन्तरता रहोस् ।
नेपाल क्रिकेटले विश्वव्यापी पहिचान पाएको छ । यसको ‘ब्रान्ड भ्यालु’ गुमाउनु भएन । एनपीएल मात्रै होइन, अरू प्रतियोगिताहरू पनि छन् । त्यसैले नेपाल क्रिकेटको ‘ब्रान्ड’लाई नै अगाडि बढाउनका लागि हामीलाई समर्थकको सहयोग चाहिएको छ । समर्थकले वर्षौंदेखि त्रिवि मैदानको घाँसमा बसेर हेरिरहेको पीडाबाट कुर्सीमा बसेर साथ–समर्थन गरिदिनुहुन्छ भन्ने आशा गरेका छौं ।
एनपीएलको टेलिभिजन प्रसारण र ‘ओटीटी’ अधिकार बेच्ने विषयमा पनि क्यान आफैंले पटकपटक टेन्डर सूचना र मापदण्ड परिवर्तन गर्दा स्वाभाविक आशंका र विवाद बढेको छ । यस्तो अवस्था किन आयो ?
नेपालमा जे गरे पनि विवाद हुने नै हो । काम गरे पनि सुख छैन, नगरे पनि सुख छैन भन्ने छ । अहिलेलाई कति ‘रिभोलुसन्स्’ छन्, जसलाई हामीले चिर्नुपर्ने पनि छ । खेलकुद त्यसै कम लगानी भएको क्षेत्र हो, हामी आफैं स्रोतसाधन खोजेर लगानी सबै क्रिकेटमा खर्च गरेर एउटा संरचना बनाइरहेका छौं । त्यसैले विवाद स्वाभाविक पनि हो ।
किनकि यो प्रतियोगितासँग जोडिन खोज्ने हातहरू र संस्थाहरू धेरै पनि छन् । तर हाम्रो जुन प्रक्रिया छ, त्यसलाई हामीले जतिसक्दो ‘फेयर’ गर्न खोजेका छौं । सबैको चित्त बुझाउने सजिलो पनि छैन । फेरि पनि हामी जवाफदेही छौं । जवाफ दिन्छौं पनि । अहिलेलाई यी विवाद चाँडोभन्दा चाँडो समाधान होस् । विवादबीच पनि क्रिकेट निरन्तर अगाडि बढाउनुपर्ने छ । कसैको दाबी छन् भने संस्थागत रूपमै आओस् ।

‘ओटीटी’ अधिकारमा एक करोड बढी हालेका थियौं, तर एक करोड कम दाबीलाई दिइयो भनेर एउटा पक्ष अख्तियारसम्म गएको नि ?
पहिलो कुरा त प्राविधिक हिसाबमै उहाँहरू हाम्रो ‘रिपोर्ट’ अनुसार फेल हुनुहुन्छ । फेल हुनासाथ उहाँहरूले यस्तो दाबी गर्ने क्षमता राख्नुहुन्न । कसैको गलतभन्दा पनि, एक–दुई करोडभन्दा पनि ‘रेभिन्यु मोडल’ मा त त्यसमा पनि उहाँहरू पनि फेल हुनुहुन्छ । विशेष कारणमा त उहाँहरू प्राविधिक रूपमा नै अक्षम देखिएका छन् । त्यो सँगसँगै उहाँहरूले दिएको ‘रेभिन्यु मोडल’मा त उहाँहरूलाई बढी फाइदा छ, हामीलाई भन्दा पनि । हामीले अहिले विकास गरेको प्रणाली बढी राम्रो छ ।
‘सर्भर होल्ड’ गर्ने ‘मेकानिजम’, योजना, ‘ओटीटी’ हुनासाथ खालि पैसा मात्रै हालेर भएन नि । आज चार जना साथीहरू मिलेर २–२ करोड हालेर प्रसारण अधिकार किनेर म चलाउन सक्छु र मसँग सिस्टम छ भन्नुभन्दा पनि यसका लागि एउटा ‘मेकानिजम’ हुनुपर्छ । डिसहोम मिडिया, जसले ‘बिड’ गर्नुभयो । अरू मिडिया संस्थानले पनि फाराम लिएर जानुभएको थियो ।
