काठमाडौँ, २८ वैशाखः पर्वतीय धरातलले प्रदान गरेको प्राकृतिक सौन्दर्य र जैविक विविधता, उच्च हिमाल र आकर्षक पदयात्रा मार्ग, सांस्कृतिक सम्पदा, धार्मिक र अध्यात्मिक गन्तव्य, साहसिक खेलका साथै अतिथि देवो भवःको जनभावनाले गर्दा नै नेपाल विश्वपर्यटक मञ्चमा आकर्षक गन्तव्यका रुपमा रहँदै आएको छ । यो उचाइमा पुर्याउने यहाँको हिमाली क्षेत्रका प्राकृतिक सम्पदाहरु र त्यहाँका बासिन्दाको महत्वपूर्ण भूमिका रहेको छ ।
पछिल्लो समय रसुवाको माथिल्लो भेगको वातावरण र जनजीवनमा नपत्याउने परिवर्तनहरु देखापरेका छन् । आमाछोदिङमो गाउँपालिकाका रसुवा जिल्लाका पाँच वटा गाउँपालिकामध्ये उत्तर–पश्चिममा रहेको छ । उत्तरमा चीनको तिब्बतसँग सीमा जोडिएको ६८३ वर्ग किलोमिटर क्षेत्रफल रहेको यस पालिकाको जनसङ्ख्या ६५०० रहेको छ । प्राकृतिक स्रोत र साधनले सम्पन्न यो गाउंँपालिका जलस्रोतको दृष्टिले अत्यन्त धनी रहेको छ । उच्च पहाडी क्षेत्र र हिमाली क्षेत्रमा पाइने वनस्पति, जडीबुटीका अतिरिक्त यस क्षेत्रमा कस्तुरी मृग, रेडपाण्डा, डाँफे, मुनाल, हिमचितुवालगायतका जीवजन्तु पाइन्छ ।
रसुवा हुँदै रुवीभ्याली पदयात्रामा जाँदा प्रस्थानविन्दु आमाछोदिङ्मो गाउँपालिकाको गत्लाङ गाउँ हो । तामाङ संस्कृति अनुसारको मीठो आतिथ्यता, प्राकृतिक सौन्दर्य, स्वच्छ वातावरण र स्थानीय अर्गानिक उत्पादनको स्वादिष्ट खाद्यवस्तुले यस क्षेत्र भ्रमण गर्ने जो कोही मोहित नभइ रहन सक्दैन ।
कृषि र पशुपालन नै गत्लाङवासीको जीविकोपार्जनको मुख्य माध्यम हो । पर्यटन तथा वैदेशिक रोजगारीलेसमेत आयआर्जनमा केही टेवा दिएको छ । गत्लाङ गाउँमा तामाङ जातिको परम्परागत धर्म, संस्कृति र रीतिरिवाज देख्न सकिन्छ । गुजुमुज्ज परेको गाउँ, फरासिला, मेहनती र सहयोगी स्वभावका मानिसहरु र उर्बर र हराभरा खेतबारी देख्दा मनै पुलकित हुन्छ । गत्लाङका घरहरु काठका फलेक र ढुङ्गाले छाएकाले झलक्क हेर्दा कालो देखिने भएकाले ‘ब्ल्याक भिलेज’ नामाकरण गरिएको रहेछ । तर सन् २०१५ को भूकम्पपश्चात भने टिनको छाना र ढलान घर निर्माण भएका छन् । गाउँभरि वौद्ध स्तुपाहरु यत्रतत्र देखिन्थे ।
