09/24/2025, 22:32:32
बुधबार, असोज ०८, २०८२

स्वास्थ्य बीमा कार्यक्रमः काभ्रेमा आठ केन्द्रबाट प्रथम सेवा


काभ्रेपलाञ्चोक, असोज  ८ गते ।  स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–६ दुलालथोकस्थित प्राथमिक स्वास्थ्य केन्द्र्ले स्वास्थ्य बीमा अन्तर्गत प्रथम सेवा सुरु गरेको छ । सो बिन्दुबाट सेवा सुरु गरेपछि जिल्लामा बीमाअन्तर्गत उपचार गर्ने सरकारी स्वास्थ्य संस्थाको सङ्ख्या आठ पुगेको छ ।

उक्त केन्द्रले आजदेखि स्वास्थ्य बीमाको प्रथम सेवा प्रदान गरेको केन्द्र प्रमुख कोपिला कार्कीले बताउनुभयो । उहाँकाअनुसार उक्त केन्द्रलाई आधारभूत अस्पतालका रूपमा व्यवस्थापन गर्न तत्कालै आवश्यक जनशक्ति तथा भौतिक संरचनासमेत निर्माण गर्न लागिएको छ । जनशक्तिको अभाव देखाउँदै सेवा सुरु नगरेको पाँचखाल नगरले आवश्यक व्यवस्थापन गरी आजदेखि औपचारिक रूपमा नियमित सेवा सुरु गरेको जनाएको हो ।

यसअघि साउन अन्तिमसाता बीमा बोर्डसँग सम्झौता गरी जिल्लाको सबैभन्दा पुरानो बनेपा नगरपालिकाद्वारा सञ्चालित बनेपा आधारभूत अस्पताल र मण्डनदेउपुर नगरले सञ्चालनमा ल्याएको आधारभूत अस्पताल स्वास्थ्य बीमा बोर्डमा आबद्ध भई गत भदौदेखि सेवा सुरु गरेका थिए । त्यसअघि सुन्थान, खोपासी, पाँचखाल र धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्र तथा मेथिनकोट प्रादेशिक अस्पतालले स्वीकृति पाइसकेका थिए ।

धुलिखेल नगरले भने आफ्नो स्वास्थ्य केन्द्र भवनको सेवालाई गत साउन २६ देखि धुलिखेल अस्पताल परिसरबाट सेवा सुरु गरेको छ । यसअघि उक्त केन्द्रले भौतिक पूर्वाधार तथा जनशक्ति अभावको कारण देखाउँदै स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दु सेवा दिन आलटाल गरिरहेको थियो । नगरले धुलिखेल अस्पतालमा बीमा सेवा लिन आउनेलाई सजिलो होस् भनेर धुलिखेल अस्पताल परिसरबाटै चिकित्सक, नर्स, औषधिसहित ‘रिफरल’ सेवा सुरु गरिएको जनाएको छ ।

गत साउन १ देखि सरकारले सरकारी स्वास्थ्य संस्था नै स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दु हुने नियम लागू गरेको थियो । विसं २०७६ मङ्सिर १ गतेदेखि प्रथम सेवा बिन्दुको रूपमा सूचीकृत मेथिनकोट अस्पताल, प्रास्वाके धुलिखेल, सुन्थान, खोपासी र पाँचखालमध्ये सरकारको नियम लागू हुँदाका बखत तीन संस्था मेथिनकोट अस्पताल र प्रास्वाके सुन्थान र खोपासीले मात्रै सेवा दिँदै आएका थिए ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..