दुई वटा आउँदाखेरि र एउटाले नपाउँदाखेरि, उहाँहरूको गुनासो मैले धेरै पैसा हालें भनेर मात्रै भन्नुभन्दा पनि महत्त्वपूर्ण पक्ष उहाँहरूले प्रस्तुत गरेको ‘सिस्टम’, ‘रेभिन्यु सेयरिङ मोडल’को तुलना हामीले बनाएको ‘रेगुलेसन’ सँग भएन । त्यसैले उहाँहरूको आफ्ना मागहरू होलान् तर अब सही दिशामा अगाडि बढ्नुको विकल्प छैन । सही दिशामा अगाडि बढ्दा उहाँहरूले पनि यो कुरा बुझ्नुभएको छ होला । कानुनी रूपमा अगाडि बढ्नुहुन्छ भने क्यानका तर्फबाट भन्छु, हामी रोक्दैनौं तर हाम्रो ‘रेगुलेसन्स’ र प्रक्रियाबाट उहाँहरू ‘क्वालिफाई’ हुनुहुन्न ।
‘एसोसिएट’ देशहरूको फ्रेन्चाइज लिगमा पहिलो सिजनबाट यहाँ आइपुग्दासम्म हामी कहाँ उभिएका छौं भन्ने लाग्छ ?
एनपीएलको तरंग विश्वव्यापी फैलिएको छ । यो सुरुवात हो । जिम्मी निसम फेरि खेल्न आएका छन् । अफगानिस्तानबाट एनपीएल खेल्न खेलाडी आएका छन् । राम्रो खेलाडीहरूको ‘लाइनअप’ भएको छ । ‘कमेन्टेटर’हरूमा आकाश चोपडालगायत ल्याएका छौं । यो राम्रो प्रतिस्पर्धा हो । सबैभन्दा महत्त्वपूर्ण नेपाल क्रिकेटको ‘ब्रान्ड भ्यालु’ छ, अघिल्लो वर्षको जस्तो यो वर्ष पनि सफलतापूर्वक सम्पन्न गर्नुपर्नेछ ।
तपाईंलाई पनि व्यक्तिगत रूपमा ‘स्टार’ विदेशी खेलाडीहरूले ‘अप्रोच’ गरिरहेका होलान् नि ?
त्यो त गर्छन् । किन भन्दाखेरि निश्चित सम्बन्धहरू मेरा पनि छन् । मैले फ्रेन्चाइज क्रिकेट त खासै खेलिनँ, जति अन्तर्राष्ट्रिय खेल खेलें, त्यतिबेलाको सम्बन्ध, अझ संघमा आइसकेपछि अझ बढी बोर्डबाट खेलाडीहरूसँग भेट्ने मौका पाएको थिएँ । मैले पहल गर्ने भनेको नेपाल आएर खेल्नुस् भन्ने हो खेलाडीहरूलाई । उहाँहरूको स्वीकार्यता र खेलाडी आउनका लागि पनि फ्रेन्चाइजले समर्थन गर्नुपर्यो । उनीहरू सस्तोमा आउन चाहन्नन् । फ्रेन्चाइजले गरेको समर्थन र क्यानले गरेको आह्वानलाई आठ वटा टिमले स्वीकारिदिनुभएको छ । यसले निरन्तरता पाउने विश्वास गरेको छु । निकट भविष्यमा हाम्रो ‘फाइनान्सियल मोडल’ तथा हाम्रो योजना र टिमको लगानी एक ठाउँमा जुट्ने हो भने हामी इतिहास निर्माण गर्ने अवस्थामा पुग्नेछौं ।
अन्तर्राष्ट्रिय खेलमा एउटा खेलाडीलाई यतिमा किन्यो भन्दा राम्रो र पारदर्शी हुन्छ । एनपीएलमा विदेशी खेलाडीमा गरिएको लगानी खुलाउने व्यवस्था किन नगरिएको हो ?
