08/22/2025, 17:35:22

लिपुलेक व्यापार सम्झौताको समस्या सरकारले कुटनीतिक पहलबाट समाधान गरोस् : सांसद खतिवडा


काठमाडौँ, भदौ ६ : नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रमा चीन र भारतबीच भएको व्यापार सम्झौताप्रति गम्भीर ध्यानाकर्षण गराउँदै सरकारलाई तत्काल कूटनीतिक पहल गर्न आग्रह गरे ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उहाँले प्रधानमन्त्रीको आसन्न चीन–भारत भ्रमणका अवसरमा विषयलाई उच्चस्तरमा उठाउनुपर्नेमा जोड दिए ।

उहाँले भन्नुभयो, ‘लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रमा चीन र भारतले गरेको व्यापार सम्झौताको समस्या छिटोभन्दा छिटो समाधान गर्न सरकार अघि बढोस् । प्रधानमन्त्री केही दिनमा चीन र भारत जाँदै हुनुहुन्छ, त्यही बेला दुवै सरकारका प्रमुखसँग हाम्रो अडान स्पष्ट राख्नुपर्छ । यस संवेदनशील मुद्दामा सबै दल, जात वा समूहभन्दा माथि उठी राष्ट्रिय स्वाभिमान र एकताको पक्षमा उभिनुपर्छ ।

उहाँले तिब्बती क्षेत्रमा हिमताल फुटेर आएको बाढीप्रति चिन्ता व्यक्त गर्दै त्यसबारे दुई देशबीच आपसी सहकार्य आवश्यक रहेको पनि बताउनुभयो ।