10/05/2025, 15:58:51
आइतबार, असोज १९, २०८२

हवाई यात्रुको चाप बढेपछि भरतपुर विमानस्थलबाटै बस सेवा


चितवन, असोज १९ : हवाई यात्रुको चाप बढेपछि स्थानीय प्रशासनको पहलमा भरतपुर विमानस्थलबाटै काठमाडौँका लागि बसको व्यवस्था गरिएको छ । विमानस्थलमा टिकट नपाएर अलपत्र परेका यात्रुलाई बसमार्फत काठमाडौँ पठाइएको हो ।

शनिबार हवाई सेवा अवरुद्ध बनेपछि शनिबारका लागि टिकट लिएका यात्रु र आजका लागि पुनः विमानस्थल पुगेका यात्रुका कारण विमानस्थलमा यात्रुको चाप अत्यधिक बढेको थियो । काठमाडौंँ जाने सडक मार्ग रोकिएपछि हवाई यात्रुको चाप अत्यधिक बढेको हो ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले विमानस्थल पुगेर अवस्था हेरेपछि उहाँले यातायात व्यवसायीसँग आग्रह गरेर विमानस्थलबाटै यात्रु लैजाने व्यवस्था मिलाउनुभएको हो । एउटा माइक्रोबसले यात्रु लिएर गएको छ भने थप बसको व्यवस्था गरेर बाँकी यात्रुलाई पनि पठाइने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यातायात व्यवसायीलाई नियमानुसारको भाडा यात्रुसँग लिएर सेवा दिन भनेका छौँ ।” अत्यावश्यक परेका यात्रु लैजानुपर्ने भएकाले स्थानीय प्रशासनले पत्र बनाएर बस पठाएको उहाँले बताउनुभयो ।

बसलाई जान र फर्किनका लागि सजिलो होस् भन्नका लागि पत्रसमेत बनाइएको उहाँले जानकारी दिनुभयो । नारायणगढ–मुग्लिन सडक खण्ड सञ्चालनमा छ । पृथ्वी राजमामर्गको चितवन खण्ड पनि खुल्ला छ । धादिङमा खसेको पहिरो पन्छाएर सवारी साधन सञ्चालनको तयारी रहेको जनाउँदै उहाँले साना सवारी साधनलाई गन्तव्यतर्फ पठाइएको बताउनुभयो ।

प्रशासनले शनिबार यहाँ रोकिएका यात्रुलाई ७५ प्रतिशत छुटमा होटलमा बस्ने व्यवस्था गरेको थियो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..