१७ साउन, काठमाडौँ : शनिबार बाढी र पहिरोका कारण देशभरका विभिन्न स्थानमा राजमार्गहरू अवरुद्ध भएका छन् । नेपाल प्रहरीले आज बिहान १० बजे सार्वजनिक गरेको विवरण अनुसार देशका ५ स्थानमा सडक पूर्णरूपमा अवरुद्ध भएका छन् । साथै सात स्थानमा एकतर्फी रूपमा मात्र सवारी साधन सञ्चालनमा रहेका छन् ।
प्रहरीका अनुसार सङ्खुवासभाको भोटखोला गाउँपालिका–८ स्थित कोशी राजमार्ग पूर्णरूपमा अवरुद्ध छ । यस्तै रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ मा नेपाल र चीन नाका जोड्ने पुल, गोसाईंकुण्ड गाउँपालिका–२, ३ मा पर्ने पासाङल्हामु सडक खण्ड र उत्तरगया गाउँपालिका–५, गल्छी–त्रिशूलीदेखि मैलुङ–स्याफ्रु पूर्णरूपमा बन्द भएको छ ।
त्यस्तै, रुकुम पश्चिममा बाढीका कारण आठबिसकोट नगरपालिका-६ स्थित जाजरकोट–डोल्पा भेरी काेरिडोर सडक खण्ड पनि पूर्णरूपमा अवरुद्ध भएको छ ।