गत्लाङबाट करिब एक घण्टाको उकालो चढेर पार्वतीकुण्ड (२,५५० मिटर) पुग्न सकिन्छ । पार्वतीकुण्ड प्राकृतिक सुन्दरता र सांस्कृतिक महत्वकोस्थल हो । यो कुण्ड गत्लाङवासीको लागि पानीको स्रोत हो भने स्थानीय तामाङ सम्प्रदायले यसस्थललाई गुरु रिम्पोचेसँग जोडेर हेर्ने गरेको पाइन्छ । प्राचीन घले राजाको दरबारसमेत यसैस्थल नजिकै रहेको छ । पार्वतीकुण्डबाट पुरीखर्क हुँदै सोमदाङतर्फ जान उकालो लाग्नुपर्छ । पार्वती कुण्डबाट उकालो लाग्दै गर्दा कहिल्यै कतै चर्चामा नआएको, नसुनिएको र नदेखिएको कालो जङ्गल (ब्ल्याक फरेष्ट)सँग जम्काभेट भयो । कालो गाउँबाट हिँडेको केही घण्टामै कालो जङ्गल भेटियो । कालो गाउँ संस्कृति र सभ्यताको संवाहक थियो तर कालो जङ्गल विनाशको पर्याय ।
कालो जङ्गल नाम वन विनाशको साङ्केतिक आधारमा स्थानीयस्तरमा तय भएको हो । रसुवाको पार्वतीकुण्ड भन्दामाथि करिब तीन हजार मिटरदेखि तीन हजार सात सय ५० मिटरसम्मको उचाइमा रहेको बोम्जामाने र ज्यार्सागोठेन सामुदायिक वनको करिब चार सय हेक्टरभन्दा बढी क्षेत्रको सल्ला र गुराँसको जङ्गलमा १३ वर्षअघि लागेको भिषण आगलागीबाट भएको वन विनाशका कारण सो क्षेत्रको हरियो वन कालो जङ्गलमा परिणत भएको थियो ।
डढेलोले जलेको अवस्थामा ठिङ्ग्रिङ कालो ठुटाको रुपमा ठडिएकोे हजारौँं रुख देख्दा मन भारी भयो, हृदयमा पीडाबोध भयो, मुटु चसक्क छोयो र क्षोभ उत्पन्न भयो । वर्षौपछि देख्दा त यस्तो प्रत्यक्ष देख्दा त्यो दृश्य कति भयानक हुँदो हो । चिच्याउँदै कराउँदै भाग्न खोजेका जीवजन्तु, आगोको लपेटामा पिल्सिएका प्राणीको अवस्था कस्तो थियो होला, उच्चपहाडी एवं हिमाली क्षेत्रमा पाइने ब्हुमूल्य जडीबुटी के फेरि त्यस क्षेत्रमा पाइएला ? उच्च पहाडी क्षेत्रमा पाइने विशाल र मनमोहक ठिङ्ग्रे तथा गोब्रे सल्लाको त्यो जङ्गल पलाउन हुर्कन कति शतक लाग्ला ? यस्तै अनेक प्रश्नहरु उठ्ने गर्दछ ।
डढेलो लगाउनु हुँदैन भन्ने सामान्य चेत मानव मात्रमा भए तापनि हिउँदको समयमा देशैभरि घाँस, पालुवाको लोभमा केही स्थानीयवासीले डढेलो लगाउने गरेको पाइन्छ । हजारौंँ वर्ष पुरानो सल्लाको जङ्गल, जङ्गलभरि रहेका वर्षांै पुराना लडेर सुखेका रुख, सुकेका झारपात, भिरालो जमिन, सुख्खा मौसम तथा हावाहुरी समेतको कारणले गर्दा जङ्गलको कुनै क्षेत्रमा कसैले लगाएको डढेलोले भिषण रुप लिई खोटेसल्लाको रुखमा टुप्पैसम्म आगो बलेको, डढेलो रसुवा सदरमुकाम धुन्चेबाट समेत देखिएको र धुवाँधुलोले रसुवा तथा नुवाकोट जिल्लाको ठूलो क्षेत्र प्रभावित भएको भनाइ स्थानीयवासीको थियो । सामान्यत डढेलो लागेपछि केही वर्षमा पुनः प्राकृतिकरुपमा बोटविरुवा उम्रेर सामान्यीकरण हुँदै जाने गरेता पनि यस क्षेत्रमा एक दशकसम्म पनि बोटविरुवा नउम्रनु अर्को आश्चर्य छ । सम्भवतः डढेलोले जमिनको भित्री भागसम्म असर गरेको कारण वा उच्च क्षेत्र भएको कारण पनि विरुवा उम्रन नसकेको हुन सक्दछ । तीनै तहका सरकारले वृक्षरोपणमा बर्सेनि करोडाँैं रुपैयाँ खर्च गरेर लाखौँ वृक्षरोपण गर्ने गरे तापनि गत्लाङजस्ता स्थानतर्फ सरोकारवालाको ध्यानाकर्षण भएको देखिएन ।
