रसुवा । यही असोज १८ गतेको अविरल वर्षाका कारण क्षतिग्रस्त यहाँको स्याफ्रु–रसुवागढी सडकखण्ड मर्मत सुरु गरिएको छ ।
सडक मर्मतका लागि गोसाइँकुण्ड गाउँपालिकाको स्काभेटर र सडक विभागको डोजर प्रयोग गरिएको छ । याङयाङदेखि रसुवागढीसम्मको १६ किलोमिटर सडकको २० भन्दा बढी स्थानमा पहिरोले क्षति पुर्याएको छ । सडक विभाग र गाउँपालिकाले संयुक्त रूपमा मर्मत सुरु गरेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडक सुधार आयोजना प्रमुख कृष्णनाथ ओझाले जानकारी दिए।
मर्मत खर्च आआफ्नै निकायले व्यहोर्ने गोसाइँकुण्ड गाउँपालिकाले जनाएको छ । गत असार र साउनमा उक्त राजमार्ग बाढी पहिरोले क्षतिग्रस्त बनाएपछि हालै मर्मत गरी सञ्चालनमा ल्याइएको थियो । पुनः तेस्रो पटक पनि बाढी पहिरोले अवरुद्ध भएको हो ।
ल्हेन्दे खोलाको मितेरी पुल निर्माण धमाधम भइरहेको छ । तिहारसम्म बेलिब्रिज तयार हुने अनुमान गरिएको छ । गत असार २४ गतेको बाढीले मितेरी पुल बगाएपछि दुई देशबीचको नाका बन्द भएको थियो ।