सर्लाही, भदौ १ : पटक पटक स्थानीय आन्दोलित हुँदा पनि सर्लाही सदरमुकाम मलङ्गवामा पूर्वपश्चिम हुलाकी सडकको निर्माण अझै अलपत्र छ ।
एक महिनाअघि स्थानीय युवा र महिलाले धुलाम्मे अवस्थामा रहेको हुलाकी सडक कालोपत्रे गर्न माग गर्दै चक्काजाम गरेका थिए । त्यसबेला निर्माण व्यवसायीले तत्काल कालोपत्रेको काम अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए । ठेकेदारले यो पटक पनि बदमासी गरेर कामै नगर्दा सडकको धुलोले बस्न नसक्ने अवस्था सिर्जना भएको स्थानीय नागेन्द्र चौधरीले गुनासो गर्नुभयो । मलङ्गवा बजार क्षेत्रको सडक कालोपत्रे गर्ने जिम्मेवारी हिमडुङ एन्ड ठोकर/हिरा एन्ड नमिता जेभीले पाएको छ ।
निर्माण व्यवसायीलाई हुलाकी राजमार्ग योजना कार्यालय जनकपुरले बारम्बार पत्र काटेर सडक कालोपत्रेको काम सक्न दबाब दिँदै आएको छ । स्थानीयले समेत दर्जनौँ पटक चक्काजाम र टायर बालेर प्रदर्शन गरिसकेका छन् ।
स्थानीय प्रदर्शनमा उत्रिएपछि निर्माण व्यवसायीले यो मितिमा काम सक्छु भनेर थामथुम पार्ने गरेका छन् । त्यसरी धेरै पटक मिति गुज्रिसकेको तर काम नभएको अर्का स्थानीय शिवचन्द्र चौधरीले बताउनुभयो ।
सडक कार्यालयले पत्र काट्ने, जिल्ला समन्वय समितिका सभापति, प्रमुख जिल्ला अधिकारीलगायतले बारम्बार ताकिता गर्दा पनि सडक निर्माण नगरेर ठेकेदारले स्थानीयको स्वास्थ्यमाथि गम्भीर खेलबाड गरिरहेको चौधरीले गुनासो गर्नुभयो । सर्लाहीमा मलङ्गवाको मुख्य बजार क्षेत्र, मुसैलीगाउँबाहेक अन्यत्र पूर्वपश्चिम हुलाकी सडक कालोपत्रेको काम भइसकेको छ । सडक कालोपत्रेका लागि ठेकेदारले बारम्बार म्याद थपाएर काम नगर्ने प्रवृत्ति दोहोरिँदै आएको छ ।
हुलाकी राजमार्ग योजना कार्यालय जनकपुरका इन्जिनियर रन्जित यादवले ठेकेदारले निकै सुस्त गतिमा काम गरेकाले कामको गति बढाएर कालोपत्रेको काम सक्न ताकिता जारी राखेको बताउनुभयो ।