आर्थिक रूपमा कतिपय कुरा छन् । हामी भर्खरका छौं यति लगानीले, एउटा टिमको लगानीले दुईवटा लिग नै किन्न सकिन्थ्यो । तर अहिले फ्रेन्चाइज टिमले खुला हृदयले लगानी गर्नुभएको छ । एउटा समय आउनेछ कि हामी पनि खुला ‘अक्सन’ गरेर विदेशी खेलाडी लिने अवस्थामा पुग्नेछौं । तेस्रो सिजनपछि नेपाली खेलाडी ‘ओपन क्याप सिलिङ’ मा नै ‘अक्सन’ गराउनेछौं । हाम्रो खेलाडीलाई व्यवस्थित गराउनु पहिलो प्राथमिकता हो । त्यसपछि विदेशी खेलाडी जो जति आउँछन्, उनीहरू सहमत भएको खण्डमा उनीहरू आउनेछन् र खेल्नेछन्, जानेछन् । एउटा बिन्दु आउन सक्छ कि हामी पनि खुला ‘अक्सन’ मा जान सक्छौं । त्यसका लागि नेपालको लगानीले मात्रै हुन्न, विदेशी लगानीकर्ताले नेपाली लगानीकर्तासँग जोडिनुपर्ने हुन्छ ।

एनपीएलले यो स्तरको चर्चा पाउला भन्ने लागेको थियो ?
हामीले अझै गर्नुपर्ने हुन्छ । मैले जहिले पनि ठूलो सपना देखेको छु । व्यक्तिगत सपनाहरू संस्थासँग जोडिएपछि अझ ठूलो भएका छन् । क्रिकेट संघलाई अझ व्यवस्थित गर्ने र क्रिकेट संघका हरेक प्रतियोगिताबाट अझै राम्रो ‘मेकानिजम जेनरेट’ गर्नेछौं । जसले गर्दा नेपाली क्रिकेट माथि जानेछ ।
तर, ‘अल्टिमेट ड्रिम’ भनेको नेपाली क्रिकेटलाई ५० ओभरको विश्वकप र टेस्ट मान्यता हो, कहिले भन्ने मलाई पनि थाहा छैन । आशा गरौं कि, त्यसको जगहरू बन्ने प्रयास भइरहेका छन् । हामी यसलाई निरन्तरता दिनेछौं । चासो र चर्चा हिसाबले सफल देखिएको छ । ‘सब्सक्रिप्सन’ कत्तिको हुन्छ, त्यसले पनि अनुमान हुन्छ, क्रिकेटलाई माया गर्ने साँच्चिकै कति जना हुनुहुन्छ भनेर । हामीले एकदमै सस्तो, ३०० रुपैयाँ भनेको तीन कप चिया हो, त्यसले एनपीएल ‘फुल सिजन’ हेर्ने ‘मेकानिजम’ विकास गरेका छौं, नेपालभित्र ।
‘सब्सक्रिप्सन मोडल’ नेपाल क्रिकेटमा दर्शकहरूको योगदान हो । मैदानमा आएर काट्दाखेरि पैसा जति पनि संकलन हुन्छ, त्यो संघको खातामा आइसकेपछि जिल्ला र प्रदेशमा वितरण गर्ने हो । अहिलेका लागि माया भयंकर छ, त्यो मायाको निरन्तरता यसपालि ‘सब्सक्रिप्सन’ बाट पनि होस् । मैदानमा आउन सक्नेले टिकट काटेर र घरमा बस्नेले आफ्नो सामाजिक सञ्जालबाट पनि राम्रो ‘म्यासेज’ पठाएर खेलाडीलाई प्रोत्साहन गर्नुभयो भने हामी यसलाई शुभेच्छाका रूपमा लिन्छौं ।
– विनोद पाण्डे (कान्तिपुर)
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











