08/22/2025, 21:12:02

एमालेले कसैको सदस्यता खोसेको छैन : एमाले अध्यक्ष ओली


काठमाडौँ, भदौ ६ :  नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आमजनता पार्टी (आजपा)का वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहसहित विभिन्न नेता कार्यकर्तालाई आज पार्टी प्रवेश गराउनुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय, ललितपुरको च्यासलमा आयोजित कार्यक्रममा उहाँले एमालेका पूर्वकेन्द्रीय सदस्यसमेत रहनुभएका साहसहितका नेता तथा कार्यकर्तालाई एमाले पार्टीमा प्रवेश गराउनुभएको हो ।

यस्तै, आजपाका स्थायी कमिटी सदस्य मनोजकुमार यादव, फतुवा विजयपुर नगरपालिकाका पूर्वउपप्रमुख कान्तिदेवी महतो, माधवनारायण नगरपालिकाका पूर्वउपप्रमुख सिमलकुमारी साहसहित रौतहट र धनुषाका अन्य नेताहरु एमालेमा प्रवेश गर्नुभयो ।

अध्यक्ष ओलीले नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गर्दै गलत बाटो देखाउनेको बहकावमा लागेर केही समय अलमलमा परे पनि अब सही घरमा आउनुभएकामा धन्यवाद दिनुभयो ।

हामी शान्ति, मानवता, विकास र सुख चाहन्छौँ । अपराध सोचेर बस्नेहरूको जञ्जालबाट तपार्इंहरु मुक्त हुनुभएको छ । अध्यक्ष ओलीले भन्नुभयो, “एमालेको ठूलो परिवार भएर काम गरौँ । मिलेर देश बनाउँ । गलत काम नगरौँ ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता कायम हुनु नहुनेबारे एमाले केन्द्रीय कमिटीको निर्णयका सम्बन्धमा स्पष्ट हुन आग्रह गर्दै अध्यक्ष ओलीले भन्नुभयो, “अहिले पूर्व राष्ट्रपतिको सदस्यता खोसिएको भन्ने आरोपका कुरा आएका छन् । खासमा राष्ट्रपति भएपछि उहाँले पार्टी सदस्यता त्याग्नुभएको हो । कर्मचारीलाई झुक्याएर हुँदै नभएको सदस्यता रसिद काट्दैमा कायम हुँदैन । उहाँले बाहिरबाहिर बोल्नुभएको छ ।

पार्टीमा आएर सदस्यता नवीकरण र नयाँ सदस्यताका लागि निवेदन दिनुभएको पनि छैन । पार्टीमा असन्तुष्ट र एकाध जनसङ्गठनमा हारेकाहरुलाई जम्मा गरेर उहाँले पार्टी एकतामा यसरी असहयोग गर्नुहोला भन्ने हामीले कल्पना पनि गरेका थिएनौँ ।

कार्यक्रममा नेता उपेन्द्र साहले प्रभु साह नेतृत्वको आजपाले जनताका लागि काम गर्छ भन्नु भ्रम रहेकोे भन्दै देश र जनताका पक्षमा काम गर्ने पार्टी एमाले नै हो भन्ने विश्वाससहित आजपाका नेता तथा कार्यकर्तासहित एमाले पार्टी प्रवेश गरेको बताउनुभयो ।