काठमाडौँ, भदौ २९ : काठमाडौँको चुच्चेपाटीस्थित भाटभटेनी सुपर मार्केटमा ६ जनाको कंकाल फेला परेको छ ।
जलेको अवस्थामा भेटिएका ती शव मानव कंकालको रूपमा मात्र रहेकाले पहिचान गर्न कठिन भएको र भित्रैको कर्मचारी हुन् कि बाहिरबाट गएका हुन्, यसै भन्न सकिने अवस्था नरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी विश्व अधिकारीले जानकारी दिए। डिएनए परीक्षणपछि मात्र शवको पहिचान हुने उनको भनाई छ ।
जेन जेड आन्दोलनका क्रममा भाटभटेनीमा आगजनी भएको थियो। भदौ २३ गतेको आन्दोलनमा प्रहरीको गोली लागेर काठमाडौँसहित विभिन्न जिल्लामा २१ जनाको मृत्यु भएसँगै आन्दोलन थप उग्र बन्दै गएको र भोलिपल्ट २४ गते देशभर तोडफोड तथा आगजनी भएका थिए। जसका कारण ठूलो जनधनको क्षति भएको छ ।