07/14/2025, 16:11:22

कृषकको सहारा बन्दै ‘जियोकृषि एप’


तानसेन (पाल्पा), ३० असारः पछिल्ला दिनमा सूचना प्रविधिको प्रयोग दिनानुदिन बढ्दो छ । स्मार्टफोनको प्रयोगका अतिरिक्त सामाजिक सञ्जाल चलाउने धेरै छन् । प्रविधिको सदुपयोग गरेर व्यावसायिक बन्ने किसानको सङ्ख्या पनि बढ्दो छ । यहाँका केही किसानहरू मोबाइलमा प्रविधिको प्रयोगबाट आत्मनिर्भर बन्नमा सहयोग पुगेको छ ।

रिब्दीकोट गाउँपालिका–२ का टिकाबहादुर राना तीनैमध्येका एक हुनुहुन्छ । उहाँ बजारमा तरकारीको भाउ, आफुले बिक्री गरेको तयारीको विवरण मोबाइलबाटै थाहा पाउनुहुन्छ । कुन समयमा कुन तरकारी लगाउने, मल, खाद र सिँचाइ कसरी गर्ने, मौसम कस्तो हुँदै छ भन्ने जानकारी उहाँको मोबाइलमै प्राप्त हुन्छ ।

उहाँलाई यी सबै जानकारी जियोकृषि नामक एप्सले उपलब्ध गराउँछ । उहाँले चार वटा टनेलमा टमाटर फलाउँदै आउनुभएको छ । उत्पादित टमाटर सहकारीमार्फत बिक्री गर्नुुहुन्छ । केही समय अघिसम्म विवरण कागजमा राख्दा हराउने, दररेट र तौल फरक पर्ने हुन्थ्यो । अहिले त्यस्तो समस्या छैन ।

रानाले भन्नुभयो, “हामीले तरकारी बिक्री गर्दा एउटा दररेट हुन्छ, पैसा लिने समयमा दररेट फरक भइदिन्थ्यो, कहिलेकाहीँ हामीले पनि विवरण बिर्सने भएकाले समस्या हुन्थ्यो तर अहिले त्यस्तो हुँदैन ।

रिब्दीकोट–२ कै तेजबहादुर रानाले मिलनसार सहकारीलाई ५० केजी टमाटर बिक्री गर्नुभयो । बिक्री गरेको केही क्षणमै खरिद गरेको विवरण मोवाइलमा आयो । अहिले ५० केजी टमाटर ५० रुपैयाँको दरले बिक्री भएपछि पाँच हजार रकम लिन सहकारीमा आउनुहोला भन्ने मोवाइलमा सन्देश आएपछि राना दङ्ग हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “पहिला गाउँघरमै ग्राहकको भाउमा तरकारी बेच्थेँ । जियोकृषि एप्स चलाउन थालेपछि मेरो जीवन शैली परिवर्तन भयो ।

उहाँहरु जस्ता यहाँका धेरै कृषकलाई सामाजिक उद्यमी महिला सहकारीको छाता सङ्गठन सेवा नेपाल र जियो कृषिको साझेदारीमा सञ्चालन गरिएको जियोकृषि सेवा मोबाइल एप्लिकेशनमार्फत सेवा लिइरहनु भएको छ । सङ्कलन गर्ने प्रतिनिधि, भुक्तानी दिने सहकारी र बिक्री गर्ने कृषक सबैलाई एकै साथ विवरण प्राप्त हुने र लामो समयसम्म अभिलेख सुरक्षित हुने भएकाले यो प्रविधिले कृषकहरुलाई सहज बनाएको छ ।

कृषकले जियो कृषि सेवामा आफ्नो उत्पादन अभिलेख राख्न सक्ने र सहकारीका प्रतिनिधिले उनीहरुको उत्पादन खरिद गर्न सक्ने हेफर इन्टरनेशनल नेपालका डिजिटल सहजकर्ता विष्णु घिमिरेले बताउनुभयो । ग्रामीण कृषकको पहुँचमा डिजिटल प्रविधि पु¥याएर उनीहरुलाई थप सशक्त गर्ने उद्देश्यले यो कार्यक्रम लागू गरिएको उहाँको भनाइ छ ।

हेफर ईन्टरनेशनलको सहयोगमा ग्रामिण आर्थिक विकास सङ्घ रेडामार्फत एलएएलभिसी परियोजना सञ्चालन भएको छ । परियोजनाले तानसेन, रिब्दीकोट, पूर्वखोला, रम्भा र निस्दी गाउँपालिकामा तरकारी उत्पादन र बजारिकरणमा काम गर्दै आएको छ । परियोजना क्षेत्र तथा अन्य क्षेत्रबाट समेत गरी मिलनसार सहकारीले दैनिक १० देखी १५ मेट्रिकटन तरकारी खरिद गरी बिक्री गर्दै आएको छ । “तरकारीको कारोबार कागजमा राख्दा अभिलेख नरहने र दररेट फरक पथ्र्याे”, सहकारीका अध्यक्ष कमला भण्डारीले भन्नुभयो, “एप्समार्फत डिजिटल अभिलेख राख्दा सबैलाई फाइदा पुगेको छ । पारदर्शी हुनुको साथै बजार व्यवस्थापन र योजना निर्माणको लागि समेत सहयोग पुगेको छ ।

हेफरका ईनोभेसन प्रमुख ताराप्रसाद पन्थीका अनुसार ७० बढी सहकारीका सदस्यलाई डिजिटल सेवामा पँहुच पु¥याउन जियोकृषि सेवामार्फत सहयोग गर्दै आएको छ ।