08/22/2025, 23:23:04

तीन शताब्दीको धरोहर रेसुङ्गाको भार्से ‘ठुलोपोखरी’


रेसुङ्गा (गुल्मी), भदौ ६ : सत्यवती गाउँपालिका–८ भार्सेमा रहेको आदिकालमा मानव निर्मित ठुलोपोखरीले स्थानीय जीवन र इतिहाससँग गहिरो सम्बन्ध राख्छ । यो पोखरीलाई आकार र महत्वका कार ‘ठूलोपोखरी’ भनिन्छ । स्थानीयको अनुमान अनुसार अर्लाङ्गकोटका भुरे राजाभन्दा पहिले तीन सय वर्ष अघि भइसकेको थियो । भार्से गाउँको बिचमा निमार्ण गरिएको ऐतिहासिक पोखरी गोलो आकारको छ ।

भार्से माथिको गुफामा बस्ने प्रभुले स्थानीयलाई प्रयोग गरेर पोखरी निर्माण गरेको आफुहरुले पनि पुराना पुस्ताबाट सुन्दै आएको स्थानीय ७२ वर्षीय मनबहादुर श्रीसले बताउनुभयो । श्रीसका अनुसार प्रभुले विभिन्न सात धामबाट ल्याएको जल तान्त्रिक विधिपूर्वक स्वस्ति शान्ति, पुजापाठ र होम गरेर मिसाएकाले स्थानीयले अझै पनि गुफा र मन्दिर जाँदा पोखरीमा नुहाउने गरेका छन् ।

पछिल्लो समय पोखरीको जिर्णोद्वार गरिएको छ । स्थानीय तहभन्दा पहिले भार्से गाविसको अगुवाईमा स्थानीयले पोखरीको संरक्षण गर्दै आएका थिए । पछिल्लो १० वर्षदेखि भार्से घर भई अहिले हङकङमा रहनुभएका लेफ्टिनेण्ट कुलबहादुर बुढाथोकी, मिनबहादुर पुन, दिलबहादुर बुढाथोकी र बलबहादुर श्रीससहितको अगुवाईमा ठुलोपोखरीको संरक्षण गर्ने काम भएको भार्से युवा क्लवका अध्यक्ष तथा अगुवा नरबहादुर बुढाथोकीले बताउनुभयो । उहाँले अहिलेसम्म करिव २० लाख खर्च गरेर पोखरी संरक्षण गरेपनि बाह्रैमास पानी अड्याउन नसकिएको बताउनुभयो । पोखरीमा पानी भरिएपछि पौडी प्रतियोगीता समेत गरिँदै आएको स्थानीय अगुवा बुढाथोकीले बताउनुभयो ।

अहिले गाउँका पुराना पोखरीहरु माँसिदै गएका छन् । तर, भार्सेमा पुराना पोखरीको संरक्षण गरेर राखिएको छ । जलश्रोत तथा सिंचाई डिभिजन कार्यालय गुल्मीका प्रमुख इन्जिीनियर भरत सापकोटाका अनुसार पोखरी संरक्षणको माग जिल्लामा अत्यन्तै कम छ । आफुहरुले बर्षमा दुई/तीन वटा मात्रै पोखरीका काम गर्ने गरेको बताउनुभयो । पोखरी वातावरण, पशुचौपाय, जङगली जनावर र सिँचाईका दृष्टिकोणले समेत महत्वपूर्ण रहेकाले संरक्षणको आवश्यकता रहेको सापकोटाले बताउनुभयो । उहाँका अनुसार भार्सेको ठुलोपोखरीमा करिव ५० लाख लिटर पानी अट्ने क्षमता छ । बाह्रैमास पानी रहन सतहमा बालुवा र रातो माटोको एक सतह निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सिमेण्ट गरिएका धेरै ठाउँमा पोखरी चुहिने समस्या छ । प्रमाणित नम्स अनुसार नमिल्न सक्छ तर वातावरण र जलचरको अनुकल हुने र पानी अड्याउने राम्रो उपाय हो ।

दुलर्भ बन्दै गाउँका पोखरी

धुर्कोट गाउँपालिका–४ जैसीथोकमा कालापोखरा थियो । कालिगण्डकीको जस्तै कालो पानी हुने भएकाले स्थानीयले कालापोखरा भन्थे । स्थानीय ४८ बर्षीय शोभाखर पोख्रेलका अनुसार कालापोखरामा बाह्रैमास पानी हुने भएकाले गाउँभरका पशुचौपायलाई पानी पुग्थ्यो । तर, २०७० पछि पोखरी पुरेर खेल मैदान निर्माण गरिएको छ । जैसीथोकमै गोलपोखरी पनि थियो । २०५२/०५३ सालतिर मर्मत गरेर गोलो पोखरी बनाएपनि पानी सुक्दै गएर जिर्ण बनेको पोख्रेलले बताउनुभयो ।

मालिका गाउँपालिका–६ अर्जेमा दुई पोखरी जोडिएको जोर्ते पोखरा थियो । सकड बिस्तार हुँदै जाँदा अहिले पुरिएर छैन् । रेसुङ्गा नगरपालिका–५ लामिडाँडामा ठूलोपोखरा भएकैले नाम पनि ठूलोपोखरा थियो । अचेल पुरिएर सानो सिमेण्टको कुण्टा छ । प्रसस्त पानी हुने र दशैमा मेला लाग्ने पोखरी सडक बिस्तारसंगै पुरिएको स्थानीयको भनाई छ । मुसिकोट नगरपालिका–२ मुसिकोटमा ढाक्रेपानी पौवा पोखरी र बुढाथोकको साउका पोखरी पनि सकड बिस्तारले पुरिएका छन् ।

– टोपलाल अर्याल