काठमाडौँ, भदौ २८ : नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले अन्तर्राष्ट्रिय पर्यटक, पर्यटन व्यवसायी तथा सरोकारवालाहरूलाई नेपाल स्थिरतातर्फ अघि बढिरहेको र पर्यटन सुरक्षाको वातावरण बनेको आश्वासन दिएको छ।
शनिबार विज्ञप्तिमार्फत नाट्टाले हालै जेन-जी युवाद्वारा नेतृत्व गरिएका प्रदर्शन र राजनीतिक परिवर्तनपछि नेपालको पहिलो महिला प्रधानमन्त्रीको नियुक्तिले देशमा नयाँ ऊर्जा भरेको जनाउदै पर्यटकलाई स्वागत गरेको छ ।
पर्यटन उद्योगको छाता संगठन नाट्टाले भनेको छ, ‘नेपालमा पर्यटक सुरक्षित छन्। देशभर शान्ति स्थापना भइसकेको छ र दैनिकी वा पर्यटन गतिविधिमा अवरोध हुने कुनै आशंका छैन।त्यस्तै विमानस्थल र यातायात सञ्चालनमा छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित आन्तरिक विमानस्थलहरू सामान्य तालिकामा फर्किएका छन्।’
स्थलगत यातायात र पर्यटन सेवाहरू पनि नियमित रूपमा चलिरहेकाले अवरोध नभएको नाट्टाका अध्यक्ष कुमारमणि थपलियाले जनाए । ‘पर्यटन व्यवसाय खुला छन्। होटल, टुर अपरेटर, ट्रेकिङ कम्पनी तथा सांस्कृतिक स्थलहरूले सबै सुरक्षात्मक मापदण्ड अपनाएर पाहुनालाई स्वागत गर्न तयारी गरिसकेका छन्,’ उनले विज्ञप्तिमा भनेका छन । नाट्टाका अनुसार, नेपालले सधैं चुनौतीका क्षणमा दृढता देखाएको छ। अहिले विरोध प्रदर्शन अन्त्य भई शान्तिपूर्ण संक्रमण सुरु भएकाले विश्वलाई नेपाल सुरक्षित, स्वागतयोग्य र पर्यटनका लागि खुला रहेको सन्देश दिन नै प्राथमिकता रहेको छ।
सोमबारदेखि बुधबारसम्मको अवरोधमा अड्किएका यात्रुहरूलाई नाट्टा, नेपाल पर्यटन बोर्ड, विमान कम्पनी, दूतावास, होटल तथा पर्यटन व्यवसायीहरूको सहकार्यमा गन्तव्यमा पठाईएको थियो । नेपाल आउन लागेका पर्यटकलाई नाट्टाले आफ्नो उडान, होटल बुकिङ र भ्रमण व्यवस्था पुनःजाच गर्न भनेको छ ।
‘आधिकारिक स्थानीय टुर अपरेटर, होटल वा दूतावासको सल्लाहमार्फत अद्यावधिक सूचनामा रहनुहोला,’ सुझावमा भनिएको छ ।
शान्ति पुनःस्थापित भइसकेको र आत्मविश्वास बढ्दै गएको यस घडीमा नेपालले फेरि विश्वलाई आफ्नो ढोका फराकिलो गरी खोलिदिएको नाट्टा को भनाइ छ। ‘हिमाल, संस्कृति र आतिथ्यको अद्वितीय सौन्दर्यसहित नेपाल फेरि पर्यटकलाई स्वागत गर्न तयार छ,’ नाट्टाले अन्तिममा जोड दिँदै भनेको छ, ‘नेपाल खुला छ, सुरक्षित छ, र फेरि एकपटक विश्वलाई स्वागत गर्न तयार छ।’