११ असोज, काठमाडौँ — भिजिट भिसामार्फत संयुक्त अरब इमिरेट्स (यूएई) पुगेका नेपालीलाई फर्कन दबाब परेको छ । यूएईले नेपालीको लागि श्रम भिसासमेत जारी नगरेपछि रोजगारीको खोजीको लागि यूएई पुगेका नेपालीलाई फर्कन दबाब परेको हो ।
भदौ २४ गतेको हिंसात्मक प्रदर्शन र जेलबाट नेपाली भागेपछि यूएईले नेपालीको लागि भिजिट र श्रम भिसा दिन बन्द गरेको हो । उसले भिसा कहिलेबाट सहज रुपमा खुला गर्छ भन्ने सुनिश्चित नहुँदा यूएईमा कामको खोजीमा रहेका नेपालीलाई फर्कन दबाब परेको हो ।
अध्यागमन विभागका अनुसार पछिल्लो जुलाईदेखि सेप्टेम्बर २५ सम्म १२ हजार ७ सय ९७ जना युएई पुगेका छन् । जसमा ४ हजार ४ सय २० जना महिला रहेका छन् । ‘उनीहरु सबै रोजगारीकै खोजीको लागि मात्रै गएको हो भन्ने होइन । तर, अधिकांशले ९० दिनको अवधि जारी भएको भिसा लिएर गएका छन् । जसले ९० दिनको लागि भिसा लिएर गएका छन् । उनीहरु रोजगारीको खोजीमा गएका हुन्,’ अध्यागमनका एक अधिकारीले भने, ‘घुम्न मात्रै जानेहरु एक महिनाको भिसा लिएर जान्छन् । कामको खोजीको लागि जानेहरुले तीन महिनाको भिसा लिएर गएको भेटिन्छ ।’
यूएईका लागि तत्कालीन श्रम काउन्सेलर दिनबन्धु सुवेदीका अनुसार भाषा र सीपमा दक्ष भएकाको लागि यूएईको श्रम बजार आकर्षक छ । ‘नेपालमा म्यानपावर कम्पनीले जाने अधिकांश मागहरु अदक्ष र अर्धदक्ष श्रमिकको लागि हुन्छ । दक्ष, उच्च दक्ष र प्रोफेसनल पदलाई लक्षित गरेर लैजाने माग कम हुन्छ । त्यो तहको काम खोज्ने जनशक्तिहरु सिधै यूएईको श्रम बजारमा गइरहेको छ । कतिपय कम्पनीले प्रत्यक्ष अन्तर्वार्ता पनि गरेर राख्ने अभ्यास छ,’ उनले भने, ‘तर, कतिपय अदक्ष र अर्धदक्षका श्रमिकलाई प्रलोभनमा पारी लैजाने गलत अभ्यास पनि छ । त्यसमा उनीहरु ठगी भइरहेका छन् ।’
यूएईमा भिजिट भिसामा गई रोजगारी भिसामा परिवर्तन गर्न पाइने नियम छ । अब नेपालीको लागि रोजगारी भिसा पनि जारी गर्न बन्द गरेकोले भिजिट भिसामा रहेकालाई फर्कनुपर्ने बाध्यकारी भएको छ । यूएईले अझै नेपालीको लागि भिसा बन्द गरेको औपचारिक जानकारी दूतावासलाई दिएको छैन । उसले सार्वजनिक रुपमा सूचना पनि जारी गरेको छैन । यसअघि बंगलादेश र पाकिस्तानका नागरिकका लागि भिसा बन्द गर्दा पनि यूएईले सार्वजनिक सूचना जारी गरेको थिएन । यूएईले बंगलादेशलाई २०२० को डिसेम्बर र पाकिस्तानलाई २०२४ को मध्यदेखि भिसा दिन छाडेको छ । जुन अहिलेसम्म कायम छ ।
आबुधावीस्थित नेपाली दूतावासका एक अधिकारीले भने,‘नेपाललाई भिसा बन्द गरेको हामीसँग अनौपचारिक सूचना छ । यो लामो समयसम्म जाँदैन भन्ने छ । कहिले सहज रुपमा खुल्छ भनेर अहिले नै यकिनका साथ भन्न सकिने अवस्था छैन ।’
यूएईमा रहेको ग्रिनलाईन ट्राभल एण्ड टुरिजम एलएलसीका प्रमुख कार्यकारी निर्देशक ठाकुर ढुंगानाले भिसाको अवधि समाप्त हुनुअघि नै यूएई छाड्न उपयुक्त हुने बताउँछन् । यो ट्राभलसँग भिसाका लागि आवेदन दिन पाउने कानुनी अधिकार छ । ‘यूएईले नेपाली राहदानी बाहकको सबै प्रकारको भिसाको आवेदन नै लिइरहेको छैन,’ उनले भने, ‘भिसाको अवधि समाप्त हुनुअघि नै नेपाल फर्कन हामी सुझाव दिन्छौं । जसले गर्दा भोलि कानुनी फन्दा झेल्न नपरोस् ।’
यूएईमा भिजिट भिसाको म्याद ग्रुजेपछि थप बसेमा (ओभरस्टे) दैनिक रुपमा जरिवाना लाग्नुको साथै जेलसम्म जानुपर्ने हुन्छ । ओभरस्टे भएमा हरेक दिन ५० दिरामको दरले बढ्दै जान्छ । प्रहरीबाट पक्राउ परेमा डिपोर्ट हुनुको साथै फेरि यूएई आउन प्रतिबन्ध लाग्न सक्छ । नेपाली राजदूतावासले यूएईमा रहेका नेपालीहरूलाई त्यहाँको नियम, कानुन, मूल्यमान्यता र अनुशासन पूर्ण रूपमा पालना गर्न भन्दै दूतावासले सूचना जारी गरिसकेको छ ।
– होम कार्की