11/16/2025, 16:55:38
आइतबार, कार्तिक ३०, २०८२

तीन सय एघार जना कैदीबन्दीको निःशुल्क आँखा परीक्षण


सिद्धार्थनगर, कातिक ३० गते । कारागार कार्यालय रूपन्देही सिद्धार्थनगरमा निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरिएको छ । सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रूपन्देहीको आयोजना तथा श्रीकृष्ण नेत्रालय प्रा.लि.भैरहवाको सह–आयोजनामा एक दिने शिविर सञ्चालन गरिएको हो ।

सामाजिक उत्तरदायित्व अन्तर्गत कारागारमा रहनुभएका सम्पूर्ण कैदीबन्दीका लागि निःशुल्क आँखा शिविर (कार्यक्रम) गरिएको सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नेत्रप्रसाद आचार्यले बताउनुभयो ।

सङ्घको कार्यालय र कारागार कार्यालयसँगै सटेको र आमनसामने भएको हिसाबले पनि यहाँ सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू धेरै गरेको उहाँले बताउनुभयो । अध्यक्ष आचार्यले यसअघि मानव सेवा आश्रम, भीम अस्पताल लगायत धेरै ठाउँमा सामाजिक कार्यहरू गरेको बताउनुभयो ।

उहाँले चस्मा आवश्यक भएकालाई चस्मा पनि वितरण गरिएको जानकारी दिनुभयो । कारागारमा यस्ता खालका कार्यक्रम अन्य सङ्घ–संस्थाहरूलाई पनि गर्न उहाँले आग्रह गर्नुभयो।

शिविरमा ३ सय ११ जना कैदीबन्दीको निःशुल्क आँखा परीक्षण गरिएको आँखा जाँचमा संलग्न स्वास्थ्यकर्मीले जनाएका छन् । त्यस्तै १८ जनालाई चस्मा वितरण गरिएको छ । त्यसैगरी मोतियाविन्दु र आँखाको पर्दामा समस्या देखिएका १० जनालाई थप उपचारका लागि परामर्श दिइएको छ ।

कार्यक्रम संयोजकतथा सङ्घकी कार्यसमिति सदस्य मीना पन्थीले सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यक्रम गर्नु पर्छ भन्ने उद्देश्यले कारागारमा आँखा शिविर गरिएको बताउनुभयो ।

सङ्घका निवर्तमान अध्यक्ष ठाकुरकुमार श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष दिलिपकुमार कान्दु, महासचिव कृष्णप्रसाद घिमिरे, सल्लाहकार गोपाल भण्डारी, लुम्बिनी प्रेस क्लब, रूपन्देहीका अध्यक्ष कमल रायमाझी, श्रीकृष्ण नेत्रालयका सौरभ सरकार लगायतले आगामी दिनमा पनि शिविर सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

वि.सं. १९९० सालमा स्थापना भएको रूपन्देही कारागारमा हाल ६४३ जना कैदीबन्दी रहेको कारागार प्रशासक सुरेश भण्डारीले जानकारी दिनुभयो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..