सिन्धुलीमाढी, असोज २० : पूर्वी नेपाललाई छोटो दूरीमा सङ्घीय राजधानीसँग जोड्ने जापान सरकारको अनुदान सहयोगमा निर्माण भएको बीपी राजमार्गको नेपालथोक-भकुण्डेबेंसी सडकखण्ड एक वर्षपछि फेरि उस्तै क्षतिग्रस्त बन्न पुगेको छ ।
दुई दिनअघि अविरल वर्षासँगै रोसीखोलामा आएको बाढीले उक्त खण्डको करिब ३२ किलोमिटर लम्बाइ सडकमध्ये करिब चार किलोमिटर अस्थायी डाइभर्सन सडक पूर्ण रुपमा बगाई क्षतिग्रस्त बनाएको छ । गत वर्ष असोज ११ र १२ गतेको अविरल वर्षापछि रोसीखोलामा आएको बाढीले नेपालथोक–भकुण्डे खण्ड सडकको एक दर्जनभन्दा बढी ठाउँमा सडक बगाई क्षतिग्रस्त बनाएपछि अस्थायी डाइभर्सन बनाई यातायात सञ्चालन गरिएको थियो ।
उक्त खण्डमा अहिले नेपालथोक, बालुवा, माम्तीखोला, डालाबेसी पिप्ले, बोक्सीकुना, चौकीडाँडालगायत एक दर्जनभन्दा बढी ठाउँमा अस्थायी डाइभर्सन सडक बगाई क्षतविक्षत बनाएको स्थानीयले बताएका छन् । उनीहरुका अनुसार क्षतिग्रस्त करिब चार किलोमिटर सडकमध्ये पाँचसय मिटर सिन्धुली जिल्लातर्फको र बाँकी काभ्रे जिल्लातर्फको सडक क्षति भएको बताइएको छ ।
रोसीखोलाको बाढीले गत वर्ष उक्त खण्ड सडकको जहाँ, जहाँ भत्काएरक्षतिग्रस्त बनाएको थियो, अहिले त्यही ठाउँमा निर्माण गरिएको अस्थायी डाइभर्सन सडक पूर्ण रुपमा बगाई क्षतिग्रस्त बनाएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ । प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले नेपालथोक–भकुण्डे खण्ड अन्तर्गत नेपालथोकदेखि अगाडि सिन्धुली जिल्लातर्फ तीन ठाँउमा गरी करिब पाँच सय मिटरभन्दा बढी सडकको अस्थायी डाइभर्सन सडक पूर्ण रुपमा रोसीखोलाको बाढीले बगाएको जानकारी दिनुभयो।
उहाँले भन्नुभयो, ‘स्थालगत निरिक्षणका क्रममा सिन्धुली जिल्लातर्फ नेपालथोकदेखि काभ्रे जिल्लाको सिमाना बर्षेखोलासम्म चार किलोमिटर सडक रोसीको बाढीबाट धेरै क्षति भएको पाइयो । नेपालथोकमा एक ठाँउ र बालुवामा दुई स्थानमा गरी तीन ठाउीमा अस्थायी डाइभर्सन सडक पूर्ण रुपमा बगाएको छ ।’ सिन्धुली जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुले आइतबार बाढीपहिरोबाट क्षतिग्रस्त उक्त सडकको स्थलगत निरीक्षण गर्नुभएको थियो ।

सडक क्षतिग्रस्त बनेसँगै नेपालथोक–भकुण्डेबेंसी खण्डमा यातायात सञ्चालन पूर्ण रुपमा बन्द भएको छ । क्षतिग्रस्त सडकमा तत्काल एक हप्ताको लागि यातायात सञ्चालनको सम्भावना नदेखिएको पनि प्रमुख जिल्ला अधिकारी भुसालले सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘नेपाल सरकारले पुनर्निर्माणलाई प्राथमिकता दिने भनेको छ । बस्तीहरु खुलाउने, सडकहरु खुलाउने भनेको छ । सरकारको प्राथमिकता भयो भने चाँडै यातायात खुलाउन सकिने देखिन्छ ।’
सिन्धुली क्षेत्र नं. २ का निवर्तमान सङ्घीय सांसद लेखनाथ दाहालले सबै निकायले आ–आफ्नो ठाउँबाट तत्कालै आफूले गर्नुपर्ने काम गरेको खण्डमा एक सातामा नै क्षतिग्रस्त स्थानमा अस्थायी डाइभर्सन निर्माण गरी बीपी राजमार्गमा यातायात सुचारु गर्न सकिने बताउनुहुन्छ । रोसी खोलामा पानीको सतह घट्ने बित्तिकै सडक विभागमार्फत अस्थायी डाइभर्सन सडक निर्माण सुरु गर्ने गरी समन्वय गर्ने काम भइहेको उहाँले बताउनुभयो ।
गत वर्षको बाढी पहिरोपछि नदी नियन्त्रण लगायतका गर्नुपर्ने काम नगरिँदा बिपी राजमार्गमा यो वर्ष पनि त्यही प्रकृतिको क्षति व्यहोर्नुपरेको उहाँको भनाइ छ । अब बिपी राजमार्गलाई दिगोपना दिन सडक निर्माण र नदी नियन्त्रणको काम सँगसँगै लैजानुपर्ने उहाँको सुझाव छ । बिपी राजमार्गको कुल १६० किलो मिटर लम्बाइमध्ये नेपालथोक–भकुण्डेबेंसी खण्ड बाहेकको सडकमा यातायात सुचारु भइरहेको छ ।
– बाबुराम देवकोटा
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










