10/05/2025, 16:51:04
आइतबार, असोज १९, २०८२

बाढी-पहिरोले ठाउँ-ठाउँमा बीपी राजमार्ग अवरुद्ध, यी हुन् वैकल्पिक मार्ग


१९ असोज, सिन्धुली : बीपी राजमार्गको बर्दिवास–सिन्धुलीमाडी खण्डको हर्दियामा पहिरो पन्छाएसँगै खुर्कोटसम्मको ७६ किलोमिटरमा यातायात सञ्चालनमा आएको छ । खुर्कोट–नेपालथोक ३४ किलोमिटर खण्डको कानढुंग्रीनजिक एकतर्फी यातायात सञ्चालन भइरहेको छ ।

पूर्वतर्फबाट काठमाडौं जान चाहनेले खुर्कोटबाट सुनकोशी नदी पार गरेर रामेछाप, दोलखा हुँदै यात्रा गर्न सक्ने व्यवस्था रहेको छ । नेपालथोक–धुलिखेल खण्डमा भने गत वर्षझैं यस वर्ष पनि नेपालथोकबाटै रोशी खोलाले ट्य्राक सडक अधिकांश बगाएका छन् । स्थानीयका अनुसार बाढी नघटेसम्म पुनः ट्य्राक बनाउन नसकिने अवस्थामा छ ।

मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीमाडी–हेटौंडा खण्डको मरिण र हरिहरपुरगढी गाउँपालिकाको हाक्पारामा खसेका पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ । यी दुई स्थानमा पहिरो हटाएपछि हेटौंडा हुँदै पनि काठमाडौं जान सकिने सम्भावना रहेको छ ।

खुर्कोटबाट रामेछाप–दोलखा हुँदै काठमाडौं गएका नवराज कार्कीले वैकल्पिक बाटो प्रयोग गर्नुको विकल्प नभएको बताए । ‘जरुरी पर्नेले वैकल्पिक सडक प्रयोग गर्नुपर्छ, अन्य यात्रीले एक–दुई दिन पानी घटेपछि यात्रा गर्दा हुन्छ,’ उनले भने ।

नेपालथोकदेखि खुर्कोटसम्मका कमेरेफाँट, रिठ्ठेभीरलगायत स्थानमा खसेको पहिरो पन्छाएर यातायात आंशिक रूपमा सञ्चालन गरिएको सुनकोशी गाउँपालिकाकी अध्यक्ष दीपा बोहोरा दाहालले जानकारी दिइन् ।

उता, मध्यपहाडी पुष्पलाल लोकमार्गको खुर्कोट–घुर्मी खण्ड (६१ किलोमिटर) मा दर्जनभन्दा बढी स्थानमा पहिरो खसेर अवरुद्ध भएको छ । गोलन्जोर गाउँपालिका–६ को अक्करेभीरसहितका स्थानमा पहिरो सफा गरिएको वडाध्यक्ष रवीनकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार स्थानीय तहहरूको समन्वयमा मेसिन प्रयोग गरेर अन्य स्थानमा पनि पहिरो पन्छाउने काम भइरहेको छ ।

फिक्कल गाउँपालिकाको धेरै स्थानमा पनि पहिरो खसेकाले सडक खुल्न अझै केही समय लाग्ने प्रहरीले जनाएको छ । हाल हल्का वर्षा भइरहेकाले अत्यावश्यक बाहेक यात्रामा जोखिम नमोल्न सिन्धुलीका प्रमुख जिल्ला अधिकारी दिनेस सागर भुषालले स्थानीयलाई आग्रह गरेका छन् ।

– राजकुमार कार्की