06/23/2025, 20:49:47

सीमा सुरक्षामा सेनाले अन्य सुरक्षा निकायसँग सहकार्य गरिरहेको छ : रक्षामन्त्री राई


काठमाडौँ, ९ असार : रक्षामन्त्री मानवीर राईले नेपालको संविधान, प्रचलित कानुन र नेपाल सरकारको निर्णयबमोजिम नेपाली सेनाले सीमा सुरक्षाको कार्यमा अन्य सुरक्षा निकायहरूसँग सहकार्य गरिरहेको बताउनुभएको छ ।

प्रतिनिधिसभामा विनियोजन विधेयक २०८२/८३ माथिको छलफलमा रक्षा मन्त्रालयका विषयमा सांसदले उठाइएका प्रश्नको जवाफ दिँदै उहाँले नेपाली सेना वनजङ्गलको संरक्षण, विस्तार तथा स्वच्छ वातावरण कायम गर्न र विकास निर्माणका कार्यमा कानुनबमोजिम संलग्न हुँदै आएको स्पष्ट पार्नुभयो ।

मन्त्री राईले भन्नुभयो, “हाल नेपाली सेनाबाट निकुञ्ज एवं संरक्षित क्षेत्रको संरक्षणमार्फत स्वच्छ वातावरण निर्माण, वनजङ्गल विस्तारलगायत अन्य विकास निर्माणका कार्यमा सहयोग पुर्याउँदै आएको छ ।” उहाँले सैनिक ऐन, २०६३ र नियमावली २०६९ बमोजिम सेनाको भर्ना, बढुवा र सरूवा विना पक्षपात कानुनबमोजिम नियमित रूपमा भइरहेको स्पष्ट पार्नुभयो ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको काठमाडौँ तराई/मधेश द्रुतमार्ग सडक आयोजना सेनाको व्यवस्थापनमा निर्माण अघि बढिरहेको बताउँदै मन्त्री राईले सुरुविन्दु कायम गर्ने सम्बन्धमा अध्ययन भई प्रतिवेदन प्राप्त भइसकेकाले थप निर्णय भएपश्चात् बाँकी कार्य अगाडि बढाइने विश्वास दिलाउनुभयो ।

राष्ट्रिय एकता अभिवृद्धि र अनुशासित युवा जनशक्ति निर्माणमा राष्ट्रिय सेवा दल तालिम अत्यन्त उपयोगी रहेकाले चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्म कुल सात हजार ७०४ जना विद्यार्थीले तालिम पूरा गरेको उहाँले बताउनुभयो । उहाँले मन्त्रालयसँग सम्बन्धित अन्य कुनै नयाँ कानुन बनाउनु परेमा वा संशोधन गर्नु परेमा सोको लागि रु ९० हजार बजेट छुट्याइएको जानकारी दिनुभयो ।

रक्षामन्त्री राईले भक्तपुर सल्लाघारीस्थित च्वाङ्गा गणेशथान आसपासको सरकारी, सार्वजनिक जग्गा नेपाल सरकारको सम्पत्ति भएकाले त्यो सरकारी, सार्वजनिक जग्गाको संरक्षण र उपयोग हाल नेपाली सेनाले गर्दै आएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “त्यस स्थानमा हाल सेनाको शिक्षालय छ । सार्वजनिक सम्पत्तिको उपयोग स्थानीय बासिन्दाले समेत गरिरहेका छन् । उक्त क्षेत्रको रानी पोखरीमा सर्वसाधारणको लागि सहज पहुँच छ ।”


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