काठमाडौँ, असोज २१ : दसैंलगत्तै खुलेको सुन बजारमा नयाँ–नयाँ कीर्तिमान कायम भएको छ । दसैंको बिदा हुनुअघि असोज १२ मा नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य प्रतितोला २ लाख २३ हजार २ सय रुपैयाँ तोकेको थियो ।
त्यसपछि दसैंको बिदा भयो । असोज १८ सम्म संघले सुनको मूल्य निर्धारण गरेन । दसैंलगत्तै असोज १९ मा गहना बजार खुल्दा मूल्यले आकाश छोएको छ । सुनको मूल्य एकै दिन ७ हजार ४ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ३० हजार ६ सय रुपैयाँ कायम भयो ।
दोस्रो दिन अर्थात् असोज २० मा पनि सुनको मूल्य बढ्ने क्रम जारी रह्यो । महासंघले आइतबारको तुलनामा सोमबार प्रतितोला २५ सय रुपैयाँ बढाएर २ लाख ३३ हजार १ सय रुपैयाँ मूल्य तोकेको छ । यो मूल्य पनि अहिलेसम्मकै कीर्तिमानी हो ।

‘गहना बजार पूरै अस्थिर देखियो । अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावले नेपाली सुन बजार डामाडोल बनेको छ । अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्यवृद्धिले प्रत्यक्ष असर पारेको छ,’ गहनाविज्ञ तेजरत्न शाक्यले भने, ‘दसैंमा सुन बिक्री भएन । तिहार नजिकै आइसकेको छ । तर अस्वाभाविक मूल्यवृद्धिले नेपालीले सुन किन्न सक्ने अवस्था रहेन ।’
असोज १२ मा महासंघले सुनको मूल्य निर्धारण गर्दा अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको भाउ ३ हजार ७ सय ६० अमेरिकी डलर थियो । असोज १९ मा आइपुग्दा अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य बढेर ३ हजार ८ सय ८७ अमेरिकी डलर पुग्यो । एक सातामा प्रतिऔंस १ सय २७ अमेरिकी डलर बढ्दा त्यसको प्रत्यक्ष असर नेपाली बजारमा परेको उनले जनाए ।

असोज २० मा पनि अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्ने क्रम जारी रह्यो । सोमबार महासंघले मूल्य निर्धारण गर्दा अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस ३ हजार ९ सय ३१ अमेरिकी डलर थियो । नेपाली बजारमा प्रतितोला २ लाख ३३ हजार १ सय रुपैयाँ कायम गरियो । महासंघले अन्तर्राष्ट्रिय बजारलाई ७५ र भारतीय बजारलाई २५ प्रतिशत आधार मानेर मूल्य निर्धारण गर्छ ।
अन्तर्राष्ट्रिय बजार मूल्य, डलरको विनिमय दर, भन्सार दर र १ प्रतिशत मुनाफा (बैंकलाई ५० प्रतिशत र व्यवसायीलाई ५० प्रतिशत) गरी बजार मूल्य निर्धारण गरिन्छ । ‘अमेरिकी डलरको तुलनामा आईसी पनि कमजोर बनेको छ । त्यसले पनि मूल्य बढाइदिएको छ,’ शाक्यले भने, ‘अन्तर्राष्ट्रिय बजारको ट्रेन्ड हेर्दा मूल्य अझै बढ्ने देखिन्छ । सुनको भाउ प्रतिऔंस ४ हजार अमेरिकी डलर नजिकै पुगेको छ, ४ हजार डलर नाघे नेपाली बजारमा प्रतितोला साढे २ लाखसम्म पर्न सक्छ ।’

वर्ल्ड गोल्ड काउन्सिलले सुनको भाउ प्रतिऔंस ४ हजार डलरसम्म पुग्ने प्रक्षेपण गरेको छ । डिसेम्बरसम्म भाउ बढेर ४ हजार डलर पुग्ने उसको अनुमान छ । त्यही कारण पनि मूल्य बढेको देखिन्छ । अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ बैंक) को नीतिका कारण पनि सुनमा लगानी गर्ने क्रम बढेको छ । बैंकले ब्याजदर रेट घटाउँदै ४ देखि ४.२५ बनाएको छ । ‘अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ब्याजदर अझै घटाउन दबाब दिएको देखिन्छ । तर केन्द्रीय बैंकले सहमति जनाएको छैन,’ गहनाविज्ञ शाक्यले भने, ‘डलर पनि कमजोर छ । लगानीकर्ताले डलरभन्दा सुनमा लगानी बढाएकै कारण मूल्य बढ्यो ।’
केन्द्रीय बैंकको ब्याजदर कटौतीका कारण सुनको मूल्य बढेको महासंघका वरिष्ठ उपाध्यक्ष दियश शाक्यले जनाए । ‘यही सेप्टेम्बरमा अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले अनुमान गरिएबमोजिम ०.२५ प्रतिशतले ब्याजदर घटाएर ४ देखि ४.२५ प्रतिशत कायम गरेको छ । अमेरिकाको मुद्रास्फीति २.९० प्रतिशत वृद्धि भई बेरोजगार दर बढेपछि यस चुनौतीको सामना गर्न ब्याजदर घटाइएको हो,’ उनले भने, ‘विज्ञहरूले निकट भविष्यमै फेरि पनि थप ब्याजदर कम हुने अनुमान गरेका छन् ।’

अमेरिकाबाहेक क्यानडा, बेलायत, युरोपियन युनियन, अस्ट्रेलिया, मेक्सिको, रुसलगायत केन्द्रीय बैंकले पनि ब्याजदर घटाएका छन् । घट्दो ब्याजदरका कारण उच्च प्रतिफलका लागि लगानीकर्ता सुनमा आकर्षित भएको दियशको भनाइ छ ।
सुनको मूल्य बढ्नुमा अर्को कारण भूराजनीतिक पनि रहेको उनले जनाए । रुस–युक्रेन अनि इजरायल र प्यालेस्टाइनबीचको युद्धमा लेबनान, यमन, इरान थप भई युद्ध लम्बिने संकेत देखिनुले पनि असुरक्षा बढाएको उनले बताए । ‘त्यही कारण पनि लगानी सुनमा भयो । माग बढ्दा महँगो भयो ।’

वर्ल्ड गोल्ड काउन्सिलका अनुसार सन् २०२४ मा विश्वका केन्द्रीय बैंकहरूले १ हजार ४५ टन सुन किनेका छन् । केही वर्षदेखि केन्द्रीय बैंकहरूले प्रत्येक वर्ष १ हजार टन हाराहारी सुन खरिद गर्दै मौज्दात गर्ने गरेका छन् । यसले पनि सुनको माग बढाउन र भाउ बढ्न सघाएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!














