तनहुँ, भदौ ६ : तनहुँको आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरी मन्दिर पछिल्लो समय धार्मिक पर्यटकीय स्थलको रुपमा विकास हुँदै गइरहेको छ । गोरखा मनकामनाकी दिदीका रुपमा पुजिँदै आएकी छिम्केश्वरी माईमा पूजा गरेपछि मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । छिम्केश्वरीलाई पुग्नका लागि सडकको स्तरोउन्नती भएसँगै आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छिम्केश्वरी पर्यटन विकास समितिले जनाएको छ । यहाँबाट पहाडी र ग्रामीण वातावरणको मजा लिन पाइन्छ ।
समितिका अध्यक्ष कृष्णमान तामाङका अनुसार यहाँ वार्षिक रुपमा करीव एक लाख पर्यटक आउने गरेका छन् । यहाँबाट देखिने अपि, सैपाल, धवलागिरि, बुद्ध, अन्नपूर्ण, मनास्लु लगायतका हिमाल, हरियाली डाँडा तथा समथर भूभाग, नदीनाला, पाखा छहराको मनोरम दृश्यले धेरैको मन लोभ्याउँछ । पछिल्लो समय आन्तरिक पर्यटकको राम्रो गन्तव्य बन्दै गइरहेको छ ।
तामाङले भन्नुभयो, ‘‘यस क्षेत्रमा छिनमै लाग्ने कुहिरो र बादल तथा छिनमै खुल्ने पर्यावरणले पर्यटकलाई आकर्षित गरिरहेको छ ।’’ समुद्र सतहबाट दुई हजार एक सय ३४ मिटर उचाइमा अवस्थित तनहुँको छिम्केश्वरी मन्दिर क्रमशः धार्मिक पर्यटकीयस्थलका रूपमा विकास भइरहेको छ । पृथ्वीराजमार्गको आँबुखैरेनीदेखि लाब्दीसम्म १५ किलोमिटर जीप यात्रा र छोटो पदयात्रापछि छिम्केश्वरी पुगिन्छ ।
यहाँबाट देखिने अपि, सैपाल, धौलागिरि, अन्नपूर्ण, मनास्लु, बुद्ध हिमालका मनोरम दृ्श्यले जोकोहीलाई मोहित बनाउँछ । हाल छिम्केश्वरीमा दैनिक करीव दुई सय आन्तरिक पर्यटक आउने गरेका छन् । यहाँ विशेषगरी नयाँवर्ष र होलीका बेला भक्तजनको घुइँचो लाग्ने गरेको छ । यस वर्षको होलीमा बिहीबार दस हजार बढी भक्तजनले पूजाआजा गरेको यो मन्दिरमा तनहुँका अतिरिक्त छिमेकी जिल्ला लमजुङ, गोरखा, चितवन, नवलपुरबाट भक्तजन आउने गरेका मन्दिरका पुजारी धनराज गुरुङ बताउनुहुन्छ । एकादशी र औँसी बाहेकका दिनमा पूजाआजा हुने यस मन्दिरमा पशुवली दिने परम्परा छ । आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले गाउँपालिकाले छिम्केश्वरीको पर्यंटन प्रवर्धनलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभयो ।
गाउँपालिकाकै सक्रियतामा मन्दिर पुनर्निर्माण, आवतजावतका लागि सहज बनाउन सडकको स्तरोउन्नती, सिंढीमार्गको निर्माण गरिएको छ । छिम्केश्वरी पुग्ने भक्तजनको सहजताका लागि छिम्केश्वरीको काखमा घरबास समेत सञ्चालन भएका छन् । आँबुखैरेनी गाउँपालिका–६ स्थित पर्यटकीय गाउँ हिलेखर्कमा स्थानीयवासीले घरबास सञ्चालन गरेका हुन् । गुरुङ समुदायको बाहुल्य रहेको यहाँका घरबासमा आउनेलाई कोदो तथा फापरको ढिँडो, फापर र कोदोको सेलरोटी, भुटेको भटमास, गुन्द्रुकको अचार दिइने गरेको घरबास व्यवस्थापन समितिका अध्यक्ष बाटुमाया गुरुङले जानकारी दिनुभयो । हिलेखर्कमा रहेका दुई वटा घुमाउने घरले पनि यहाँ पुग्ने सर्वसाधारणलाई लोभ्याउने गरेको छ ।
गोरखा मनकामनाकी दिदीका रूपमा पुजिँदै आएकी छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास छ । सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई छिम्केश्वरीलेकमै अवस्थित छ भने साइली गोरखा कालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोही स्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ ।
आँबुखैरेनीबाट लाब्दीसम्म १६ किमी कच्ची सडकको यात्रा र त्यसपछि आधा घण्टाको पदयात्रामार्फत छिम्केश्वरी पुग्न सकिन्छ । महाभारत शृङ्खलाको सबैभन्दा अग्लो स्थानमा रहेको छिम्केश्वरीलाई धार्मिक पर्यटनको केन्द्रविन्दु बनाउने गाउँपालिकाको लक्ष्य छ । मन्दिर पुर्न निर्माणमा ८० लाख बढी लगानी भइसकेको गाउँपालिकाका अध्यक्ष चुमान जानकारी दिनुभयो ।