09/06/2025, 22:54:33
शनिबार, भदौ २१, २०८२

एनओसीद्वारा एनएसजेएफको नवनिर्वाचित पदाधिकारीलाई बधाई


काठमाडौँ, १४ जेठः नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले एनओसीलाई लिएर अहिले भइरहेको विवादमा पक्षविपक्षबीचको सीमाङ्कन ‘क्लियर’ गरेर खेलकुदलाई स्थापित गर्नुपर्ने बताउनुभएको छ ।

एनओसीद्वारा आज यहाँ आयोजित नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई बधाई तथा शुभकामना प्रदान गर्ने कार्यक्रममा उहाँले नेपालको खेलकुदलाई सही बाटोमा लग्न, नेपाली खेलाडीलाई उन्नत बनाउन र खेलको महत्वलाई बुझाउन जिम्मेवारीपूर्वक अगाडि बढिरहेको बताउनुभयो ।

अध्यक्ष श्रेष्ठले ओलम्पिक अभियानलाई प्रवद्र्धन गर्न एनओसी र नेपाल खेलकुद पत्रकार मञ्चबीच सहकार्य गर्दै अगाडि बढुनुपर्नेमा जोडसमेत दिनुभयो । त्यसैगरी एनओसीका महासचिव राजीव श्रेष्ठले सरकारी निकायमा रहेका व्यक्तिको अहंमता र अदूदर्शीताले नेपाल खेलकुद समस्या रहेको र खेलाडीको भविष्य अन्यौलमा परेको बताउनुभयो ।

उहाँले आफूहरु सरकार विरोधी नभएको र सरकारसँग हातेमालो गरेर नेपाली खेलकुदलाई विश्वसामु लग्न र खेलाडीहरुको हकहितका लागि काम गर्न चाहन्छौँ र यसका लागि सरकारबाट सकारात्मक सहयोगको अपेक्षा छ, भन्नुभयो ।

एनएसजेएफका अध्यक्ष निरञ्जन अधिकारीले एनओसी र एनएसजेएफ अन्तरराष्ट्रिय संरचनमा हेर्दा समान प्रकृतिको संस्था हो भन्नुहुँदै यी दुई संस्थाको सहकार्यको शृङ्खला लामो भएको बताउनुभयो । उहाँले पत्रकारिताको स्वरुप फरक भइरहेको अहिलेको डिजिटल युगमा नेपाली खेल पत्रकारहरु अझ क्षमतावान बनाउन आफ्नो प्रयास रहने भनाइ व्यक्त गर्नुभयो ।

एनओसीले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को नवनिर्वाचित पदाधिकारी र सदस्यहरूलाई बधाई तथा शुभकामना प्रदान गरेको थियो । गत वैशाख २५ गते भएको एनएसजेएफको २०औँ साधारणसभा तथा निर्वाचनले निरञ्जन अधिकारीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको थियो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..