चितवन, असोज ९ : रात परे पनि तुइन खोलाको पहिरो हटाउने क्रम जारी छ । चितवन जिल्ला प्रहरी कार्यालयले भीरबाट ढुंगा खस्ने समस्याका बाबाजुद बत्ती बालेर पहिरो पन्छाइरहेको जानकारी गराएको छ ।
भरतपुरको डिभिजन सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले अब बढीमा दुई घण्टाभित्र पहिरो सफा हुने र सकेसम्म आजै गाडी खुलाउने बताए । नारायणगढ-मुग्लिन सडकको मुग्लिन नजिक तुइन खोलामा मंगलबार साँझ ५ बजेतिर ठूलो पहिरो गएपछि हालसम्म सो सडक ठप्प भएको छ ।
अवरुद्ध यो खण्ड मुग्लिनदेखि साढे दुई किलो मिटर पर नारायणगढतर्फ पर्छ । शुुक्ररबार देखि नै पहिरोले थुनिएका गाडी राम्रोसँग पार हुन नपाउँदै मंगलबार फेरि ठूलो पहिरो खसेर बाटो थुनिएको हो ।
राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरालाई पूर्व पश्चिम महेन्द्र राजमार्गसँग जोड्ने मुख्य सडक भएका कारण यो खण्ड हुँदै दिनमै १० हजारभन्दा बढी गाडी ओहोर-दोहोर गर्छन् । दसैंमा काठमाडौं छाड्नेहरूको चाप रहेका बेला लामो समय बाटो बन्द हुँदा धेरैलाई सास्ती भएको छ ।