10/09/2025, 13:07:43
बिहिबार, असोज २३, २०८२
आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई

दसैँको ऋण तिर्न नदीमा सुन खोज्दै बोटे समुदाय


तनहुँ, असोज २३ : तनहुँको व्यास नगरपालिका–१०, बोटेगाउँ र कुमालटारीका बोटे समुदायहरू दसैँमा लागेको ऋण तिर्न फेरि नदी किनारतर्फ लागेका छन् । “आयो दसैँ ढोल बजाई गयो दसैँ ऋण बोकाई” भन्ने उखान जस्तै, उनीहरू साहुसँग ऋण लिएर दसैँ मनाउने र त्यसपछि बालुवामा सुन खोजेर ऋण तिर्ने पुरानै परम्परा रहेको छ ।

दसैँ सकिएसँगै बोटेहरू सुन खोज्ने सामग्री बोकेर त्रिशूली, मर्स्याङ्दी, कालीगण्डकी र बुढीगण्डकी नदी किनारतर्फ हिँडेका छन् । दसैँ मनाउँदा ३० हजार ऋण लागेको सुन बोटुलेर तिर्न नदी किनार तर्फ लागेको सोममाया बोटेले बताउनुभयो । अब हिउँद सुरु भएकाले पानी कम पर्ने हुँदा पानीको बहाव घट्दै जाने हुँदा सुन खोज्न सजिलो हुने उहाँ बताउनुहुन्छ ।

सोममाया जस्तै अन्य बोटे समुदायहरु पनि नदीको बालुवामा पाइने सुनका स–साना कणहरू सङ्कलन गरी बेचेर उनीहरूले दसैँका ऋण तिर्छन् र घरखर्च चलाउँछन् । दसैँ सकिएलगत्तै केही त नदी किनार लागिसकेका छन्, केही हिँड्ने तयारीमा रहेको मेखबहादुर बोटेले जानकारी दिनुभयो । नदीमा सुनको मात्रा घट्दै गएको उनीहरूको गुनासो छ । कर्णबहादुर बोटेले दुखेसो पोख्नुभयो, “पहिलाजस्तो अब सुन पाइँदैन, त्यसैले पेसाबाटै विस्थापित हुने डर छ,” डोजर प्रयोग गरेर नदीबाट बालुवा निकाल्दा सुनका कण पाउन मुस्किल भएको छ । “नदी किनारमा माटो देखिने गरी डोजर लगाउँछन्, ढुङ्गा बालुवा सबै उखेलिन्छ । त्यसपछि सुन अड्किन नै पाउँदैन ।’’ उहाँले भन्नुभयो ।

सुनचाँदी पसल वा साहुबाट ऋण लिएर दसैँ मनाउने र पछि सुन खोजेर तिर्ने बोटेहरूको चलन पुरानै हो । यसरी ऋण र श्रमको चक्रमा बोटेहरूको चाडपर्व हरेक वर्ष बित्छ । ३२ घरधुरी रहेको बोटे बस्तीका युवादेखि वृद्धसम्म सबै ऋण तिर्ने यात्रामा सामेल हुने गर्छन् । केटाकेटी र वृद्धवृद्धालाई घरमा छोडेर काम गर्ने उमेरका मानिसहरू नदी किनारमा त्रिपाल टाँगेर बास बस्छन् । बाढीपहिरोले सुन खानीमा ठक्कर दिँदा सुन बालुवामा आउने सुकमाया बोटे बताउनुहुन्छ ।

व्यास नगरपालिका–५ पाटन र व्यास–७ पाथ्राका बोटेहरू पनि यही ऋण तिर्ने यात्रामा हिँड्ने गरेको बोटे समाज तनहुँले जनाएको छ । उनीहरूका अनुसार वैशाखसम्म सुन खोज्ने कार्य चल्छ र एक जनाले एक वर्षमा एक तोलादेखि डेढ तोलासम्म सुन जम्मा गर्ने गर्छन् । सुन पहिला जस्तो नपाउने गरेकोले बोटेहरूको पुख्र्यौली पेशा सङ्कटमा पर्दै गएको सुन खोज्ने सीपलाई पर्यटनसँग जोड्नु पर्ने सो वडाका निवर्तमान अध्यक्ष तुलसीराम सापकोटाले बताउनुभयो । बोटे गाउँमा बोटे अर्थात माझी र डुङ्थाको मूर्ति सहितको पार्क बनाउने र बोटे गाउँमा होमस्टेको व्यवस्था आयआर्जनसँग जोड्न सकिने उहाँले बताउनुभयो ।

जथाभावी डोजर चलाउन दिइँदैन भने र जर्सी गाईजस्ता आयआर्जनका स्रोत विकास गर्न सकियो भने बोटेहरूको जीवनस्तरमा सुधार आउने उहाँको भनाइ छ ।

बोटे समुदायको दैनिक जीवन नदीसँगै जोडिएको छ । दसैँ मनाउन ऋण लिने र त्यसपछि बालुवामा सुन खोजेर तिर्ने यही उनीहरूको जीवनचक्र बनेको छ । सहकारी वा बैंकबाट ऋण होइन, प्रायः स्थानीय साहु वा व्यापारीसँगै उधारो लिने चलन छ ।

अझै पनि अधिकांश बोटे परिवारको प्रमुख आयस्रोत बालुवा चालेर, स–साना धातु खोजेर वा नदीको किनारबाट सुन सङ्कलन गरेर कमाउने हो । तीन दशकअघि नदीमा र डुङ्गा सञ्चालन बोटेहरूको मुख्य पेशा थियो । तर पुल बनेपछि उनिहरुको सो पेशाबाट विस्थापित भइसकेका छन् । रुपा बोटे भन्नुहुन्छ, “दसैँमा कपडा किन्दा, मासु किन्दा ऋण लागेको हुन्छ ऋण तिर्न जोहो गर्न दसैँपछि त्रिशूलीमा पस्छौं ।

– अमरराज नहर्की