08/22/2025, 23:55:14

लेदोसहितको पहिरोमा फस्यो यात्रुवाहक जिप


६ भदौ, दार्चुला : महाकाली लोकमार्गको गोकुलेश्वर–खलंगा खण्डको तेर्छालेकस्थित पहिरोमा यात्रुवाहक जिप फसेको छ । खलंगाबाट मालिकार्जुनतर्फ जाँदै गरेको सुप प्र ०१ ००१ ज ११८४ नम्बरको जिप पहिरोमा फसेको प्रहरीले जनाएको छ ।

मालिकार्जुन प्रहरी चौकीका अनुसार माथिबाट खसेको लेदोसहितको पहिरोमा फसेको जिपमा दुई जना मात्रै यात्रु थिए । यात्रुहरु जिपलाई छोडेर सुरक्षित स्थानमा रहेको मालिकार्जुन प्रहरी चौकीका वरिष्ठ हवल्दार सुरेश चन्दले बताए । उनले जिपको अगाडिको चक्का लेदोमा पुरिएर फसेको हो ।

अहिले जेसीबी मेसिन लगाएर पहिरोमा फसेको जिपलाई निकालिरहेका छन् । निरन्तरको वर्षाका कारण माथिबाट पहिरो खस्ने जोखिम रहेकाले जिपलाई निकाल्न समस्या भइरहेको प्रहरीले जनाएको छ ।

सडकमाथिबाट पहिरो आएपछि महाकाली लोकमार्गअन्तर्गत गोकुलेश्वर–खलंगा सडकखण्ड अवरुद्ध भएको छ । वर्षाको कारण मालिकार्जुन–३ तेर्छालेकमा सडक माथिबाट पहिरो खस्दा उक्त सडक खण्ड अवरुद्ध भएको हो ।