11/14/2025, 12:06:55
शुक्रबार, कार्तिक २८, २०८२

लुम्बिनी प्रदेश प्रमुखद्वारा सातौं अधिवेशन आह्वान


गुल्मी, कात्तिक २८ : लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले मङ्सिर ८ गतेदेखि प्रदेश सभाको हिउँदे(सातौं) अधिवेशन आह्वान गर्नुभएको छ । प्रदेश मन्त्रिपरिषद्को कात्तिक २४ गतेको निर्णयका आधारमा प्रदेश सरकारका तर्फबाट मुख्यमन्त्री चेतनारायण आचार्यले अधिवेशन बोलाउन अनुरोध गरेपछि प्रदेश प्रमुख घर्तीले संविधानअनुसार अधिवेशन आह्वान गर्नुभएको हो ।

नेपालको संविधानको धारा १८३ को उपधारा (१) र धारा १६६ को उपधारा (२) बमोजिम मङ्सिर ८ गते सोमबार दिउँसो १ बजेबाट अधिवेशन सुरु हुनेगरी प्रदेश प्रमुख घर्तीले आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव धु्रवकुमार कुवँरले जानकारी दिनुभएको छ ।

हिउँदे अधिवेशनका लागि छलफल गर्न प्रदेशसभा सचिवालयमा जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालन सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुबिधासम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक दर्ता भइसकेका छन् ।

त्यसैगरी, दलित अधिकार सम्बन्धी विधेयक र बडघर सम्बन्धी विधेयक दर्ता गर्ने तयारी छ । त्यसैगरी विभिन्न समितिका प्रतिवेदनहरू र महालेखा परीक्षकको प्रतिवेदन पनि दर्ता भई हिउँदे अधिवेशनमा छलफलका लागि प्रस्तुत हुनेछन् । लुम्बिनीमा गत भदौ ३१ गते वर्षे अधिवेशन अन्त्य भएको थियो ।

– रमेश विश्वकर्मा