07/12/2025, 02:41:58

थाँती फाइलहरू असार मसान्तसम्म टुङ्ग्याउन उद्योगमन्त्री भण्डारीको निर्देशन


काठमाडौँ, २७ असार : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कम्पनी दर्ता, नवीकरण लगायतका कामका लागि केही समयदेखि थन्किएका (थाँती रहेका) फाइल असार मसान्तसम्म टुङ्ग्याउन निर्देशन दिनुभएको छ ।

कम्पनी रजिस्ट्रारको कार्यालयबारे अनियमितताका प्रश्न उठेसँगै मन्त्री भण्डारी सो निर्देशन दिनुभएको हो । कर्मचारीले सेवाग्राहीबाट आर्थिक लाभका आधारमा काम गरिरहेको र सफ्टवेयर डाउनसम्मको क्रियाकलाप भएको विषय सञ्चारमाध्यममा आएको थियो ।

त्यसैगरी, मन्त्री भण्डारीले कम्पनी रजिस्ट्रारको कार्यालयलाई प्रत्यक्ष निगरानीमा राख्न, त्यहाँ सञ्चालित अनलाइन प्रणाली र सिसीटिभीको प्रत्यक्ष अनुगमन गर्न सम्बन्धित महाशाखालाई निर्देशन दिनुभएको छ ।

मन्त्री भण्डारीको निर्देशनपश्चात औद्योगिक तथा लगानी प्रवर्द्धन महाशाखा प्रमुख जितेन्द्र बस्नेत नेतृत्वको टोली कम्पनी रजिस्ट्रारको कार्यालय पुगेको थियो । उक्त टोलीसँग कर्मचारीहरूले काम गर्ने क्रममा केही कानुनी र प्राविधिक समस्या रहेका कारण काममा ढिलाइ भइरहेको समस्या दर्शाउनुभएको थियो ।

हाल सञ्चालनमा रहेका दुईवटा अनलाइन प्रणालीका कारण केही समस्या आइरहेको कर्मचारीको गुनासो छ । पूर्ण अनलाइन प्रणालीमा गइसकेको कम्पनी रजिस्ट्रारको कार्यालयमा अझै लाइन बस्नुपर्ने बाध्यता रहेको सेवाग्राहीको गुनासो छ । महाशाखा प्रमुख बस्नेतले समस्या समाधानका लागि आवश्यक समन्वय गर्ने बताउनुहुँदै असार मसान्तभित्र दिनरात खटेर हालसम्मका थाँती फाइलहरूको काम सम्पन्न गर्नुपर्ने बताउनुभयो ।

बस्नेतले कार्यालयका जोकोही कर्मचारीबाट पनि आर्थिक अनियमितता भएको भए कारबाही गर्ने बताउँदै आर्थिक अनियमिततामा विषयमा शून्य सहनशीलता अपनाउन निर्देशन दिनुभयो ।

यसअघि मन्त्रालयले बिहानै कम्पनी रजिस्ट्रारको कार्यालयलाई निर्देशनात्मक पत्र पठाएको छ । उक्त पत्रमा लेखिएको छ, “कम्पनी रजिस्ट्रार कार्यालयले सञ्चालनमा ल्याएको ‘सिएएमआइएस’ प्रणालीमा लामो समयदेखिका निवेदनहरू थाँती रहेका र अनलाइन प्रणाली अवलम्बन गर्दा पनि कार्यालय परिसरमा सेवाग्राही उपस्थित नभई काम नहुने र कार्यालयमा असम्बन्धित मान्छेहरूको समेत चहलपहल भई भीडभाडको अवस्था रहेको जनगुनासो आएको सन्दर्भमा मन्त्रालयबाट सेवा प्रवाहलाई प्रभावकारी बनाउन सहयोग पुर्याउने उद्देश्यले मन्त्रालयका सहसचिवको नेतृत्वमा अनुगमन÷निरीक्षण समिति गठन गरी खटाइएको छ ।

उक्त पत्रमा कम्पनीहरूको अद्यावधिक विवरण छुट, सहुलियतका लागि निवेदन र अन्य प्रकारका कम्पनीसम्बन्धी सेवा लिन ठूलो सङ्ख्यामा आर्थिक वर्षको अन्त्यतिर अनलाइन प्रणालीमा आवेदन प्राप्त भएको र सो कार्य तत्काल सम्पन्न गरी छिटोछरितो सेवा उपलब्ध गराउन कार्यालयले नियमित कार्यालय समयबाहेक बिहानबेलुका र बिदाको दिन पनि निर्वाध रूपमा कार्यालय सञ्चालन गर्ने सम्बोधन गर्दै अगामी दिनमा गुनासोरहित सेवा व्यवस्था मिलाई सेवा प्रवाह समयमै गरी जनगुनासा समाधान गर्न निर्देशन दिएको छ ।