08/22/2025, 13:57:55

बसाइँसराइले रित्तिदै म्याग्दीका गाउँ


म्याग्दी, भदौ ६ गते । जिल्लाबाट वार्षिक दुई सय ५० परिवारका दरले अन्यत्र बसाइँसराइ गरेर जाने गरेका छन् ।

स्थानीय तहका पञ्जीकरण शाखाको अभिलेखअनुसार जिल्लाभरका पालिकामा बसाइँसराइ गरेर आउने परिवारको सङ्ख्या भने वार्षिक एक सयको हाराहारीमा छ । बढ्दो बसाइँसराइका कारण ग्रामीण क्षेत्रको सामाजिक, सांस्कृतिक, विकास गतिविधिमा असर पर्नुका साथै विद्यालयमा विद्यार्थी अभाव हुन थालेको छ ।

आर्थिक वर्ष २०८१/८२ मा म्याग्दीका स्थानीय तहमा ८९ परिवार बसाइँसराइ गरेर आउँदा दुई सय ४७ परिवारले थातथलो छाडेर अन्यत्र गएका छन् । आव २०८०/८१ मा दुई सय ५२ परिवार बसाइसराइ गरेर जाँदा आउने परिवारको सङ्ख्या एक सय भएको स्थानीय तहको पञ्जीकरण शाखाको अभिलेखमा उल्लेख छ ।

गत वर्ष बसाइँसराइ गरेर आउनेहरूको परिवार सङ्ख्या बेनी नगरपालिकामा ४५, धवलागिरिमा तीन, मालिकामा आठ, मङ्गलामा १९, रघुगङ्गामा चार र अन्नपूर्णमा १० छ । बेनीबाट ६५, धवलागिरिबाट २३, मालिकाबाट ३९, मङ्गलाबाट ५५, रघुगङ्गाबाट २१ र अन्नपूर्णबाट ४४ परिवारले बसाइँसराइ गरेर अन्यत्र गएका छन् ।

म्याग्दी बहुमुखी क्याम्पस समाजशास्त्र विषयका प्राध्यापक गोरखबहादुर जिसीले गण्डकी प्रदेशको म्याग्दी, स्याङ्जा र पर्वत जिल्लाको बसाइँसराइ उल्टो रहेको बताउनुभयो । “गाउगाउँमा पुगेको सडक, विद्युत्, खानेपानी, सञ्चार सुविधाले मानिसलाई रोक्न सकेको छैन”, उहाँले भन्नुभयो, “रोजगारी र आयआर्जन अवसरको खोजीमा गाउँबाट सहर र सुविधा भएको ठाउँमा मानिस बसाइँसराइ गर्ने क्रम बढेको हो ।

विसं २०७८ मा भएको जनगणनाको नतिजाअनुसार म्याग्दीको २५ हजार ३७४ घरमा २९ हजार २४२ परिवारका एक लाख सात हजार ३७२ जनसङ्ख्याको बसोबास छ । विसं २०६८ मा म्याग्दीको कुल जनसङ्ख्या एक लाख १३ हजार ६४१ जना थियो । विशेषगरेर ग्रामीण क्षेत्रमा युवा उमेर समूहका उत्पादनशील जनशक्ति नहुँदा विवाहमा जन्ती, मृत्युमा मलामी जानेहरू प्रौढ र वृद्धहरू बढी देखिन थालेका धवलागिरि गाउँपालिका–४ का चित्र पुनले बताउनुभयो । “खेतीबाली लगाउन अर्मपर्म गर्ने चलन हरायो”, उहाँले भन्नुभयो, “खेतीयोग्य जमिन बाँझिएको छ । आयातित खाद्यान्नमा निर्भरता बढेको छ ।

जन्मदर कम भएको र गाउँमा भएकाले पनि आर्थिक हैसियत बढेपछि छोराछोरी पढाउन बजार झर्ने क्रमसँगै विद्यार्थी सङ्ख्या घटेको अन्नपूर्ण गाउँपालिका–७ को टिकोट माविका प्रअ प्रदीप पुनले बताउनुभयो । कक्षा १० सम्म पठनपाठन हुने उक्त विद्यालयमा करिब ५० जनामात्र विद्यार्थी छन् ।

म्याग्दीबाट कास्कीको पोखरा, हेम्जा, काठमाडाँै, चितवन, बुटवल र तनहुँमा बसाइँसराइ गरेर जाने गरेका छन् । सम्पन्नहरूले बजारमा घरघडेरी किनेर झरेका छन्भने विपन्नहरू काम र मामका लागि बजार झर्ने क्रम देखिएको प्राध्यापक जिसीले बताउनुभयो । “शिक्षालाई उत्पादन र रोजगारीमा नजोड्ने हो भने म्याग्दीको जनसङ्ख्या घट्ने र बसाइँसराइ बढ्ने दर अझै बढ्दै जानेछ”, उहाँले भन्नुभयो, “विकासलाई रोजगारी र सम्भावनालाई आयआर्जनसँग जोड्न आवश्यक छ ।

बेनी नगरपालिकाका प्रमुख सुरत केसीले विकास गाउँतिर केन्द्रित भएको समयमा त्यसको उपभोग गर्ने जनसङ्ख्या भने सहरबजार झर्ने र विदेशिने अवस्था चुनौती रहेको बताउनुभयो । विकास आयोजनामार्फत रोजगारी सृजना, कृषि र पर्यटनमा जोड दिएको उहाँले बताउनुभयो ।