डढेलोको मूल कारण पत्ता लगाई न्यूनीकरणको उपाय सुझाउने, यस घटनाका दोषी पत्ता लगाई हदैसम्मको कारबाहीको पहल भएको छैन । स्थानीयस्तरमा वनजङ्गलको महत्व र डढेलोबाट सामाजिक, आर्थिक र वातावरणीय क्षेत्रमा पर्ने नकारात्मक प्रभाववारे राष्ट्रव्यापी रुपमै सघन सचेतना अभियान सञ्चालन गर्नसके भविष्यमा यस प्रकारका घटना न्यूनीकरणमा टेवा पुग्ने थियो ।
गत्लाङको यो डढेलो प्रभावित क्षेत्रमा केन्द्रीय परियोजनाअन्तरगत नै स्थानीय तहसँग समन्वय गरी हावापानी सुहाउँदो वृक्षरोपण गरी कालो जङ्गललाई हरियो वनमा रुपान्तरण गर्न ढिला भइसकेको छ । यसो गर्न सके त्यस जङ्गलमा पुनः कस्तुरी मृग, रेडपान्डा, हिउँचितुवा, मृग, डाँफे, मुनाललगायत जीवजन्तु र चराचुरुङगीको पुनरागमन हुनसक्थ्यो । भनिन्छ, ‘कालो बादलमा चाँदीको घेरा हुन्छ’ रसुवाको कालो जङ्गल क्षेत्रमा आवश्यक पूर्वाधारसहित डढेलो अध्ययन अनुसन्धान केन्द्र नै निर्माण गरी सञ्चालन गर्नसके डढेलो पर्यटन प्रवद्र्धनको पनि यत्तिकै सम्भावना रहेको छ । यसो हुनसके पर्यटन क्षेत्रमा नयाँ आयाम स्थापित हुन सम्भव छ । आवश्यक पूर्वाधार तथा प्रचारप्रसार गरी पर्यटक आकर्षण गर्नसके स्थानीय स्रोत र साधनको सदुपयोगका साथै स्थानीयवासीको रोजगारी सिर्जना, आयआर्जनमा समेत महत्वपूर्ण टेवा पुग्ने निश्चित छ ।
परमाणु बमले ध्वस्त जापानको हिरोसिमा सहरमा विनाशका अवशेषहरु सङ्कलन र संरक्षण गरी सङ्ग्रहालयका रुपमा विकास गरेको कारण आज हिरोसिमा विश्व प्रशिद्ध पर्यटनस्थलको रुपमा परिचित छ । नेपालमा समेत माओवादी जनयुद्धकालमा ध्वस्त भएका पाल्पा दरबार जस्ता कुनै एक स्थानलाई सङ्ग्रहालयको रुपमा विकास गर्न सकेको भए आन्तरिक द्वन्द्वको परिणाम कतिसम्म विनाशकारी हुन्छ, भन्ने भावी पुस्तालाई बुझाउन यो महत्वपूर्ण सावित हुने थियो । साथै, सो स्थान महत्वपूर्ण पर्यटन केन्द्रको रुपमा स्थापित हुने सम्भावना पनि त्यत्तिकै हुन्थ्यो ।
