07/06/2025, 15:51:27

गुल्मीका चार कृषक सम्मानित, सार्की सर्वोत्कृष्ट


गुल्मी, २२ असार: गुल्मीमा व्यावसायिक कृषिकर्म गर्ने उत्कृष्ट कृषक सम्मान गरिएको छ । कृषि ज्ञान केन्द्रले चार विधामा उत्कृष्ट चार कृषकलाई नगदसहित सम्मान गरेको हो ।

यसरी सम्मानित हुनेमा तरकारी विधामा रेसुङ्गा नगरपालिका–६ सिमाहाघाटस्थित नवोदय बहुउद्देश्यीय कृषि फर्मका सञ्चालक रेणु सार्की, फलफूल विधामा धुर्कोट गाउँपालिका–२ पिपलधारास्थित मौरी तथा सुन्तला फर्मकी सञ्चालक रातादेवी खनाल हुनुहुन्छ । यसैगरी च्याउ विधामा छत्रकोट गाउँपालिका–४ रुक्सेस्थित द–हिमालयन एग्रोफर्म नेपालका सञ्चालक कृष्णप्रसाद कँडेल र मौरी विधामा रेसुङ्गा नगरपालिका–८ स्थित रेसुङ्गा कृषि, पशुपन्छी तथा मौरीपालन फर्मका सञ्चालक विष्णुमाया श्रीसलाई सम्मान गरिएको छ ।

मौरी विधाबाट सम्मानित हुने श्रीसले मौरी गोला र घार बिक्रीमा वािर्षक रु पाँच लाख बराबरको कारोबार गर्दै आएको बताउनुभएको छ भने तरकारी विधामा उत्कृष्ट सार्कीले वार्षिक रु २५ देखि ३० लाखसम्मको कारोबार गर्ने गरेको बताउनुभयो । यसैगरी फलफूल विधामा सम्मानित खनालले २९ रोपनी क्षेत्रफलमा सुन्तलाखेती गरेर वार्षिक करिब रु १५ लाखसम्मको कारोबार गर्दै आउनुभएको र च्याउ विधामा सम्मानित कँडेलले वार्षिक करिब रु १४ लाखसम्म कारोबार गर्ने गरेको त्यस अवसरमा जानकारी दिइयो ।

कार्यालयले रेसुङ्गा नगरपालिका–६ सिमाहाघाटस्थित नवोदय बहुउद्देश्यीय कृषि फर्मका सञ्चालक रेणु सार्कीलाई यस वर्षको सर्वोकृष्ट कृषकको रुपमा नगद रु १० हजार र अन्य कृषकलाई रु पाँच÷पाँच हजारसहित सम्मान गरेको हो ।

कृषक सम्मानका लागि कृषि ज्ञान केन्द्र गुल्मीले गत पुस महिनामा १५ दिने सूचना प्रकाशित गरी निवेदन आह्वान गरेको कृषि ज्ञान केन्द्रका प्रमुख नरेश धितालले जानकारी दिनुभयो ।

जिल्लामा हाल व्यावसायिक तरकारीखेती गर्ने कृषक १४५, सुन्तलाखेती गर्ने १९७, मौरीपालक किसान २५ र च्याउखेती गर्नेहरू १२ जना रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