काठमाडौँ । जेन जेड युवाहरूको गतिविधि पुनः तीव्र बनेसँगै काठमाडौँ उपत्यकामा सुरक्षा सतर्कता बलियो बनाइएको छ।
भ्रष्टाचार र दण्डहीनताको अन्त्य माग्दै सडकमा उत्रिएका युवाहरूले संवैधानिक आयोगका पदाधिकारीहरूको नियुक्ति खारेज गर्न र विगतका दमनकारीहरूलाई कारबाही गर्न माग गरेपछि काठमाडौँका मुख्य क्षेत्रमा प्रहरीको तैनाथी बढाइएको हो।
स्रोतका अनुसार, माइतीघर, भद्रकाली, नयाँबानेश्वर, बबरमहल र सिंहदरबार वरपर विशेष सुरक्षा व्यवस्था गरिएको छ। माइतीघर–भद्रकाली खण्डमा पर्ने जिल्ला प्रहरी परिसर अगाडि प्रहरी टोलीले बाक्लो सुरक्षा घेरा बनाएको छ। सामान्य दिनमा खुला रहने बाटोमा आज ब्यारिकेड राखिएको छ।
सामाजिक सञ्जालमार्फत जेन जेड पुस्ताका युवाहरूले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, आरजु राणा देउवा, माधवकुमार नेपाल र महेश बस्नेतलगायतका नेतामाथि कारबाहीको माग गर्दै अभियान चलाइरहेका छन्।
उनीहरूको दबाबपछि प्रधानमन्त्री सुशीला कार्कीले गए राति अबेरसम्म गृहमन्त्री, गृह सचिव र सुरक्षा निकायका प्रमुखहरूसँग आपत्कालीन बैठक गरेकी थिइन्। बैठकमा सुरक्षा स्थिति र सम्भावित प्रदर्शन नियन्त्रणका उपायबारे छलफल भएको बताइन्छ।
यसैबीच, मङ्गलवार बिहान जेन जे समूहका प्रतिनिधिहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्त प्रेमकुमार राईसहित सम्पूर्ण आयुक्तहरूको राजीनामा माग गर्दै औपचारिक निवेदन दर्ता गराएका छन्।