नेपालका हिमाललाई विश्वको ‘वाटर टावर’को रुपमा लिइन्छ । लाङटाङ, गणेश र मनास्लु हिमालको काखमा ग्लोबल वाटर टावर (अर्थात हिउं जमेर जाडोमा पानी सञ्चिति गर्ने र गर्मीमा पग्लेर पानी छाडने प्राकृतिक प्रणाली) को छेउमै यस प्रकारको भिषण डढेलोबाट सो क्षेत्रमा तापक्रम वृद्धि लगायतका कारणबाट के कस्तो अल्पकालीन र दिर्घकालीन असर ग¥यो होला यस्को वैज्ञानिक अध्ययन जरुरी छ । गत्लाङ क्षेत्रमा लागेको डढेलो स्थानीय र राष्ट्रिय विषय मात्रको रुपमा हेरिनु हुँदैन, यो त विश्वको महत्वपूर्ण र उच्च जोखिमयुक्त ‘वाटर टावर’को संरक्षणसँग सम्बन्धित विषय पनि हो ।
इसिमोडबाट प्रकाशित सन् २०२५ को अद्यावधिक हिउँ प्रतिवेदनअनुसार हिन्दू कुश हिमालय क्षेत्रमा लगातार तेस्रो वर्ष कम हिउँ परेको छ । यसले नेपालसहित यस क्षेत्रका सात देशमा पानी, खाद्य र ऊर्जा क्षेत्रमा गम्भीर असर पार्ने र करिब दुई अर्ब मानिस प्रभावित हुनसक्ने चिन्ता व्यक्त गरिएको छ । आकर्टिक र अन्टाकर्टिकपछि हिन्दू कुश क्षेत्रमा नै सबैभन्दा ठूलो हिउँ र हिमनदीको भण्डार छ तर कम हिउँ पर्ने र छिटो पग्लनाले हिमाली हिउँको पानीमा निर्भर मानिस प्रभावित हुने छन् । इसिमोडले यस क्षेत्रका प्रमख १२ नदी प्रणालीमा निर्भर देशलाई जल व्यवस्थापन, खडेरीको पूर्व तयारी, पूर्व चेतावनी प्रणाली सुधार गर्न तथा क्षेत्रीय सहकार्य बढाउन आह्वान गरेको छ,ताकी असर न्यूनीकरण गर्न सकियोस् ।
संयुक्त राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठनको २०२५ मार्चमा प्रकाशित प्रतिवेदनका अनुसार जलवायु प्रकोपबाट एशिया सर्वाधिक प्रभावित रहेको उल्लेख गर्दै पछिल्ला छ वर्ष मध्य पाँच वर्ष लगातार हिमनदीमा तीव्र गिरावट आएको उल्लेख गरेको छ । लगातार हिउँको अभावले नदीमा जलप्रवाह घटाउँछ र गर्मी सुरु हुनासाथ चर्को गर्मीको मारमा परेका तल्लोतटीय क्षेत्रका बासिन्दा पानीको सङ्कट झेल्नसमेत बाध्य हुन्छन् । दक्षिण एशियाली मौसम पूर्वानुमान मञ्च (सास्कोफ)को सन् २०२५ को २८ देखि ३० अप्रिलमा भारतमा भएको बैठकले गरेको सन् २०२५ को नेपालको मौसम पूर्वानुमान प्रतिवेदनअनुसार मध्य तथा सुदूरपश्चिममा यसवर्ष औषतभन्दा धेरै पानी पर्ने अनुमान गरेको छ ।
यसरी वर्षा र तामक्रमको असामान्य वितरणले पानीको स्रोत, कृषियोग्य जमिन, बाली चक्र तथा मानव स्वास्थ्यमा प्रभाव पार्ने विज्ञको मत रहेको छ । जलवायु परिवर्तनका कारण विश्वव्यापी तापमान वृद्धि भई नेपालका हिमालमा यसको असर देखा परिसकेको छ । सन् १९८५ मा दिगचो हिमताल (चार हजार ३६५ मिटर) विष्फोटपछि नै विश्व समुदायले नेपालमा हिमताल अध्ययनमा