बागलुङ (गलकोट), भदौ ६ : बागलुङको गलकोट नगरपालिका–५ जोइकुटीस्थित भित्रि सडकमा विद्यार्थी सवार भ्यान दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।
शुक्रबार बिहान करिब ७ः४५ बजे हरिचौरबाट हटियातर्फ जाँदै गरेको गलकोट बहुमुखी क्याम्पसको विद्यार्थी सवार भ्यान सडकदेखि सात मिटर तल खस्दा सात घाइते भएका हुन् ।
घाइते हुनेमा चालक २५ वर्षीय मोहन सिंह सुनार, १८ वर्षीया सुस्मीता विक, १८ वर्षीया प्रमिला विक, १८ वर्षीय जिवन खत्रि, १८ वर्षीया मुना गौतम, १९ वर्षीया अनिता क्षेत्री र १८ वर्षीया सुनिता सापकोटा हुनुहुन्छ ।
घाइते सबै विद्यार्थीलाई उपचारका लागि गलकोट नगर अस्पताल बागलुङ पठाइएको र अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय गलकोट बागलुङले जनाएको छ । प्रहरी सहायक निरीक्षक मन बहादुर कार्कीको कमाण्डमा पाँच जनाको प्रहरी टोली घटना स्थलमा खटिएका छन् ।