08/02/2025, 04:15:19

आज चारवटा संसदीय समितिको बैठक बस्दै


१६ साउन, काठमाडौं : संघीय संसद मातहतका विभिन्न चारवटा संसदीय समितिको बैठक आज बस्दैछ ।

आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ का सम्बन्धमा छलफल हुँदैछ । छलफलका लागि संघ तथा प्रदेशस्थित सरोकारवाला मन्त्रालय, नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, भूमि, वन तथा कानुन क्षेत्रका विज्ञ व्यक्तित्वहरूलाई बोलाइएको छ । यो समितिको बैठक दिउँसो १२:३० बजे समितिको आफ्नै कार्यकक्षमा बस्नेछ ।

यसैगरी शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘मिडिया काउन्सिल विधेयक, २०८०’ माथि दफावार छलफल गर्ने कार्यसूची छ । समितिको बैठक दिउँसो २:३० बजे समितिको कार्यकक्षमा नै बस्नेछ ।

यस्तै, दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा बैठकमा ‘जलस्रोत विधेयक, २०८१’ माथि दफावार छलफल गर्ने कार्यसूची छ ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा ‘ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवको आयोजनाहरूको कार्यान्वयन प्रगति अवस्था, समस्या, समस्या समाधानका लागि भएका प्रयास र समितिसँगको अपेक्षा’ मा छलफल गर्ने कार्यसूची छ । बैठक समितिको कार्यकक्षमा बिहान ११ बजे बोलाइएको छ ।