चासो देखाएको पाइन्छ । खुम्बु क्षेत्रमा रहेको इम्जा हिमताल क्षेत्रको स्थलगत अध्ययनको क्रममा पछिल्ला केही वर्षयता चिसा दिन र रातको तुलनामा गर्मी दिन र रातको सङ्ख्या बढन थालेको, हिमाली क्षेत्रका गाउँमा उच्च पहाडी क्षेत्रमा पाइने वनस्पति फस्टाउन थालेको, हिउँ कम पर्ने र परे पनि लामो समय नरहने गरेको, हिमरेखा सर्दै गएको, हिमनदी खुम्चिँदै र पातलिँदै गएकोे र हिउँ पग्लेर हिमताल भरिभराउ भई विष्फोटको जोखिम बढ्दो रहेको जानकारी स्थानीय बासिन्दा तथा हिमाल आरोहीबाट प्राप्त भएको थियो ।
गतवर्ष मात्र अगस्त २०२४ मा खुम्बु क्षेत्रमा रहेको थ्याङ्वो हिमताल विष्फोट वा मे २०१२ मा माछापुच्छ्रे हिमालमा गएको विशाल हिमपहिरोका कारण कास्कीको सेती नदीमा आएको बाढीको क्षति भएको थियो । निरन्तर अनुगमन र पूर्वसूचना प्रणाली स्थापित भइनसकेकाले हिमताल विष्फोटको जोखिमबाट तल्लोतटीय क्षेत्रका बासिन्दा सधैंँ चिन्तित रहनुपर्ने अवस्था छ । वर्तमान विश्वको सबैभन्दा गम्भीर चुनौती भनेको पृथ्वीको जलवायु प्रणालीमा आएको तीव्र र असामान्य परिवर्तनका कारण उत्पन्न जलवायु सङ्कट र वातावरणीय क्षयीकरण नै हो । जलवायुको क्षेत्रमा अध्ययन अनुसन्धान गर्ने सङ्घसंस्थाले विभिन्न कोणबाट यस्को बारम्बार पुष्टी गर्ने गरेका छन् ।
सन् २००९ मा सागरमाथाको नजिकै कालापत्थरमा मन्त्रिपरिषद्को बैठक राखेर विश्व समुदायको ध्यानाकृष्ट गरेको नेपाल सरकारले यसपाली यही आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडाैँमा ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ शीर्षकमा सगरमाथा संवादको पहिलो संस्करण आयोजना गरेर विश्वव्यापी गम्भीर समस्यामा सार्थक बहसको थालनी गरेको छ । जलवायु परिवर्तनका क्षेत्रमा कार्यरत वैैज्ञानिक, नीति निर्मातादेखि जलवायु परिवर्तनका क्षेत्रका क्रियाशील विभिन्न राष्ट्रिय अन्तरराष्ट्रिय सङ्घसंस्थाका प्रतिनिधि सहभागी हुने यस कार्यक्रममा पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरबारे छलफल हुनेछ ।
‘बादेबादे जायते तत्ववोध’ भने झैँ नेपाल सरकारको यो सुझबुझपूर्ण तथा दूरदर्शीतापूर्ण कार्यले हाम्रो साझा घर पृथ्वीको संरक्षणमा विज्ञहरुबीच मन्थन गरी एकताबद्ध भई साझा अवधारणा तय गरी मन, वचन र कर्मले अगाडि बढ्न सगरमाथा संवाद कोशेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ । (लेखक वातावरण र सामाजिक सेवाका क्षेत्रमा सक्रिय हुनुहुन्छ)