ढोरपाटन (बागलुङ), १९ असारः सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा निहुरो र अम्रिसोखेती गरिएको छ । वडा कार्यालय र स्थानीयले तीनवटा सामुदायिक वनमा झाडी फाँडेर करिब ३०० रोपनी क्षेत्रमा निहुरो र अम्रिसो लगाएका हुन् ।
यहाँका तीतेझारी, माकुका र साँघुखोला सामुदायिक वनको ३०० रोपनी क्षेत्रमा खेती सुरु गरिएको वडाध्यक्ष प्रेम लामिछानेले जानकारी दिनुभयो । अन्य सामुदायिक वनमा पनि बिस्तारै खेती गर्दै जाने उहाँले योजना सुनाउनुभयो । तीन वर्षअघि १२ रोपनीमा सुरु गरेको यो खेती हाल ३०० रोपनीमा फैलाउन सफल भइएको अध्यक्ष लामिछानेले बताउनुभयो ।
यसका लागि वडा कार्यालय र स्थानीयको जनश्रमदान गरी हालसम्म रु तीन लाख लगानी भएको छ । हाल गाउँमै निहुरो र अम्रिसोको बिरुवा उत्पादन हुन थालेकाले बिरुवामा धेरै खर्च नभएको हो । रेश गाउँमा पहिले निहुरो र अम्रिसो नपाइए पनि हाल हरेक किसानले बारीको कान्लामा समेत यसको खेती गर्न थालेका वडाध्यक्ष लामिछानेले बताउनुभयो ।
“पहिले गाउँमा मान्छे धेरै हुन्थे, पशुचौपाया पनि धेरै पाल्थे, हाल बसाइँसराइले गाउँमा मान्छे कम छन्, पहिलेको जस्तो वस्तुभाउ पाल्दैनन्, त्यसले गर्दा वनमा झाडी पलायो”, उहाँले भन्नुभयो, “त्यसैले स्थानीयसँग सहकार्य गरेर झाडी फाँडेर निहुरो र अम्रिसो लगाएका छौँ, अरू बिरुवा पनि फाटफुट लगाएका छौँ । वनलाई पनि अब आम्दानीसँग जोडौँ भन्ने हिसाबले यो काम सुरु गरेका हौँ ।”

स्थानीय धनबहादुर जिसी हाल लगाइएको निहुरो र अम्रिसोको उत्पादन बढेमा सामुदायिक वनमा फैसा फल्ने बताउनुहुन्छ । तरकारीका रूपमा प्रयोग हुने निहुरो र अम्रिसोको माग र मूल्य पनि राम्रो भएकाले ठूला सहरमा निर्यात गर्न पनि सकिने उहाँको भनाइ छ । झाडी फाँडेर साना बिरुवा लगाएपछि वन्यजन्तुको आक्रमण हुने जोखिम पनि कम भएको जिसीको विश्वास छ ।
काठेखोला–७ की उजेली शर्माले गाउँकै सामुदायिक वनबाट बिरुवा सङ्कलन गरी खेती बिस्तार गरेको सुनाउनुभयो । “पहिले निहुरो खोज्नका लागि धेरै टाढाको जङ्गलमा जाने गरेका थियौँ, हाल नजिकैको सामुदायिक वनमा पाउन थालेको छ । काम नलाग्ने झाडीको ठाउँमा काम लाग्ने बस्तु रोपेपछि हामी सबै उत्साहित छौँ । उत्पादन बढी हुँदै गएपछि बिक्री गरेर यहीँबाट जीविकोपार्जन गर्न सकिने आशा छ”, उहाँले भन्नुभयो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

















