१७ साउन, काठमाडौं : पछिल्लो १० वर्षमा सिंहदरबार वैद्यखाना विकास समिति इतिहासकै खराब मोडमा गुज्रियो । एक करोड रुपियाँको टेन्डर गर्दा ठेकेदारले २० लाख रुपियाँभन्दा कमको जडीबुटी आपूर्ति गर्ने गरेको निकट इतिहास थियो ।
व्यवस्थापकीय पक्षमा गम्भीर लापर्बाही हुनु र कार्यकारी निर्देशक पटक पटक परिवर्तन गर्दा सिंहदरबार वैद्यखाना ‘बदनाम’ थियो तर आर्थिक वर्ष २०८१/८२ मा सिंहदरबार वैद्यखाना कोमाबाट बौरिएर आफ्नो गतिमा फर्किने प्रयासमा लागेको देखिएको छ । सिंहदरबार वैद्यखाना विकास समितिले चालु आवमा बजेट वृद्धि, समयमै जडीबुटी लिने र व्यवस्थापकीय पक्षमा आमूल परिवर्तन गरेर आयुर्वेदिक औषधी उत्पादन दोब्बर बनाउने लक्ष्य राखेको छ ।
सिंहदरबार वैद्यखानाका कार्यकारी निर्देशक डा. प्रदीप केसीका अनुसार गत आर्थिक वर्षमा अविपत्तिकर चूर्ण, अश्वगन्धा चूर्ण, पञ्चसकार चूर्ण, यष्ठमधू चूर्ण, शतावरी ग्रानुल्स, सन्दीपन चूर्ण, सितोपलादि चूर्ण, हरिद्रा खण्ड, हिग्वाष्टक चूर्ण, त्रिफला चूर्ण सहित ५२ प्रकारका आयुर्वेदिक औषधी उत्पादन गरिएको छ । उहाँले गत आवकै लक्ष्य अनुसार गोक्षुरादी गुग्गुलु, लाक्षा गुग्गुलु, गन्धक रसायन, चन्द्रोदय, प्रवाल पञ्चामृत, बृहतवातचिन्तामणि रस, वसन्तकुसुमाकर रस, मकरध्वज, रससिन्दुर र स्वर्ण वसन्त मालती रस उत्पादनकै क्रममा रहेको बताउनुभयो ।
डा. केसीले भन्नुभयो, “आव २०८१/८२ मै निर्धारित लक्ष्य अनुसार विपादीकान्त मलहम, शक्तिवर्धक योग, निम्वादी तेल, कफइन्ड, लिभकेयर, अशोकारिस्ट, अश्वगन्धारिस्ट, दशमुलारिस्ट, अर्जुनारिस्ट, अर्शकुठार रस, डाइबियर, श्वेतपर्पटी र टङ्कण भष्म चाँडै उत्पादन सुरु गरिने छ । हाम्रो लक्ष्य अनुसार काम गर्न केही प्राविधिक चुनौती छन् । तथापि हामी लक्ष्यप्रति दृढ छौँ ।”
स्वर्णिम इतिहास, अस्तव्यस्त वर्तमान
मल्लकालीन शासनमा तत्कालीन शासक प्रताप मल्लले १६ औँ शताब्दीमा हनुमानढोका दरबारमा स्थापना गर्नुभएको थियो । विसं १९०४ मा जङ्गबहादुर राणाले थापाथलीमा सारेको र १९९० मा थापाथलीमा आगलागीपश्चात् जुद्धशमशेरले सिंहदरबारमा सारेपछि सिंहदरबार वैद्यखाना नाम राखिएको इतिहास पाइन्छ ।
२०१६ सालदेखि जिल्ला औषधालयमा औषधी पठाउने व्यवस्था रहेको र २०५१ सालमा सिंहदरबार वैद्यखाना विकास समितिमा परिणत गरी २०५२ साउन ८ गतेदेखि समिति अन्तर्गत सञ्चालित छ । डा. केसीका अनुसार समितिको नेतृत्व र कार्यालय प्रमुख अस्थिर हुँदा पनि सिंहदरबार वैद्यखाना लथालिङ्ग भएको हो ।
कार्यकारी निर्देशक डा. केसीले सरकारी निकायको हकमा रहेको द्विविधा र दरबन्दीविहीन हुँदा, ज्ञान र सिपको पुस्तान्तरणको चर्को समस्या हुँदा, कुशल र दक्ष जनशक्तिको अभाव, तालिम र विषय विज्ञताको अभाव, भौतिक संरचना जीर्ण र भताभुङ्ग हुँदा लक्ष्य अनुसार काम गर्न नसकिएको स्वीकार गर्नुभयो । उहाँले कच्चा पदार्थको आपूर्ति नियमित गरिएको बताउँदै आयुर्वेदिक औषधीमा आत्मनिर्भर बन्ने गरी काम अघि बढाइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बर्सौं पुराना मेसिनरी औजार र उपकरण छन् । जीर्ण भवन र जिएमपी मापदण्डमा कमजोरी छन् । अनुसन्धान र विकास तथा प्रयोगशालाको स्तरोन्नति भएको छैन । समग्र रूपमा सुधार गरिएमा हामी राम्ररी काम गर्न सक्छौँ ।”
आधा मात्रै आम्दानी
सिंहदरबार वैद्यखानाको आम्दानीभन्दा खर्च अहिले पनि दुई गुणा बढी छ । आव २०८१/८२ मा दुई करोड ९० लाख ९४ हजार ५३९ रुपियाँ आम्दानी भएको छ । डा. केसीका अनुसार चार करोड ९५ लाख ९८ हजार ९२२ रुपियाँ खर्च भएको छ । उहाँले आव २०८०/८१ मा एक करोड ४८ लाख ४४ हजार ९०१ आम्दानी र पाँच करोड ५२ लाख ४४ हजार ६२५ रुपियाँ खर्च भएको बताउनुभयो । त्यसै गरी २०७९/८० मा एक करोड ३४ लाख ८३ हजार ९२६ रुपियाँ आम्दानी हुँदा खर्च तीन करोड ५१ लाख ८९ हजार २२४ रुपियाँ खर्च भएको छ ।