३० भदौ, काठमाडौँ : नेपालले यू–१७ साफ च्याम्पियनसिपको उद्घाटन खेलमा सोमबार दस खेलाडीमा सीमित श्रीलंकालाई २–० ले हराएको छ ।
कोलम्बोको रेस कोर्स मैदानमा भएको खेलमा नेपालका लागि समीर कुमारले ५२ औं मिनेटमा पहिलो गोल गरे । दोस्रो हाफको इन्जुरी समयमा उनैले दोस्रो गोल थपे ।
प्रतिश थापा मगरको लामो क्रसलाई अनमार्क रहेका समीरले हेड गर्दै गोल गरेका हुन् । पहिलो हाफको अन्त्यतिर समीर नै दुई अवसरमा निश्चित गोलको अवसरबाट चुकेका थिए । श्रीलंकाले २७ औं मिनेटमा दोहोरो पहेँलो कार्डमा मोहम्मद इमाफलाई गुमाएको थियो ।
यो जितपछि नेपालको समूह ‘ए’ मा तीन अंक भएको छ र सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनेको छ । पराजित श्रीलंका शून्य अंकमा रह्यो । अब समूहको अर्को खेलमा बिहीबार बंगलादेशको सामना गर्नेछ । समूहमा तीन टिम मात्रै रहेका छन् ।