10/08/2025, 10:40:17
बुधबार, असोज २२, २०८२

हरिबहादुरको जुत्ता : जुत्ताले निम्त्याएको अडचन


काठमाडौँ, असोज २२ : जेन-जी आन्दोलनमा एउटा जुत्ता आन्दोलनको प्रतीक बनेको थियो । चलचित्र ‘हरिबहादुरको जुत्ता’ मा पनि हरिबहादुर (हरिवंश आचार्य) ले चलचित्र अवधिभर बोकिरहने जुत्ता कथाको प्रतीक बनेको छ । यद्यपि चलचित्रको कथावस्तु र जेन-जी पुस्ताले गरेको आन्दोलनको यो समानता केवल संयोग मात्र हो । हरिबहादुर र उहाँले लगाउने गर्नुभएको ‘जुत्ता’ वरपर चलचित्रको कथा केन्द्रित छ । यसका साथै चलचित्रभित्र भ्रष्टाचारको विषय मात्र नभएर नातावादका कुरा पनि पस्कन खोजिएको छ ।

चलचित्रमा फटाहा चरित्रमा देखिएका हरिबहादुर आफूलाई सुधार्ने अनेकन प्रयास गर्नुहुन्छ तर समाजले उहाँलाई सुध्रने मौका दिँदैन । उहाँप्रति समाजले हेर्ने दृष्टिकोण नै फरक भइसकेको छ । चोरीको केसमा जेल परेर फेरि जेलबाट बाहिरिइसकेपछि पनि समाजले उहाँलाई चोरकै नजरले हेर्ने गर्छ । उहाँका छोरा नकुल (प्रकाश सपुत) पनि आफ्ना बुवा हरिबहादुरको कामबाट खासै खुसी देखिनुहुन्न । स्कुलमा उहाँलाई चोरको छोरा भनेर जिस्क्याइन्छ । उहाँका बुवाको बारेमा अन्य धेरै नराम्रा कुरा सुनाइन्छ यद्यपि बुवाप्रतिको मायाले उहाँलाई सधैँ सताइरहेको हुन्छ । बाहिरी नजरबाट बुवालाई घृणा गरे पनि भित्रभित्रै उहाँको मनमा बुवाप्रतिको माया गाढा हुन्छ । यसले चलचित्रको कथाले बुवाछोराबिच हुने नाता कस्तो हुँदो रहेछ भन्ने कुरा दर्शाउछ । भगवती (स्वस्तिमा खड्का) भ्रष्टाचारलाई जरैबाट उखेल्ने उद्देश्यले राजनीतिमा प्रवेश त गर्नुहुन्छ तर उहाँलाई तेजविक्रम (हरिहर शर्मा), उहाँका छोरा कृष्णविक्रम (दिव्य देव) र नकुलले राजनीतिमा आउन नदिन अनेक बाधाअडचन ल्याउने काम गर्छन् ।

रमाइलो र पारिवारिक कथावस्तुले भरिएको चलचित्रले चाडपर्वको रमझममा दर्शकको मन जित्ने काम गरिरहेको छ । हरिबहादुरलाई भगवतीको अपहरण केस लगाउनेदेखि लिएर नकुलले एकतर्फी भगवतीलाई मन पराउने कुराका पाटाले चलचित्रमा अनेक ‘ट्विस्ट’ पैदा गर्ने काम गर्छ । हरिबहादुरको जीवनमा आउने उतारचढावका साथै युवापुस्ताले खोजेको राजनीतिक परिवर्तन र त्यसबाट उत्पन्न हुने परिस्थितिको कथालाई निर्देशक दीपेन्द्र के खनालले सरल ढङ्गले दर्शकमाझ पस्कनुभएको छ । यसमा उहाँ सफल पनि हुनुभएको छ । अघिल्लो चलचित्र ‘के घर के डेरा : घर नम्बर’ बाट खासै दर्शकको वाहवाही नपाए पनि यस पटक निर्देशक खनाल दर्शकको मन जित्न सफल हुनुभएको छ ।

पटक पटक अपराधमा संलग्न भएपछि जेल पर्ने र जेलबाट छुटेर सुध्रने प्रयास गर्दा पनि अपराधीको छविका कारण दुःख पाउने पात्रको कथामा रमाइलो र हास्यरस शैलीले अभिनेता हरिवंश आचार्य प्रस्तुत हुनुभएको छ । उहाँको अभिनयको जति प्रशंसा गरे पनि कम हुन्छ । आफैँले लेखेको कथामा उहाँको अभिनय बेजोड छ । प्रकाश सपुत, दिव्य देव, स्वस्तिमा खड्का, हरिहर शर्मा र प्रियङ्का कार्कीको अभिनयमा पनि खोट लगाउने ठाउँ छैन ।

सबैले आआफ्ना भूमिकामा न्याय गर्नुभएको छ । वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतको सङ्गीत कर्णप्रिय छ । आशिष अविरल, समीक्षा अधिकारी, मोहितवंश आचार्य, समीर खरेल र सज्जा चौलागाईंले गाउनुभएका गीतले चलचित्रको सङ्गीतलाई झन् जीवन्त बनाएको छ । यी सबै आधारले ‘हरिबहादुरको जुत्ता’ दर्शकमाझ अहिले सबैभन्दा बढी रुचाइएको चलचित्र बनेको छ ।

टेलीचलचित्र ‘हरिबहादुर मदनबहादुर’ मा ‘हरिबहादुर’ को भूमिकामा हरिवंश आचार्य र ‘मदनबहादुर’ को भूमिकामा मदनकृष्ण श्रेष्ठको अभिनय थियो तर यस चलचित्रमा ‘हरिबहादुर’ को चरित्रलाई मात्र देखाइएको छ । मदनकृष्ण चलचित्रमा किन छुट्नुभयो भन्ने कुरा दर्शकलाई खट्किन सक्छ । चलचित्रमा हरिवंश आचार्यले दर्शकलाई ‘सरप्राइज’ दिनुभएको छ । त्यो ‘सरप्राइज’ हो, मदनकृष्ण श्रेष्ठको अभिनय । यसका साथै नकुलले गर्नुभएको पात्र; जो अभिनेता तथा गायक प्रकाश सपुतको बाल्यकालको भूमिका हो । उहाँको पात्रको भूमिकामा दुई बालकलाकार देखिनुभएको छ, जेभिन र जेभिस । दुवैले एउटै पात्रको भूमिका निर्वाह गर्नुभएको छ । एउटाले द्वन्द्वको दृश्यमा अभिनय गर्नुभएको छ भने अर्कोले अन्य दृश्यमा । दर्शक भने कुन जेभिस र कुन जेभिन भनेर छुट्याउनै सक्दैनन् । यही कुराले दर्शकलाई हलबाट बाहिरिइसकेपछि पनि केही समय सोच्न अवश्य बाध्य बनाउँछ ।

– सुकृत नेपाल