काभ्रेपलाञ्चोक, असोज २२ : तलतिर रोशीको उर्लंदो भेल माथिपट्टि ठाडो भिर, सिधा सडक सम्पर्क टुटेको काभ्रेपलाञ्चोकका नमोबुद्ध नगरपालिका, रोशी गाउँपालिका, तेमाल गाउँपालिका, महाभारत गाउँपालिका, खानीखोला गाउँपालिका र सिन्धुलीको सुनकोशी गाउँपालिका र घ्याङलेक गाउँपालिकाका स्थानीय हातगोडा टेकेर कष्टकर यात्रा गर्न बाध्य छन् ।
चौकीडाँडासम्म सार्वजनिक यातायात सञ्चालनमा भए पनि त्यहाँभन्दा तलका नागरिक भित्तो समातेर लामबद्ध बिस्तारै पाइला अघि सार्दै गरेको अनेकौँ दृश्य देख्न सकिन्छ । भित्तो नसमाते कतिखेर रोशीको भेलमा परिन्छ भन्ने टुङ्गो छैन ।
नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयले पैदल हिँड्नेलाई सहयोग गरिरहेका छन् । यसरी हिँड्नेमा वयस्क मात्रै छैनन्, पिठ्युँमा दुधेबालक बोकेका महिलादेखि लठ्ठी टेकेर हिँड्ने ज्येष्ठ नागरिक पनि छन् । केही दिनयता बिपी राजमार्ग रोशीखोलाले बगाएपछि लामो दुरीका यात्रुले वैकल्पिक मार्ग प्रयोग गरे पनि स्थानीय यात्रुलाई भने चौकीडाँडासम्म हिँड्नुबाहेकको कुनै विकल्प छैन ।
दसैँको टीका लगाउन आफ्नो थातथलो गएकाहरूले सहर फर्कन यस्तो कष्टकर यात्रा गर्नु परेको छ । धेरैले आफ्ना सवारी साधन सुरक्षित स्थानमा राखेर हिँडेरै यात्रा गरिरहेका छन् ।
उनीहरू ढुक्कसँग हिँड्न सकिरहेका पनि छैनन्, माथिबाट पहिरो आएर पुरिएला भन्ने पीर छ भने तल रोशीखोलामा परिएला भन्ने चिन्ता पनि छ ।
पैदलै हिँडेर जान पनि ठाउँठाउँमा रोशी तर्नुपर्ने बाध्यता रहेको पैदल हिँडेका भीष्म तामाङले उल्लेख गर्नुभयो । उहाँले ज्येष्ठ नागरिक र बालबालिकालाई जोखिम धेरै भएको उल्लेख गर्नुभयो । मुख्य राजमार्ग बगाए पनि भिरको बाटो हिँडेर चौकीडाँडासम्म पुग्ने लक्ष्य बोकेर हिँड्ने बाध्यता रहेको शान्ता मैनालीले बताउनुभयो । उहाँले बाटो निक्कै कष्टकर र जोखिमपूर्ण रहेको बताउनुभयो ।
प्रहरी चौकी कटुन्जेका इन्चार्ज राजेन्द्र ढुङ्गेलले तीन दिनयता एक हजार पाँच सयभन्दा धेरै जनाले पैदल यात्रा गरेर चौकीडाँडासम्म आएको उल्लेख गर्नुभयो । रोशी गाउँपालिकाको मङ्गलटार, कालढुङ्गा र नार्केबाट लामो दुरी पार गरेर चौकीडाँडासम्म आइपुगेका हुन् । सबैलाई स्थानीय जनप्रतिनिधि, प्रहरी प्रशासनले सहयोग गरिरहेको उहाँले बताउनुभयो । जिल्ला ट्राफिक प्रहरी प्रमुख सुनील धाँजूका अनुसार चौकीडाँडा–नेपालथोक सडकखण्डको २० किलोमिटर बाटो पूर्ण रूपमा बन्द छ । सो क्षेत्र पूर्ण रूपमा बन्द भएपछि त्यहाँका स्थानीयले लामो दुरी प्रयोग गरेर यात्रा गर्न पनि सक्दैनन् भने हिँडेर यात्रा गर्ने बाध्यता रहेको छ । सशस्त्र प्रहरी बल १५ नम्बर गण पाँचखालले स्थापना गरेको मनसुन उद्धार बेसका प्रमुख निरीक्षक आलोक बस्नेतले ज्येष्ठ नागरिक, बालबालिका र बिरामीलाई चौकीडाँडासम्म विशेष प्राथमिकतामा राखेर उद्धार गरिरहेको बताउनुभयो । उहाँले सोमबार पनि बिरामीलाई स्टे«चरमा राखेर चौकीडाँडासम्म ल्याएको बताउनुभयो । उहाँले रोशीको बहाव कम हुँदै गएकाले राजमार्गको ट्र्याक खोल्ने कार्य अघि बढ्ने उल्लेख गर्नुभयो ।
– केशवराज पौडेल