फ्रान्कफर्ट, जर्मनी, भदौ ६ : जर्मनीको अर्थतन्त्र सन् २०२५ को दोस्रो त्रैमासिकमा अनुमानभन्दा पनि धेरै घटेको सरकारी तथ्याङ्कमा देखिएको छ, जसले युरोपको सबैभन्दा ठूलो अर्थतन्त्रको लागि थप चिन्ताजनक संकेत दिएको छ ।
जर्मन संघीय तथ्याङ्क संस्था डेस्टाटिसका अनुसार, अप्रिलदेखि जुन महिनाको अवधिमा देशको कूल गार्हस्थ उत्पादन (जीडीपी) ०.३ प्रतिशतले घटेको छ । यसअघि जुलाईमा ०.१ प्रतिशत गिरावट भएको प्रारम्भिक अनुमान गरिएको थियो । उपभोग (खपत), निर्माण र उत्पादन क्षेत्रको प्रदर्शन पनि अनुमानभन्दा कमजोर रह्यो भने वस्तु निर्यातमा ०.६ प्रतिशत र मेसिन तथा उपकरणमा लगानी १.९ प्रतिशतले गिरावट आएको देखियो ।
अगस्टको सुरुमा सार्वजनिक गरिएको अर्को तथ्याङ्कमा जून महिनामा औद्योगिक उत्पादन महामारीपछिको सबैभन्दा तल्लो स्तरमा पुगेको थियो । आईएनजी बैंकका विश्लेषक कास्र्टेन ब्रजेस्कीका अनुसार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा लगाइएको भन्सार कर र अमेरिकी डलरको तुलनामा युरोको दर वृद्धि जस्ता कारणले निर्यातमा निर्भर जर्मनीको अर्थतन्त्रलाई चाँडै सुधार हुनु कठिन देखिन्छ ।
उहाँले भन्नुभयो, “जर्मनीको अर्थतन्त्र लामो समयदेखि स्थिरताको बानीमा परिसकेको छ र सन् २०२६ अघि उल्लेखनीय सुधार हुने सम्भावना कमजोर देखिन्छ ।” पछिल्ला वर्षमा जर्मनी उच्च उत्पादन लागत, ऊर्जा मूल्य वृद्धि र चीनसँगको तीव्र प्रतिस्पर्धाका कारण समस्यामा परेको छ । डेस्टाटिसका अनुसार, सन् २०२३ मा जर्मनीको जीडीपी ०.९ प्रतिशतले घटेको थियो भने २०२४ मा ०.५ प्रतिशतको गिरावट आएको थियो ।