05/19/2025, 22:59:14

तोकिएकै समयमा आयोजना सम्पन्न गर्नेतर्फ मन्त्रालय सजग छः यातायातमन्त्री दाहाल


काठमाडौँ, ५ जेठः भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पूर्वाधार आयोजनाहरू तोकिएकै समयमा सम्पन्न गर्नेतर्फ मन्त्रालय सजग रहेको बताउनुभएको छ । राष्ट्रियसभामा आज भएको मौखिक प्रश्नोत्तरका क्रममा उहाँले आयोजनाहरू तोकिएको गुणस्तर, समयावधि र लागतमा सम्पन्न गर्न मन्त्रालयले सक्रियता देखाउनुपर्नेमा सजग रहेको बताउनुभयो ।

मन्त्री दाहालले कतिपय आयोजनाहरू समयसीमा र तोकिएको गुणस्तरमा सम्पन्न भएका र केही आयोजना समयमा सम्पन्न हुन नसकेकामा मन्त्रालयको ध्यानाकर्षण भएको बताउनुभयो । मन्त्रालयले हाल सम्पूर्ण आयोजनाको कार्ययोजना निर्माण गरी समयतालिका, समस्या तथा जोखिम र जिम्मेवार पदाधिकारी तोकी प्रभावकारी अनुगमन गर्ने र हरेक महिना समीक्षा गर्ने परिपाटी लागू गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

मन्त्री दाहालले कैलालीको टिकापुर÷दुर्गौलीदेखि साँफेबगर हुँदै बझाङको चैनपुरसम्म कार्यक्षेत्र रहेको सेती लोकमार्गको कुल लम्बाइ २०४ किलोमिटर रहेकामा हालसम्म १२८ किमी मात्र ‘ट्र्याक’ खुलेको र बाँकी ७६ किमी ट्र्याक खुल्न बाँकी रहेको जानकारी दिनुभयो ।

उहाँसँग सांसदहरू मदनकुमारी साह र भुवनबहादुर सुनारले सो मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरू सोध्नुभएको थियो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको संविधानको धारा ५३ बमोजिम नेपाल सरकारको वार्षिक प्रतिवेदन २०८०÷८१ सभासमक्ष पेस गर्नुभयो । उहाँले ‘चलचित्र विधेयक, २०८१’ समेत पेस गर्नुभयो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