10/07/2025, 15:07:52
मङ्गलबार, असोज २१, २०८२

बाढीले सडक बगाउँदा हुलाकी राजमार्गको आवागमन ठप्प


सर्लाही । सर्लाहीको कौडेना गाउँपालिका–३ पर्साटोलाको पश्चिमतर्फ लखन्देही खोलाको बाढी बगाउँदा हुलाकी राजमार्ग अवरुद्ध भएको छ । शनिबार राति आएको बाढीले करिब १५० मिटर सडक बगाएपछि पूर्व–पश्चिम हुलाकी राजमार्गको आवागमन ठप्प बनेको हो ।

सडक अवरुद्ध भएपछि  बिहानदेखि स्थानीय युवाहरूले बाँस र पटाको अस्थायी पुल बनाएर मोटरसाइकल, साइकल र पैदल यात्रु वारपार गराउने व्यवस्था मिलाएका छन् । सो पुल प्रयोग गर्नका लागि उनीहरूले मोटरसाइकलका लागि १०० रुपैयाँ, साइकलका लागि २० रुपैयाँ र पैदल यात्रुबाट १० रुपैयाँ शुल्क लिने गरेको स्थानीयले बताएका छन् ।

गोडैता, बलरा, विष्णु, धनकौल र रामनगर गाउँपालिकाका बासिन्दाहरूका लागि उक्त हुलाकी राजमार्ग मलंगवा सदरमुकाम आउजाउ गर्ने मुख्य बाटो हो । सडक बगाएपछि सर्वसाधारणहरू आवतजावतमा समस्या झेल्न बाध्य भएका छन् ।

लखन्देही खोलामा अझैसम्म पक्की पुल निर्माण नहुँदा प्रत्येक वर्षायाममा यस्तै समस्या दोहोरिने गरेको छ । स्थानीयवासीहरूले सरकारले तत्काल स्थायी पुल निर्माण र क्षतिग्रस्त सडक मर्मतका लागि पहल गर्न माग गरेका छन् ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..